लाखौं नेता, कार्यकर्ताको त्याग, बलिदानले निर्मित पार्टी हो नेपाली कांग्रेस । नेपालमा प्रजातन्त्रको लागि झन्डै ८ दशक लडेको, सबैभन्दा पुरानो, ठूलो र धेरै समय सत्तामा रहेको पार्टी पनि हो कांग्रेस । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नै कांग्रेसको आदर्श हो भनेर नेता, कार्यकर्तालाई सिकाउने कांग्रेस आज ती आदर्शहरूबाट च्युत भएको छ ।
विधि, पद्धति, प्रजातान्त्रिक मूल्य र मान्यताकै उपहास भएको छ । विसं २०४६ को परिवर्तनपछिको ३४ वर्षमा १३ पटक त नेपाली कांग्रेसका नेता नै प्रधानमन्त्री भए । सत्ता र पार्टीको केन्द्रीय नेतृत्वमा पुग्नेहरूले हिजो सँगै लडेका, जेल बसेका, कुटाइ खाएका, घरपरिवार, पढाइ, व्यवसाय सबै छाडेर पार्टीमा काम गरेका हजारौं नेतालाई सम्झेका छैनन् । तीनैमध्येका एक हुन् प्रा. डा. यज्ञप्रसाद अधिकारी ।
महाशिला गाउँपालिका, पर्वतमा २०१० सालमा जन्मिएका प्रा. डा. यज्ञप्रसाद अधिकारी नेपाली कांग्रेस र लोकतान्त्रिक आन्दोलनमा नबिर्सिइने नाम हो । विसं २०४२ सालमा प्राध्यापन पेसामा प्रवेश गरेका डा. अधिकारीले ‘नेपाली कांग्रेसको विदेश नीति’मा बनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।
विसं २०२६ सालमा सरस्वती निमाविमा नेपाल विद्यार्थी संघको सभापति भएर राजनीतिमा प्रवेश गरेका डा. अधिकारी २०३१ सालमा विरेन्द्र क्याम्पस, चितवनको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका अधिकारीले २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरी भारतबाट नेपाल फर्किन गरेको अपिल बाँड्ने क्रममा काठमाडैंमा गिरफ्तार भई केन्द्रीय कारागारमा ९ महिनासम्म बन्दी जीवन बिताएका थिए ।
यसैगरी २०३६ सालको विद्यार्थी आन्दोलनपछि त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापति, २०४२ सालमा नेपाली कांग्रेसले गरेको सत्याग्रहको क्रममा गिरफ्तार भई रौतहट जिल्लाको गौर जेलमा लामो समयसम्म थुनामा रहेका थिए भने २०४६ को जनआन्दोलनको तयारीको क्रममा गिरफ्तार भै वीरगन्ज जेलमा रहेका थिए । यसै गरी २०६२/६३ को आन्दोलनमा पनि उनको सक्रिय भूमिका रहेको थियो ।
विसं २०४८ पछिका नेपाली कांग्रेसको महाधिवेशनहरुमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य, केन्द्रीय विभागको सदस्य, नेपाली कांग्रेसमा समाजवादी विचारलाई प्रभावकारी बनाउन देशव्यापी रूपमा प्रशिक्षण दिँदै हिडेको, नेपाली कांग्रेसलाई नीति, सिद्धान्त, आदर्श र विचारको पार्टीको रुपमा अगाडि बढाउन बहसको रूपमा उठान गर्नेजस्ता महत्त्वपूर्ण योगदान उनले गरेका छन् ।
डा. अधिकारी २०७५ साल बैशाख १९ गते 'ब्रेन स्ट्रोक' भएर न्युरो अस्पताल भर्ना भए । पछि विभिन्न प्राकृतिक चिकित्सा र आयुर्वेदिक उपचार गर्दागर्दै ९ महिनापछि फेरि 'ब्रेन हेमरेज' भयो । भारतको दिल्लीस्थित एम्स अस्पतालमा ३५ दिनको उपचारपछि केही सुधार भयो र बिस्तारै बोल्ने, मानिसहरू चिन्ने, पुराना कुरा सम्झने हुन थाल्यो ।
