
काठमाडौं । ताजपुरिया समुदायका अगुवाहरुले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्वर्द्धनका लागि राज्यका तर्फबाट पहल गर्नुपर्ने माग गरेका छन् ।
संविधानको भावना र मर्मअनुसार आदिवासी जनजातिको कला, संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्नुपर्ने भन्दै उनीहरुले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
ताजपुरिया समाज कल्याण परिषद्को २८औं स्थापना दिवसका अवसरमा मोरङको रंगेली नगरपालिका–८ दर्बेशा बजारमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष पुर्णलाल ताजपुरियाले समुदायको परम्परागत संस्कृति जोगाउनुपर्ने बताए ।
ताजपुरिया समुदायको संस्कृति जोगाउन स्थापना दिवसले महत्वपुर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
परिषद्का पूूर्व अध्यक्ष एवम् आदिवासी जनजाति महासंघका पूर्व महासचिव नित्यानन्द ताजपुुरियाले नटुवा, हुदुरधुरा, ढोलसोना लगायत सांस्कृतिक नाचहरु पछिल्लो समय लोप हुने अवस्थामा पुगेको बताए । कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य ऋषिकेश पोखरेलले ताजपुरिया जातिलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्न संसदमा माग गर्ने प्रतिवद्धता जनाए ।