site stats
बाह्रखरी :: Baahrakhari
कला
टिकटकमा प्रतिबन्ध हुँदा सांगीतिक क्षेत्रमा कस्तो असर पर्‍यो ?

काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्धले सांगीतिक उद्योगमा कस्तो प्रभाव परेको छ ? टिकटक बन्द भएसँगै ढिलो ‘नोटिस’ हुने गीत र म्युजिक भिडियो मेकिङमै प्रभाव परेको कलाकारहरूको भनाइ छ । हल्ला भएजस्तो नकारात्मक प्रभाव भने नपरेको डिजिटल कन्टेन्ट म्यानेजरहरूको दाबी छ ।

गायक प्रकाश सपूत विशेष गरी ‘स्लो प्याटन’का गीत टिकटक बन्दसँगै मारमा परेको बताउँछन् । टिकटकबाट ढिलो नोटिस हुने गीत चल्ने गरेको प्रकाशको अनुभव छ ।

“ढिलोढिलो जाने गीतलाई टिकटकले सहयोग गरेको थियो । कतिपय पुराना गीत पनि टिकटक आएसँगै पुनः हिट पनि भएका थिए,” प्रकाश भन्छन्, “टिकटकले स्रोताको दायरा फराकिलो बनाएको थियो । कुनै गीतको लाइन मन पर्‍यो भने त्यहीँबाट गीत स्रोता तथा दर्शकमाझ गीत लोकप्रिय हुन्थ्यो ।”

Argakhachi Cement Island Ad

रिलिज गर्नेबित्तिकै चल्ने प्रकृतिका गीतलाई भने टिकटकमाथिको प्रतिबन्धले खासै असर नगर्ने उनको भनाइ छ ।

व्यापारिक हिसाबले पनि अहिले असर गरेको प्रकाश बताउँछन् । “व्यापारिक हिसाबले पनि नकारात्मक प्रभाव परेको छ । टिकटकमा धेरै भिडियो बनेको गीतबाट राम्रै रोयल्टी पनि आउँथ्यो,” प्रकाश अगाडि थप्छन्, “कुनै गीतको लाइन हिट भयो भने त्यसमा धेरै टिकटक बन्थ्यो र त्यस्ता गीतबाट लगानीकर्तालाई आकर्षक रोयल्टी पनि आउँथ्यो ।”

टिकटक प्रतिबन्धसँगै त्यसबाट ‘जेनरेट’ हुने रोयल्टी नआउने भएपछि म्युजिक भिडियो मेकिङमा पनि असर परेको उनी सुनाउँछन् । “सामाजिक रूपमा टिकटक बन्द हुनुपर्थ्यो कि पर्दैन थियो, त्यसको प्रभाव के थियो भन्ने विषयमा मेरो भिन्नै धारणा छ,” उनी भन्छन्, “तर, सांगीतिक क्षेत्रमा भने टिकटक प्रतिबन्धले ठूलो असर गरेको छ ।”

गायिका समीक्षा अधिकारी गीत रिलिज गरिएको जानकारी धेरैले टिकटकबाट थाहा पाउने गरेको स्मरण गर्छिन् । टिकटकमाथिको प्रतिबन्धसँगै त्यो सुविधा नरहेको उनको टिप्पणी छ ।

“हुन त अहिले मेरा धेरै गीत रिलिज भएका छैनन्, त्यसैले यसमा धेरै अनुभव गर्न पाएको छैन । तर, पक्कै पनि असर त गर्छ,” समीक्षा भन्छिन्, “एकदुई लाइन राम्रो लाग्यो भने त्यहीँबाट गीत हिट हुन्थ्यो । धेरै त्यहीँबाट गीतको लिंकसम्म पुग्नुहुन्थ्यो ।”

टिकटकमार्फत पुराना गीतको प्रतिक्रिया पाउने गरेको भन्दै उनी त्यो खड्किने बताउँछिन् । यद्यपि, फेसबुक रिलले टिकटकको काम गर्न सक्ने उनको विश्वास छ । “फेसबुक रिलमा टिकटकजस्तो भिडियो बन्ला भन्ने हो,” समीक्षा भन्छिन्, “केही समय लाग्ला युज टु हुन, तर टिकटकजस्तै रिलले पनि काम गर्ला ।” 

कसरी आउँछ टिकटकबाट रोयल्टी ?
टिकटकमा ओर्जिनल साउन्ड भनेर एक मिनेटको अडियो अपलोड भएको हुन्छ । त्यो साउन्ड जोसुकै व्यक्तिले जुनसुकै देशमा प्रयोेग गरेर भिडियो बनाए पनि त्यसलाई डिक्टेट गरेर टिकटकले रेभिन्यु दिन्छ ।

