site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्रिय गौरवका २१ आयोजना : प्रगति अवस्था दयनीय

काठमाडौं । सरकारले उच्च प्राथमिकता दिएको निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना कुनै पनि निर्धारित समयमा सकिएका छैनन् र अझ सकिने अवस्था पनि देखिँदैनन् ।

हाल निर्माणाधीन २१ वटा राष्ट्रिय गौरवका आयोजनाको भौतिक र वित्तीय प्रगतिको अवस्था निकै दयनीय रहेको सरकारी तथ्याङ्कले देखाउँछ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा सांसद दिलेन्द्रप्रसाद बडुले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिनिधिसभालाई लिखित रुपमा जवाफ उपलब्ध गरेको थियो । प्रधानमन्त्री कार्यालयले उपलब्ध गरेको विवरणमा वर्षौं बित्दा पनि राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण सम्पन्न हुन नसकेको देखिन्छ ।

राष्ट्रिय गौरवका आयोजनाको म्याद पटक–पटक थप गरिएको छ भने काम सुस्त गतिमा भइरकेको तथ्याङ्कले देखाउँछ ।

बबई सिँचाई आयोजना

Global Ime bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गरेको विवरण अनुसार, आर्थिक वर्ष २०४५/४६ बाट सुरु भएको बबई सिँचाई आयोजनाको काम हालसम्म पूरा हुन सकेको छैन ।  निर्माण कार्य सुरु भएको ३५ वर्ष बित्दा बबई सिँचाई आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६६.८७ प्रतिशत भएको छ । यो प्रगति विवरण २०८० असार मसान्तसम्मको हो । 

आयोजनाको म्याद पटक–पटक थप्दा पनि हालसम्म पूरा हुन सकेको छैन । बबई सिँचाई आयोजनाको सम्पन्न गर्ने म्याद पछिल्लो पटक आर्थिक वर्ष २०८९/९० सम्म थप गरिएको छ । 

मेलम्ची खानेपानी आयोजना 

काठमाडौंवासीको खानेपानी समस्या समाधान गर्न मेलम्ची खानेपानी आयोजना आर्थिक वर्ष २०५५/५६ मा सुरु गरिएको थियो । आयोजनाको काम सुरु भएको २५ वर्ष बितिसक्यो, तर अझै पूरा भने भएको छैन ।  २०८० असार मसान्तसम्म आयोजनाको भौतिक प्रगति ९८.२१ प्रतिशत र वित्तीय प्रगति ९२.२० प्रतिशत भएको छ । 

मेलम्चीमा आएको बाढीले आयोजनाको मुहान भत्काएपछि अर्को स्थानमा मुहान बनाउने कार्य अघि बढाइएको छ । यसका लागि थप अर्बौ रुपैयाँ लाग्नेछ । तर, आयोजना कहिले पूरा हुन्छ यसै भन्न सक्ने अवस्था छैन । 

हुलाकी राजमार्ग 

आर्थिक वर्ष २०६४/६५ मा सुरु गरिएको हुलाकी राजमार्गको काम पनि अझै पूरा हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरण अनुसार हुलाकी राजमार्गको हालसम्मको भौतिक प्रगति ९१ प्रतिशत र वित्तीय प्रगति पनि ९१ प्रतिशत छ ।

यो आयोजना आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

मध्यपहाडी लोकमार्ग 

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको काम १६ वर्ष बित्दा पनि सकिएको छैन ।  यो आयोजना आर्थिक वर्ष २०६४÷६५ मा सुरु गरिएको थियो । पटक–पटक म्याद थप गरी आयोजना आर्थिक वर्ष २०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर हुन सकेन । 

२०८० असार मसान्तसम्म मध्यपहाडी लोकमार्गको भौतिक प्रगति ७२.७ प्रतिशत र वित्तीय प्रगति ७६.८ प्रतिशत भएको छ । 

उत्तर–दक्षिण लोकमार्ग 

आर्थिक वर्ष २०६९/७० मा सुरु गरिएको उत्तर–दक्षिण लोकमार्ग कर्णाली कोरिडोर (हिल्सा–सिमीकोट) ले ११ वर्ष बित्दा पनि पूर्णता पाउन सकेको छैन । २०८० असार मसान्तसम्म उत्तर–दक्षिण लोकमार्गको भौतिक प्रगति २४ प्रतिशत र वित्तिय प्रगति २०.४१ प्रतिशत छ । 

