
(दुई साताअघि भारतीय फिल्मजगत्का गीतकार समीर अञ्जान काठमाडौंमा थिए । वनारसमा पढेबढेका उनी त्यहाँ रहँदा शीतला पाण्डेका नामबाट काव्य सिर्जना गर्थे । साथीहरूले कविता लेखनमा शीतला सुहाएन भनेपछि समीरका नामबाट कविता र गीत लेख्न थाले । बलिउड प्रवेशपछि समीरको गीत लेखनले गति लियो । करिब ६५० फिल्ममा उनका चार हजारभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । उनै गीतकार समीरसँग काठमाडौंमा भेट हुँदा साहित्य र गीतमाथि अनेक चर्चा गरियो । प्रस्तुत छ, समीरसँग गरिएको कुराकानीको सम्पादित अंश ।)
गीतलाई के भन्नुहुन्छ, साहित्य या अरू केही ?
यो बडो विवादको विषय रहेको छ । आज पनि यस विषयमा विवाद हुँदै आएको छ । मैले धेरैपटक विभिन्न मञ्चहरूमा भन्दै आएको छु– आखिर किन साहित्य र फिल्मी गीतलाई अलग ठान्छन् मानिस ! गीत गीत नै हो, चाहे त्यो फिल्ममा होस्, लोकलयमा होस् अथवा किताबमा छापियोस् । गीत हरिवंश राय बच्चनले लेखून्, नीरजले लेखून्, प्रभा ठाकुरले लेखून् या समीर, साहिर वा अञ्जानले लेखून् । त्यसैले गीत साहित्य नै हो ।
मैले बुझ्न सकेको छैन, यो अलग किन छ ? यदि, गुलजारको गीतले ओस्कर अवार्ड पाउँछ भने फिल्मी गीतलाई ‘सेड्युलकास्ट’ किन सम्झिने ? के फिल्मी गीतमा साहित्य देखिँदैन र ? यदि, तपाईं गीतलाई साहित्य मान्नु हुन्न भने फिल्मी गीतलाई कतै न कतै तल्लोस्तरको गीतका रूपमा मूल्यांकन गर्दै हुनुहुन्छ । देखिएको त्यही हो । मानिस भन्छन्– सबैभन्दा ठूलो फैसला जनताको हुन्छ । पाठक र स्रोताको हुन्छ । यदि, जनताले त्यही गीत मन पराइरहेका छन्, जुन गीत जनताको ओठमा झुन्डिएको छ, त्यसलाई साहित्य किन नभन्ने !
यदि, पाठकले साहित्य बुझ्दैनन्, साहित्य लेख्नेले नै पनि बुझ्दैनन्, तर त्यसलाई साहित्य भनिन्छ भने म त्यस्तो साहित्यतिर जानै चाहन्नँ । साहित्य र फिल्मी गीत अलग हुन् भन्ने म मान्दिनँ । यो अनर्गल कुरो हो, जसको कुनै अर्थ छैन । हेर्नुस्, जहाँ छन्द हुन्छ, भाव, शैली, व्याकरण र कविता हुन्छ, त्यो साहित्य नै हो । हो, त्यसलाई भन्ने शैली अलग हुनसक्छ । हरेक लेखकको आफ्नै लेख्यशैली हुन्छ । गीतकार साहिरको आफ्नै शैली थियो, अञ्जानको आफ्नै र मेरो आफ्नै शैली छ । त्यसैले गीत पनि साहित्य हो ।
यस किसिमका विवाद कि आइरहन्छ बारम्बार ?