“कतिवटा टिकटक साउन्ड बन्यो त्यसका आधारमा स्वतः रेभिन्यु जेनरेट हुने हो,” डिजिटल कन्टेन म्यानेजर राजेन्द्र अर्याल भन्छन् ।

यसरी एक हजार टिकटक बनाइए एक डलर हाराहारीमा रेभिन्यु आउँछ । “पाँच लाख टिकटक बन्यो भने ५०० डलर आउँछ । यो रेभिन्यु भने अहिले बन्द भयो । तर, नेपालमा मात्रै बन्द भएकाले अरू देशमा कसैले नेपाली गीतको साउन्डमा टिकटक बनाए भने त्यसको रेभिन्यु भने आउँछ,” उनी भन्छन् ।

टिकटकको रेभिन्यु रिपोर्ट तीन/तीन महिनामा मात्र सार्वजनिक गरिन्छ । त्यसैले टिकटकमाथिको प्रतिबन्धका कारण नेपालका गायकगायिकालाई कति असर गर्‍यो त्यसको यकिन विवरण थाहा हुन बाँकी रहेको राजेन्द्र बताउँछन् । तीन महिनाको तथ्यांक सार्वजनिकपछि सांगीतिक क्षेत्रमा यसको आर्थिक प्रभाव कति पर्‍यो भन्ने जानकारी हुनेछ । 

टिकटकमा गीतको क्लिप्स मन परे त्यहाँबाट युट्युब लिंकमा जाने स्रोतादर्शक पनि हुन्थे । यसको ठूलो प्रभाव भने आफूले महसुस नगरेको राजेन्द्र बताउँछन् ।

“युट्युबमा धेरै दर्शक पछिल्लो समय टिकटकबाट जान्छन् भन्ने आमबुझाइ थियो । तर, यथार्थमा त्यस्तो देखिएको छैन,” राजेन्द्र भन्छन्, “भ्युजमा कमी आएको छैन । मैले करिब ७०० गायकगायिकाको युट्युब च्यानलको भ्युज अध्ययन गर्दा टिकटकमा प्रतिबन्ध लाग्नुभन्दा पछि धेरै गएको पाएको छु । अहिले दर्शक सिधै युट्यबुमा जाने गरेको पाएको छु ।”

टिकटकमार्फत गीतको निःशुल्क हुने प्रचार भने बन्द भएको छ । “निःशुल्क हुने प्रचार भने बन्द भएको छ । गीत रिलिज भएपछि त्यसको प्रचारमा खर्च गर्नै पर्दैन थियो, त्यो भने बन्द भएको छ,” राजेन्द्र भन्छन्, “फ्रीमा पचार पनि हुन्थ्यो । प्रचार भइरहँदा त्यहीँबाट पैसा पनि आउँथ्यो, यो अवसरको अभाव भने महसुस हुनेछ ।” 

टिकटकमाथिको प्रतिबन्धले कलाकारलाई फाइदा कि बेफाइदा ?
७०० भन्दा धेरै गायकगायिकाको युट्युब ‘म्यानेजमेन्ट’ गरिरहेका राजेन्द्र टिकटकमाथिको प्रतिबन्धप्रति कलाकार खासै धेरै चिन्तित नरहेको आफूले पाएको बताउँछन् । गीतसंगीत रुचाउने स्रोतादर्शक सिधै ओर्जिनल लिंकमा जानेमा कलाकार विश्वस्त रहेको उनको भनाइ छ ।

“टिकटकमा गीत मात्रै हुँदैन थियो । त्यहाँ इन्टरटेनका लागि अरू पनि थुप्रै कुरा हुन्थे । दर्शकस्रोता त्यसमै भुल्थे,” राजेन्द्र भन्छन्, “त्यसैले अब इन्टरटेनका लागि दर्शकस्रोता सिधै युट्युबमा आउँछन् भन्ने विश्वास कलाकारमा छ ।”

टिकटकको प्रयोगसँगै त्यसका ‘स्टार’हरू पनि थिए । सामान्य भिडियो बनाएर उनीहरूले लोभलाग्दो फ्यान फलोइङ बनाएका थिए ।

“दशकौँ संघर्ष गरेर स्टार बनेका कलाकार टिकटक स्टारको छायामा परेका थिए । दशकौँ संघर्ष गरेका कलाकारले भन्दा टिकटक स्टारले अवसर पाएका थिए,” एक कलाकार भन्छन्, “टिकटकमा भाइरल भएर स्टारडमको महसुस गर्नेहरू पनि थिए । मिहिनेत गर्नेको कदर नहुने तर भाइरलको पछाडि दौडिने अवस्था टिकटकमा प्रतिबन्धले अन्त्य हुन्छ कि !”

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्