अझै पनि दाहिने हात खुट्टा चल्दैनन्, अर्काको सहारामा कोठामा हिँड्न प्रयास गरे पनि एउटा तलाबाट तल झर्न सक्ने अवस्था छैन । आश्चर्य लाग्छ, तैपनि उनी निराश छैनन् । सकारात्मक सोच, आत्मबल, परिवारको सहयोगले उनलाई आशावादी बनाएको छ । डा. अधिकारीलाई ऊर्जा दिएको छ र आत्मबल बढाएको छ । छिट्टै ठीक हुन पाए, फेरि पहिलेजस्तै हिँड्न पाए अझै पनि नेपाली कांग्रेस र नेपालको लोकतन्त्रलाई संस्थागत गर्न केही गर्न सकिन्छ कि भन्ने विजिगीषा भने डा. अधिकारीमा अझै छ ।
पार्टीमा ठूलो लगानी गरेका डा. अधिकारीका समकालीन कांग्रेसका नेताहरू पटकपटक प्रधानमन्त्री, मन्त्री, सांसद बनेका छन्, राजदूतलगायतका नियुक्ति पाएका छन् । तर, पनि उनको अवस्था बारे पार्टीका केन्द्रीय सभापति, अन्य पदाधिकारी, मन्त्री कसैले पनि कुनै चासो लिएको देखिएको छैन । उनलाई भेट्नसम्म गएको सुनिएको छैन ।
अन्य प्रजातन्त्रका सेनानीहरूलाई उपेक्षा गरेजस्तै डा. अधिकारीलाई पनि गरिएको छ । हिँड्न नसक्ने, बिरामी, काम गर्न नसक्ने डा. अधिकारीलाई सहयोग गरेर पार्टीलाई अथवा मलाई के फाइदा भन्नेहरू नै पार्टी र सरकारमा छन् । न्याय मरेको छ । नीति, सिद्धान्त, आदर्श मरेको छ ।
डा. अधिकारी त एक प्रतिनिधिपात्र मात्र हुन् । उनी जस्तै हजारौं नेता, कार्यकर्ताको जीवन कष्टकर छ । तर, पनि सत्तामा हुनेले उपेक्षा गरिरहेकै छन् ।
राजनीति र प्राज्ञिक पेसा एकसाथ अगाडि बढाएका डा. अधिकारीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो योगदान गरेका छन् । उनी प्रजातान्त्रिक समाजवादका व्याख्याता थिए र देशैभरी कांग्रेसजनहरुलाई प्रशिक्षण पनि दिने गर्दथे ।
नेपाली कांग्रेस र प्रजातान्त्रिक आन्दोलनको लागि जीवन गुमाउनेका परिवार, जेल परेका, घाइते, अपाङ्ग, सर्वस्वहरणमा परेका कसैको पनि अभिलेख छैन पार्टीमा । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको लागि लडेका हजारौं नेता, कार्यकर्तालाई पार्टीले उपेक्षा गरेको छ । डा. अधिकारी र उनीजस्तै हजारौं इमानदार, स्वाभिमानी, बुद्धिजीवी नेता, कार्यकर्ताको अवमूल्यन भइरहेको छ, अपहेलना भइरहेको छ ।
आजका युवालाई इतिहासको गौरवले मात्र आकर्षित गर्न सक्तैन । भविष्यको खाकासम्म पनि नेपाली कांग्रेसका नेतासँग छैन । अर्कातिर, पार्टीको इतिहास निर्माणमा योगदान गरेका डा. यज्ञ अधिकारी र उनीजस्ता लोकतन्त्रका सेनानीहरू सम्मान हुँदैन भने बैगुनी नेताहरूले भरिएको कांग्रेसप्रति युवा पुस्ता किन आकर्षित हुन्छ ? नेपाली कांग्रेसका अहिलेका शीर्ष नेताहरूले आफ्नै जग भत्काइरहेका छन् भन्ने कार्यकर्ताले बुझेका छैनन् होला र ?
डा. अधिकारीजस्तै लाखौं नेता कार्यकर्ताले सम्मानपूर्वक बाँच्न, योग्यता, क्षमताअनुसारको काम गर्न र आफूले रगत पसिना बगाएका पार्टीले साँच्चै देश र जनताका लागि काम गरेको देख्न कहिले पाउने ? यी सबै प्रश्नको उत्तर नेपाली जनताले कांग्रेससँग खोजेका छन् ।