
काठमाडौं । संसदीय समितिले कोरोना रोकथामका लागि खरिद भएका स्वास्थ्य सामग्रीको विवरण माग गरेको छ । संसद्को सार्वजनिक लेखा समितिले स्वास्थ्य मन्त्रालयसँग कोरोना रोकथामका लागि भएका स्वास्थ्य सामग्री खरिदको विवरण मागेको हो ।
“अध्ययनका लागि हामीले विवरण माग गरेर पत्र पठाएका हौँ । पत्र केहीदिन अघि पठाइएको हो,” समितिका सचिव एकराम गिरीले भने ।
कोभिड–१९ महामारी रोकथामका लागि स्वास्थ्य मन्त्रालयले ओम्नी कम्पनीमार्फत स्वास्थ्य सामग्री खरिद गर्न अनुमति दिएको थियो । स्वास्थ्य सामग्री खरिदमा घोटाला भएको भन्दै यो विषय हाल अख्तियारमा विचाराधीन छ ।
लेखा समितिको २०७७ पुस ३ को बैठकले कोभिड–१९ को महामारी नियन्त्रण तथा रोकथामको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग भएको सम्बन्धमा विस्तृत छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको थियो ।
समितिको निर्णयमा स्वास्थ्य सामग्री खरिद गर्दा बजेट तथा लागतको अनुमान तयार नगरी सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीविपरीत सामान खरिद भएको उल्लेख गरिएको छ ।