मैले सधैँ भन्दै आएको छु– साहित्य र फिल्मी गीत अलग होइन भन्ने कुरो । वास्तवमा यो विवादको विषय नै होइन । त्यतिकै विवादमा ल्याइन्छ । मैले फिल्मी गीतका विषयमा केही व्यक्तिसँग सोधेको पनि थिएँ । तर, तिनले गीतको स्तरको कुरो मात्रै उठाए । तर्कपूर्ण जवाफ दिनै सकेनन् । तिनको विचारमा फिल्मी गीतहरूको स्तर खस्केको छ रे ! मैले तिनैलाई सिधै भनेँ— तिम्रा कतिपय कविता पनि मैले स्तरहीन पाएको छु । त्यस बेला उनीहरू केही बोल्न सकेनन् ।
‘सबेरे बाली गाडी से चले जाएंगे, कुछ लेके जाएंगे कुछ दे के जाएंगे...’ यो चर्चित गीतमा पनि जीवनको दर्शन भेटिन्छ । तर, यतातिर तिनको ध्यान जाँदैन । ‘दिल पे मरने वाला मरेगा भिखारी, सच है दुनियाँ बालो के हम हैं अनाडी’ यस्ता दर्शनले भरिएको भाव अभिव्यक्त गर्ने गीत साहित्य होइन र !
एउटा उदाहरण दिन्छु, काव्य समारोहमा विभिन्न कविहरूसहित पाँचजना गीतकारहरू पनि भेला भएका थिए । कवि नीरजजी, सोमजीलगायत त्यो जमघटमा मजरुह सुल्तानपुरी, अञ्जान, आनन्द बख्शी, इन्दिवरजस्ता गीतकारहरू उपस्थित थिए । त्यहीँ नीरजले भनेछन्, ‘कविता साहित्यको यो मञ्चमा नाच्नेगाउने मानिसलाई किन बोलाएको ?’ त्यहाँ मेरा पिताजी अञ्जानले ठाडै भन्नुभएछ, ‘यो त्यही फिल्म उद्योग हो, जहाँ तपाईंले पनि आएर गीत लेख्नुभएको थियो । जब फिल्मी गीत लेख्न सक्नु भएन, त्यो क्षेत्र छोडेर हिँड्नुभयो । तर, त्यही फ्रस्टेसन आज यो मञ्चमा पोख्दै हुनुहुन्छ ।’
मलाई पनि लाग्छ, फिल्मी गीत साहित्य होइन भन्नेजस्ता अनर्गल कुरा गर्नु तिनको फ्रस्टेसन मात्रै होे । त्यस्तै मानिसले यस किसिमका आरोप लगाउने गरेका छन् ।
कविता, गीत, गजल गम्भीर भावका साथ लेखिन्छ, तर त्यसको छायांकन त्यति राम्रो हुँदैन भनिन्छ । त्यसैले पनि कतिपय गीतकारले फिल्मी गीत लेख्न छोडेका हुन् भनिन्छ नि !
हेर्नुस्, कुनै पनि मञ्चमा कवि र गजलकारसँगै तिनका दर्शक पनि हुन्छन् । त्यहाँ तेस्रो मानिस अरू कोही हुँदैन । तर, फिल्मी गीतमा जतिखेर हामीले गीत लेखेर दिन्छौँ, त्यसपछि हामीभन्दा बढी जिम्मेवारी अरूमा निहित रहन्छ । तिनले त्यो जिम्मेवारी सही रूपमा निभाइरहेका छन् कि छैनन्, त्यो हाम्रो बुताको काम होइन । फिल्ममेकर यस मामलामा स्वतन्त्र हुन्छन् । तिनले जस्तो चाहन्छन्, गीतलाई त्यस्तै बनाउँछन् ।
फिल्ममा लेख्ने गीतकारले जहिले पनि कथामा आधारित रहेर पात्रलाई मिल्ने गरी गीत लेखिरहेको हुन्छ । गीतकारले आफ्नो क्षमतानुसार दर्शन र साहित्य पनि त्यसमा भरिरहेको हुन्छ । फिल्ममा एउटा टपोरी (गुन्डा)ले गाउने गीत छ भने त्यसमा उसैको भाषाशैली प्रयुक्त हुनु अस्वाभाविक होइन ।
खासमा फिल्मी गीतको प्रविधिलाई नबुझेर त्यसमाथि आरोप लगाउने चलन हामीकहाँ चलिआएको छ । सत्य यो पनि हो, कतिपय नबुझ्ने गवारहरूले यस किसिमको आरोप लगाउने काम गरिरहेका छन् । विडम्बना, हामीले यस्तै परिस्थितिमा काम गरिरहनुपरेको छ ।
परिस्थिति परिवर्तनको अर्को बाटो केही छ त ?
