काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि धेरै कलाकार हतोत्साही भए । कारण, उनीहरूका निम्ति टिकटक मनोरञ्जनको माध्यम मात्र थिएन, आर्थिक उपार्जनको स्रोत पनि थियो ।
त्यसो भए टिकटक बन्द भएसँगै कलाकारलाई आम्दानीका निम्ति अरू डिजिटल प्लेटफर्म छैनन् ? “छन्, थुप्रै छन् । हाम्रो अध्यनन र डेडिकेसन मात्रै नभएको हो । कुन कुन डिजिटल प्लेटफर्मबाट कति आम्दानी गर्न सकिन्छ भनेर खोज्ने र त्यसमा लाग्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ,” डिजिटल कन्टेन म्यानेजर राजेन्द्र अर्याल भन्छन्, “हामीमा सम्भावनाको खोजी गर्ने बानी र लगावको कमी मात्रै हो ।”
पछिल्लो १६ महिनामा एक सय कलाकारले युट्युबबाहेक वैकल्पिक डिजिटल प्लेटफर्मबाट तीन करोड रुपैयाँ कमाइ गरेको राजेन्द्रको भनाइ छ । वैकल्पिक प्लेटफर्मबाट वार्षिक औसत दुई करोड रुपैयाँ नेपाली कलाकारले नेपाल भित्र्याइरहेको उनी बताउँछन् । वैकल्पिक प्लेटफर्मबाट भित्रिरहेको यो रकम व्यक्तिविशेषको मात्र हो । कम्पनीहरूले गरिरहेको आम्दानी छुट्टै छ ।
यसरी आउने रकम कानुनी प्रावधानानुसार नै बैंकमा डिपोजिट हुने राजेन्द्र बताउँछन् । यस्तो रकममा सरकारले पाँच प्रतिशत कर काट्छ ।
“युट्युब र टिकटकबाहेक दुई सयभन्दा धेरै वैकल्पिक डिजिटल प्लेटफर्म छन्, जहाँ आफ्ना गीतबाट रेभिन्यु जेनेरेट गर्न सकिन्छ,” राजेन्द्र भन्छन्, “यसमा पनि २२ वटा मुख्य वैकल्पिक प्लेटफर्म छन् ।”
युट्युब र टिकटकबाहेक स्पोटीफाई, एप्पल म्युजिक, आई–ट्युन्स, बुमप्ले म्युजिक, अमेजन अनलिमिटेड, नेटएज, अमेजन क्लाउड, इन्स्टाग्राम, पानडोरा, केकेबक्स आदिले गीतसंगीत प्रयोग गरेबापत राम्रै रोयल्टी दिँदै आएका छन् ।
टिकटकमा प्रयोग गर्ने भिडियो सामग्री युट्युब र फेसबुक पेजमा पोस्ट गरेर आकर्षक रोयल्टी प्राप्त गर्न सकिने राजेन्द्र बताउँछन् । युट्युब र फेसबुकमा भिडियो लोकप्रिय भए एड रेभिन्युले राम्रो रोयल्टी दिने उनको भनाइ छ ।
“जुनसुकै कम्पनीको इको सिस्टम हुनुपर्छ । कसैले पैसा त्यो कम्पनीलाई दिएपछि त्यसले सर्जकलाई रेभिन्यु दिने हो । टिकटकमा आफ्नै मोनिटाइजेसन पहिला थिएन, केही देशमा टिकटकले यो सुविधा दिन थालेको छ,” डिजिटल कन्टेन म्यानेजर राजेन्द्र भन्छन्, “तर, टिकटकमा विज्ञापन दिन फेसबुक र युट्युबमा जस्तो सजिलो छैन । त्यसैले विज्ञापन र रेभिन्यु कम हुन्छ । त्यसैले युट्युब र फेसबुक नै बढी फाइदाजनक छन् ।” फेसबुकबाट रोयल्टी लिन आफ्नो प्रोफाइललाई प्रोफेसनलमा कन्भर्ट गर्नुपर्छ ।
