
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।
यो नियम गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा लागु हुनेछ ।
बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै यी क्षेत्रमा मंसिर २७ गतेसम्म यो नियम लागु हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले चेतावनी दिएको छ ।