
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सेनाका विषयमा सदनमा नकारात्मक छलफल हुनु राम्रो नभएको बताएका छन् ।
शुक्रबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सेनामा प्रमोसन (बढुवा)को बेलामा उमेरहदको गुनासो किन आउँछ भन्दै प्रश्न गरे । रक्षा मन्त्रालयलाई उमेरको विषयमा छानबिन गर्न लगाउनुपर्ने उनको भनाइ छ ।
“सेनाको बारेमा नकारात्मक छलफल सदनमा छलफल हुनु राम्रो होइन । अहिले जसका लागि प्रमोसनमा पठाइएको छ, उसको पनि उमेरहदको विषयमा प्रश्न र गुनासो आएको छ । सधैँ किन प्रमोसनको बेला आउँछ ?,” उनले भने, “अब समितिले रक्षा मन्त्रालयले यस विषयमा छानबिन गरेर यथार्थ कुरा ल्याउन निर्देशन दिनुपर्छ । रक्षा मन्त्रालयलाई चिठी लेख्नुपर्छ । यो रक्षाको कार्यक्षेत्रमा पर्छ, मन्त्रालय यसमा गम्भीर बन्नुपर्छ ।”