आर्थिक वर्ष २०८३÷८४ सम्म यो आयोजना सम्पन्न गर्ने लक्ष्या राखिएको छ । जुन गतिमा यसको भौतिक र वित्तीय प्रगति छ, त्यही गतिमा काम भइरहे निर्धारित समयमा यो आयोजना पूरा हुन्न ।  उत्तर–दक्षिण कर्णाली कोरिडोरअन्तर्गत लालीबगर–भुक्काखोला सडक खण्डको काम पनि आर्थिक वर्ष २०६९÷७० बाट सुरु भएको थियो । यो सडक खण्डले पनि हालसम्म पूर्णता पाएको छैन । 

२०८० असार मसान्तसम्म लालीबगर–भुक्काखोला सडक खण्डको भौतिक प्रगति ४३.०८ प्रतिशत र वित्तीय प्रगति २९.५७ प्रतिशत भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यो सडक खण्ड आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

कालीगण्डकी कोरिडोर

कालीगण्डकी कोरिडोरभित्र पर्ने दुई वटा सडक खण्ड छन् । पहिलो, बेनी–जोमसोम–केरला सडक र दोस्रो, गैंडाकोट–राम्दी–मालढुङ्गा सडक ।  बेनी–जोमसोम–केरला सडकको निर्माण आर्थिक वर्ष २०७३/७४ र गैडाकोट–राम्दी– मालढुङ्गा सडकको निर्माण आर्थिक वर्ष २०६६/६७ बाट सुरु गरिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गरेको विवरण अनुसार २०८० असार मसान्तसम्म बेनी–जोमसोम–केरला सडकको भौतिक प्रगति ७२ प्रतिशत र वित्तिय प्रगति ६३ प्रतिशत भएको छ ।  यस्तै, सोही अवधिसम्म गैडाकोट–राम्दी–मालढुङ्गा सडकको भौतिक प्रगति ४५ प्रतिशत र वित्तीय प्रगति ४३ प्रतिशत मात्र भएको छ । 

उत्तर–दक्षिण कोशी कोरिडोर 

उत्तर दक्षिण कोशी कोरिडोरको निर्माण कार्य आर्थिक वर्ष २०६५/६६ बाट सुरु गरिएको थियो । सुरु भएको १५ वर्ष बित्दा पनि कोरिडोरको काम सम्पन्न भएको छैन ।  २०८० असार मसान्तसम्म उत्तर दक्षिण कोशी कोरिडोरको भौतिक प्रगति ४४.८ प्रतिशत र वित्तीय प्रगति ४२.४७ प्रतिशत भएको छ । आर्थिक वर्ष २०८३/८४ सम्म कोरिडोरको काम सक्ने लक्ष्य राखिएको छ । 

रेल्वे तथा मेट्रो रेल विकास आयोजना

आर्थिक वर्ष २०६५/६६ मा रेल्वे तथा मेट्रो रेल विकास आयोजनाको काम सुरु गरिएको थियो । यो आयोजना सुरु भएको १५ वर्ष बितिसकेको छ, तर काम भने आधा पनि भएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, २०८० असार मसान्तसम्म रेल्वे तथा मेट्रो रेल विकास आयोजनाको भौतिक प्रगति ४३ प्रतिशत र वित्तीय प्रगति ४२.८८ प्रतिशत मात्र भएको छ । 

सिक्टा सिँचाई आयोजना 

सिक्टा सिँचाई आयोजना सुरु भएको १८ वर्ष बितिसकेको छ । आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको यो आयोजनाको काम आधा पनि सम्पन्न भएको छैन । आर्थिक वर्ष २०७९/८० सम्म सिक्टा सिँचाई आयोजनाको भौतिक प्रगति ३९.७६ र वित्तीय प्रगति ३८.९६ प्रतिशत मात्र भएको छ । यो आयोजना आर्थिक वर्ष २०८९/९० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

रानी जमरा र कुलरिया सिँचाई आयोजना 

राष्ट्रिय गौरवको रानी जमरा र कुलरिया सिँचाई आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०६७/७८ बाट सुरु गरिएको थियो । 