फेसबुक रिल्स र युट्युब सर्ट्समा भिडियो कन्टेन राख्न नेपाली कलाकार तथा युट्युब च्यानल र पेजहरूले ढिलो गरिसकेका उनको टिप्पणी छ । युट्युबका सब्सक्राइबर र फेसबुकका फलोअर्सले अन्य प्लेटफर्मका सिर्जनाको प्रचार र रोयल्टीमा सहयोग गर्ने उनी बताउँछन् । युट्युबमा सुपरच्याट र फेसबुकमा स्टारबाट गिफ्ट पाउन सकिन्छ ।
“डिजिटल प्लेटफर्ममा सिर्जना राखिसकेका कन्टेनलाई फेसबुक, इन्स्टाग्राम तथा अन्य अडियो प्लेटफर्मममा राखेर त्यहाँबाट पनि राम्रो रेभिन्यु लिन सकिन्छ,” राजेन्द्र भन्छन्, “त्यसैले टिकटक बन्द भयो भनेर चिन्ता गर्नु पर्दैन, रेभिन्यु दिने थुप्रै स्ट्रिमिङ प्लेटफर्महरू छन् ।”
रेभिन्यु दिने केही डिजिटल प्लेटफर्महरू :
नेपालमा आफूसँग भएको ज्ञान र सूचना अरूलाई सेयर नगर्ने प्रवृत्ति रहेको उनी बताउँछन् । “धेरैलाई युट्युब र टिकटकबाहेक अन्य स्ट्रिमिङ साइटबाट पनि रेभिन्यु आउँछ भन्ने नै थाहा छैन,” डिजिटल कन्टेन म्यानेजर राजेन्द्र भन्छन्, “तर, यसबारे जानकारी भएका र रेभिन्यु लिइरहेका कलाकार तथा व्यक्तिले पनि अरूलाई आफूलाई यसबारे जानकारी नभएको बताउने गरेको पाइन्छ । अरूलाई हतोत्साही बनाउने काम गरेको देखिन्छ ।” यो प्रवृत्ति समस्याकै रूपमा रहेको राजेन्द्रको अनुभव छ ।
म्युजिक भिडियो निर्देशक शान थापा कलाकारले आफ्नो डिजिटल प्लेटफर्म आफैँ नचलाउनु नै मुख्य समस्या भएको बताउँछन् । सर्जक तथा स्रस्टाले युट्युब र फेसबुक समेत अरूलाई चलाउन दिने गरेको उनी सुनाउँछन् ।
“डिजिटल प्लेटफर्म आफैँ नचलाउने गायकगायिका थुप्रै हुनुहुन्छ । आफ्नो डिजिटल प्लेटफर्मको आईडी समेत थाहा नहुने थुप्रै हुनुहुन्छ,” शान भन्छन्, “कतिपयलाई सयौँको संख्यामा डिजिटल प्लेटफर्म तथा स्ट्रिमिङ साइट छन् र त्यहाँबाट राम्रो रेभिन्यु आउँछ भन्नेमा मतलब पनि छैन ।”
कतिपय कलाकारले अरूलाई आफ्नो आईडी चलाउन दिने र उनीहरूलाई कुन प्लेटफर्मबाट कति रेभिन्यु आउँछ भन्ने जानकारी समेत नहुने उनी बताउँछन् । “तर, जसलाई यसबारे थाहा छ र यस्ता प्लेटफर्मममा आफ्नो गीतसंगीत पुर्याइरहनुभएको छ, उहाँहरूले राम्रो रोयल्टी पनि पाइरहनुभएको छ ।”
डिजिटल प्लेटफर्मका वितरकलाई सबै जिम्मा दिने तर कहाँबाट कति रेभिन्यु आउँछ भन्ने चासो नराख्ने कलाकारको संख्या ठूलो रहेको शान सुनाउँछन् । त्यस्ता कलाकारलाई कहाँबाट कति आउँछ, कुन स्ट्रिमिङ साइटबाट कति रेभिन्यु आयो भन्ने थाहै नहुने गरेको शानको भनाइ छ ।
“कुनबाट कति समयमा कहाँबाट कति रेभिन्यु आयो भन्ने पनि थाहा नहुनेहरूको गीतसंगीतबाट कति रेभिन्यु आयो, कति ट्याक्स काटिन्छ, मेरो हातमा कति आउनुपर्ने हो त्यो पनि थाहा हुँदैन,” शान अगाडि थप्छन्, “यसरी व्यक्ति स्वयंले बेवास्ता गरेर वितरकले जति दियो त्यति हात थाप्ने गरेपछि वितरकले पनि त्यहीअनुसारको हिसाब देखाइदिन्छन् ।”
कुन डिजिटल प्लेटफर्मबाट कति रेभिन्यु आउँछ ?