दुईवटा बाटा छन् भन्ने मलाई लाग्छ । जस्तो कि नीरजले केही गीत लेखे र फिल्मी क्षेत्र छोडेर हिँडे, मैले फिल्मी गीतलाई बुझ्न सकिनँ भनेर । कवि, गजलकार बशीर बद्रले पनि गजल र गीत लेखे । पछि छोडेर हिँडे । तर, बशीरले त्यस किसिमको आरोप कहिल्यै लगाएनन् । बशीरले मसँगै भनेका थिए— तिमीहरू जुन काम गरिरहेका छौ, यो मेरो बुताको विषय होइन । मेरो बुझाइभन्दा बाहिरको कुरा हो । तर पनि तिमीहरू काम गरिरहेकै छौ र कठिन काम गरिरहेका छौ ।
यथार्थमा धुनमा गीत लेख्नु, फिल्मको समग्र कथामा गीत लेख्नु, पात्रलाई केन्द्रमा राखेर गीत लेख्नु आफैँमा जटिल काम हो । स्रोताले पाँच मिनेटको एउटा गीत सुन्छन्, तर त्यसमा हजारभन्दा बढी मानिसको मिहिनेत परिरहेको हुन्छ । त्यसपछि मात्र एउटा गीत दर्शकको माझमा पुग्छ । त्यस्तोमा केही प्राविधिक त्रुटिहरू त हुनसक्छ नै ।
जहाँसम्म छायांकनको कुरा छ, कतिपय गीत यस्ता पनि छन्, जुन त्यति राम्रो लेखिएका छैनन्, तर फिल्मांकन राम्रो भएको छ । कहिलेकाहीँ मुसायरा वा कवि गोष्ठीमा पनि त हुटिङ गर्ने दर्शक भेटिन्छन् नि । सधैँ गम्भीर दर्शक भेटिन्छन् र ! यस्तो चलिरहन्छ । मैले हरेक गीतमा ताली नै पाउनुपर्छ भन्ने त हुँदैन नि ।
भनेपछि नबुझेरै आरोप लगाउँछन् ?
आरोप लगाउनु संसारको सबैभन्दा सजिलो काम हो । तर, सही आरोप अथवा जे आरोप लगाइन्छ, त्यसलाई बुझेर कुरा गर्ने हो भने त्यसको जवाफ दिन नसकिने होइन । हेर्नुस्, हाम्रो रोजीरोटी नै फिल्मी गीत लेख्नु हो । त्यसैले गीत लेख्छौँ । र, कहिलेकाहीँ सम्झौता पनि गर्नुपर्ने हुन्छ । मेरो विचारमा हरेक क्षेत्रमा सम्झौता हुन्छ । यदि,तपाईंले फिल्म निर्माणका बारेमा बुझ्नुहुन्छ भने यस किसिमका आरोप–प्रत्यारोप लगाउने वातावरण नै पैदा हुँदैन ।
तपाईंले कविता लेख्नुभयो कि भएन ?
सुरुआत सबैको कविता लेखनबाटै हुन्छ भन्ने मलाई लाग्छ । प्रारम्भमा कविता नै लेखेँ । वनारसमा हुने कवि गोष्ठीहरूमा गएर मैले कवितावाचन गरेको छु । त्यहाँ कवि साथीहरूको एउटा समूह नै थियो । त्यहीँ कवितावाचनसहित गोष्ठीहरूको सञ्चालन पनि गरेँ । एमकम पास गरिसकेपछि मात्रै म मुम्बई आएँ । अनि, गीत लेख्न थालेँ ।
एउटा कुरो त पक्का के हो भने सुरुदेखि नै मेरो साहित्यसँग लगाव थियो । त्यही लगावले मलाई मेरो बाटो देखायो र म बैंकको जागिर छोडेर मुम्बई यात्रामा निस्किएँ । खासमा मैले सोचेको पनि थिइनँ कि कुनै दिन फिल्ममा गीत लेख्नेछु । म त सेन्ट्रल बैंक अफ इन्डियामा जागिर खाइरहेको थिएँ । मेरा पिताजीको चाहना पनि म फिल्मी क्षेत्रसँग जोडिऊँ भन्ने थिएन ।
तर, भाग्यमा लेखिएको कुरोबाट टाढा भाग्न नसकिने रहेछ । मेरो भाग्यमा लेखिएको रहेछ – मुम्बई जानु, संघर्ष गर्नु र गीत लेख्नु । मैले धेरै दुःख र संघर्ष गरेँ सिनेमामा गीत लेख्नका लागि । अन्ततः सफलता पनि मिल्यो । यो सफलताका पछाडि धेरै दुःख, कष्ट र संघर्ष लुकेको छ ।
सफल भइसकेपछि त मुसायरा वा कवि गोष्ठीहरूमा जाँदा होला नि !