आयोजना निर्माण सुरु भएको १३ वर्ष बित्दा पनि काम सम्पन्न भएको छैन । प्रधानमन्त्री तथा मन्त्रपषिद्को कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० सम्म यस आयोजनाको भौतिक प्रगति ६६.९७ प्रतिशत र वित्तीय प्रगति ६५.२४ प्रतिशत भएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा यो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सुनकोशी–मरिन डाइभर्सन आयोजना 

आर्थिक वर्ष २०७३÷७४ बाट सुरु भएको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको काम एक चौथाई पनि सम्पन्न भएको छैन ।  काम सुरु भएको सात वर्ष बित्दा आयोजनाको भैतिक प्रगति २१.४ प्रतिशत र वित्तीय प्रगति मात्र १९.२ प्रतिशत भएको छ । 

सुनकोशी–मरिन डाइभर्सन आयोजना आर्थिक वर्ष २०८४/८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही गतिमा कार्य भए उक्त समयसम्म आयोजना सम्पन्न हुने देखिँदैन ।

महाकाली सिँचाई आयोजना 

महाकाली सिँचाई आयोजना निर्माण कार्य आर्थिक वर्ष २०६३/६४ बाट सुरु गरिएको थियो । आयोजना सुरु भएको १७ वर्ष बिते पनि काम भने २० प्रतिशत पनि भएको छैन । २०८० असार मसान्तसम्म महकाली सिँचाई आयोजनाको भौतिक प्रगति मात्र १९.२९ प्रतिशत र वित्तीय प्रगति १८.९९ प्रतिशत भएको छ । 

आयोजना सम्पन्न गर्ने म्याद आर्थिक वर्ष २०८७/८८ सम्मलाई राखिएको छ ।

भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजना 

आर्थिक वर्ष २०७१/७२ मा सुरु गरिएको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम आर्थिक वर्ष २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  सुरु भएको ९ वर्ष बित्दा आयोजनाको भैतिक प्रगति ६२ प्रतिशत र वित्तिय प्रगति ५४.८६ प्रतिशत भएको छ । 

बूढी गण्डकी जलविद्युत आयोजना 

बूढी गण्डकी जलविद्युत् आयोजना आर्थिक वर्ष २०६९/७० बाट सुरु भएको थियो । आयोजना निर्माण सुरु भएको ९४ महिना (७.८३ वर्ष) मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना सुरु भएको ११ वर्ष बितिसक्दा पनि काम भने पूरा भएको छैन । 

प्रधानमन्त्री तथा मन्पिपरिषद्को कार्यालयका अनुसार, आर्थिक वर्ष २०७९/८० सम्म आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत र वित्तीय प्रग्ति ९६.६२ प्रतिशत भएको छ ।

काठमाडौं–तराई/मधेस द्रुत मार्ग आयोजना 

राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेश द्रुत मार्ग आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३/७४ बाट सुरु गरिएको थियो ।  निर्माण कार्य तीव्र गतिमा गर्न आयोजनाको जिम्मा नेपाली सेनालाई दिइएको थियो । 

सेनाले द्रुतमार्गको निर्माण कार्य सुरु गरेको ७ वर्ष बितिसकेको छ । चार वर्षमा काम सम्पन्न गर्ने गरी सेनालाई दिइएको द्रुत मार्गको काम हालसम्म सम्पन्न हुन सकेको छैन । 

२०८० असार मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति २५.५४ प्रतिशत र वित्तीय प्रगति २८.११ प्रतिशत भएको छ ।  पटक–पटक म्याद थप गरी आयोजना आर्थिक वर्ष २०८०/८१ सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर उक्त अवधिमा कार्य सम्पन्न हुने नदेखिएपछि म्याद २०८३ चैत मसान्तसम्मलाई थपिएको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम 

आर्थिक वर्ष २०७१/७२ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम सुरु भएको ९ वर्ष बितेको छ । 

यो कार्यक्रम २० वर्षे गुरुयोजनाअनुसार आर्थिक वर्ष २०९३/९४ सम्मको लागि बनाइएको थियो । आर्थिक वर्ष २०७९/८० सम्म राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको भौतिक प्रगति ५.७९ प्रतिशत र वित्तीय प्रगति ५.६३ प्रतिशत छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu