
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकालमा इतिहासमै नभएको काम भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले धितोपत्र बजार स्थापना भएको ३० वर्षको अवधिमा हुनै नसकेको काम २१ महिनाको अवधिमा आफूले गरेर देखाएको जिकिर गरे ।
“३० वर्षको धितोपत्रको इतिहासमा पहिलोपटक हामीले भित्री कारोबार, पहिलोपटक मार्केट मेनुपुलेसन, एकैपटक ८८ सूचीकृत कम्पनीलाई कारबाही, पहिलोपटक मनी लाउन्डरिङमा कारबाही गर्यौँ । अहिलेसम्म कुनै पनि गुनासो आएको छैन । फाइल पनि क्लोज भएको छैन । यो ३० वर्षको इतिहास हो,” उनले भने, “म आउनुभन्दा पहिले २९ वर्षको धितोपत्रको इतिहासमा १० वटा माइनर कारबाही भएका छन् । भनेको, एभरेजमा हरेक तीन वर्षमा एउटा कारबाही हुन्थे । त्यो पनि माइनर । अहिले म २१औँमहिने कार्यकालमा छु । ८८ वटा सूचीकृत कम्पनीबाहेक २० वटा माइनर कारबाही भएका छन् । एभरेजमा महिनाको एउटा कारबाही भएका छन् । एउटा दृढ संकल्प, आत्मविश्वास र प्रणलीले गर्दा सम्भव भएको हो ।”
सरकारी निकायमा कुनै पनि सेवाग्राहीले निवेदन दर्ता गरेपछि दैनिक आउनु नपर्ने प्रणालीको विकास गर्नुपर्ने पनि उनले बताए । निश्चित अवधिमा लिखित जवाफ पठाउने प्रणालीको विकास आवश्यक रहेको उनले औँल्याए ।
धितोपत्र बोर्डमा निवेदन दिएको तीन दिनमा काम हुने वा नहुने भन्ने लिखित जवाफ दिने प्रणालीको विकास गरेको उनले सुनाए । ब्रोकरको शाखा सञ्जालबारे पनि त्यस्तै गरिएको उनको भनाइ छ ।
“कुनै ब्रोकरले शाखा खोल्न निवेदन दिएको १५/२० महिना धाउनुपर्ने बाध्यता थियो । अहिले त्यसको अन्त्य भएको छ,” उनले भने, “प्राइभेट सेक्टरले लगानी गर्ने, अनि सरकारी क्षेत्रले दुःख दिन हुँदैन । सहज रूपमा काम हुने प्रणालीको विकास हुनुपर्छ ।”