रोयल्टीलाई लिएर नेपाली सर्जक तथा स्रष्टा अझै पनि सचेत नरहेको उनको भनाइ छ । आफ्नो सिर्जना अरूले प्रयोग गरेबापत पाउने रोयल्टीमा स्वयं सर्जकस्रष्टा नै बेखर हुनु दुःखद पक्ष भएको शान बताउँछन् ।
“सुरुसुरुमा वितरकबाट एकदुईपटक रोयल्टी लिने तर त्यो रकम न्यून भएपछि त्यत्तिकै छोड्दिने चलन छ,” उनी भन्छन्, “कसरी रोयल्टी बढाउने, धेरैभन्दा धेरै प्लेटफर्मममा पुग्ने ? त्यसतर्फ सोच्नुपर्नेमा उल्टै त्यतातर्फको बाटो नै टुंग्याउन खोज्नु गलत हो ।”
नेपाली म्युजिक एग्रिगेटरले नेपाली गायकगायिकाका गीतसंगीत विश्वका तीन सयभन्दा धेरै डिजिटल प्लेटफर्मममा बिक्री गरिरहेको आरोप रोयल्टीका अभियन्ताले लगाउँदै आएका छन् । सर्जकसँग अनुमति नलिई विश्वभरका डिजिटल प्लेटफर्मममा बेचेर त्यसको रोयल्टी आफैँ उपभोग गरिरहेको रोयल्टी अभियन्ताको दाबी छ । यो समस्या समाधानका निम्ति रोयल्टी अभियन्ता समेत रहेका संगीतकार लक्ष्मण शेषलगायत केही संगीतकर्मी लामो समयदेखि लागिरहेका छन् । समस्याको किनारा भने लागिसकेको छैन ।
टिकटकमा प्रतिबन्ध हुँदा सांगीतिक क्षेत्रमा कस्तो असर पर्यो ?
डिजिटल डाटा एग्रिगेटरले लुकाउने गरेको लक्ष्मणको आरोप छ । “सबै कलाकार सबै विकसित प्रविधिमा जानकार हुन्छन् भन्ने छैन । प्रविधिमा जानकार हुनु राम्रो हो, तर जो यसबारे जानकार छैन उसलाई सही डाटा दिनु एग्रिगेटरहरूको दायित्व हो,” लक्ष्मण भन्छन्, “स्रष्टा तथा सर्जकको काम सिर्जना गर्नु हो, वितरकको काम वितरण गर्ने हो । वितरकले सही तथ्यांक दिएर उठेको रोयल्टी दिनुपर्छ ।”
विश्वभरका डिजिटल प्लेटफर्ममा नेपाली गीतसंगीत सर्जकलाई थाहै नदिई बिक्री भइरहेको प्रमाणित तथ्य रहेको उनी बताउँछन् । उनी अगाडि थप्छन्, “यसविरुद्ध अझै कहीँ मुद्दा अदालतमा जान्छन् ।”