अहँ, म जान्नँ । यसकारण जान्नँ कि मैले मञ्चका लागि कुनै कविता वा शायरी लेखेकै छैन । यदि, त्यस्तो साहित्य तयार गरेको अवस्थामा भने म मुसायरा वा कवि गोष्ठीहरूमा जान सक्छु, त्यसमा दुईमत छैन । तर, गीत लेखनको व्यस्तताले कविता लेख्ने फुर्सद नै मिल्दैन । म मुसायरामा यस कारण पनि जान्नँ कि कसैले त्यहाँ भन्न सक्छ, ‘यो फिल्मवालालाई कसले बोलायो !’ यदि, म मुसायरा वा कवि गोष्ठीमा जान्छु भने पूरा तयारीका साथ जान्छु । त्यसपछि फिल्म छोडिदिन्छु ।
धुनमा गीत लेख्ने प्रचलन फिल्मीजगत्मा बढी छ, के साँच्चै कठिन काम हो यो ?
सुरुमा गीत लेखेर त्यसलाई लयमा ढाल्दा गतिलो धुन सिर्जना हुन्छ भन्ने आमसोचाइ छ । तर, त्यसो होइन । धुनमा लेख्न झन् सजिलो छ । साहिर, मजरुह, शैलेन्द्र, गुलजार, अञ्जान, जावेद सबैले धुनमा नै धेरै गीत लेखेका छन् । फिल्म विधामा धुनमा गीत लेख्न ३०/७० को रेसियो छ । पहिले ५०/५० थियो । अहिले धुनमाथि ७० प्रतिशत गीत लेखिन्छ भने गीतमा संगीत भर्ने काम ३० प्रतिशत मात्र छ ।
मेरो विचारमा फिल्मको गीत धुनमा लेख्दा नै परफेक्सन आउँछ । यसो हुँदा धुनमा गीत लेख्न नसक्नेले गाली गर्छन् । यो त गलत कुरा भयो नि ।
तपाईंका कतिपय गीतमा त पछि नै धुन भरिएका हुन् नि, हैन ?
धेरैपटक यस्तो भएको छ । ‘नजर के सामने जिगर के पास...’ यो गीत मैले पहिले नै लेखेर दिएको हुँ । पछि मात्रै धुन बन्यो । यसै गीतबाट मैले पहिलोपटक फिल्मफेयर अवार्ड पाएको थिएँ । यसरी मेरा धेरै गीतिकविताले धुनमा सजिने मौका पाएको छ ।
तपाईंको कविताको किताब पनि प्रकाशित छ, हैन ?
छ । किताबको नाम हो, ‘समीराना गीत’ । मलाई एकपटक गुलजार साहबले भने– तिमीले फिल्मी गीत धेरै लेख्यौ, अब कविताको किताब पनि ल्याऊ । त्यसपछि मैले गीतको किताब तयार गरेँ, जसलाई वाणी प्रकाशन दिल्लीले प्रकाशनमा ल्यायो । यसका अतिरिक्त कविताका अरू दुई किताबको तयारी गर्दै छु । त्यसबाहेक आत्मकथा पनि आउँदै छ । मलाई फुर्सद हुँदा यस्ता कामहरू गर्छु ।
प्रस्तुति: राजेश खनाल