site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानविरुद्ध नेपाल सात विकेटले पराजित   

काठमाडौं । यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध नेपाल सात विकेटले पराजित भएको छ । 

शुक्रबार युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा नेपालले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा अजनान अवाईसले ५६ रन बनाए । यस्तै, कप्तान साद बाइगले ५६ बलमा पाँच चौकासहित ५० रन थपे । २३–२ को अवस्थाबाट यी दुईले तेस्रो विकेटलाई १०८ रनको साझेदारी गर्दै पाकिस्तानलाई सहज जितउन्मुख गराएका थिए ।

मोहम्मद जिसानले आठ बलमा दुई चौका र छक्कासहित अविजित २० र साहजैब खानले १५ रन थपे । 

नेपालका गुल्सन झाले दुई र आकाश त्रिपाठीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाएर १५२ रनको योगफल खडा गरेको थियो ।

नेपाली टिमको खातामा उत्तम मगरले ५१ रन थपे । दबाबपूर्ण अवस्थामा सुझबुझपूर्ण ब्याटिङ गरेका उनले ७६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । ४६–६ को नाजुक अवस्थामा उत्तमले छैटौँ विकेटका लागि दीपेश कँडेलसँग ६८ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । दीपेशले ३१ रन बनाए । ओपनर अर्जुन कुमालले २१ रन बनाउनुबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

पाकिस्तानविरुद्ध नेपाली कप्तान देव खनाल १३ बलमा रनको खाता नखोली आउट भए । सिनियर टोलीका गुल्सन झाले पनि टिमको खातामा एक रनमात्र थपे ।

नेपाललाई सस्तैमा रोक्न पाकिस्तानमा मोहम्मद जिसानले ६ विकेट लिए । ९.२ ओभर बलिङ गरेका उनले एक मेडनसहित १९ रनमात्र खर्चिए । अमिर हसनले दुई विकेट लिँदा अली असफान्ड र उबैद साहले समान एक विकेट लिए ।

आजको खेलपछि नेपालले समूहको दोस्रो खेलमा मंसिर २४ गते आइतबार अफगानिस्तानविरुद्ध खेल्नेछ । आईसीसी एकेडेमी ओभल–२ मा नै हुने यो खेल पनि नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ । आईसीसी एकेडेमी ओभर–२ मा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ मा नेपालबाहेक बाँकी तीन वटै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् ।

समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।

अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा स्थान बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, यूएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै यूएईको टिकट काटेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro