कोलम्बो । श्रीलंकामा दैनिक ९३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ । तीमध्ये ४ प्रतिशत मात्र पुनः प्रयोगमा ल्याउन मिल्ने खालको हुने गरेको पाइएको संसद्को सञ्चार विभागले शनिबार संसदीय समितिलाई उद्धृत गर्दै जनाएको छ ।
ती उत्पादित फोहोरमध्ये ३२ प्रतिशत मात्र संकलन गरिएको वातावरण, प्राकृतिक स्रोत तथा दिगो विकाससम्बन्धी क्षेत्रीय अनुगमन समितिले खुलासा गरेको छ ।
उद्योगीहरूलाई बिनानिगरानी सहज रूपमा प्लास्टिक आयात गर्न अनुमति दिँदा पनि समस्या बढ्दै गएको समितिले जनाएको छ ।
सो समितिले प्लास्टिक संकलनका निम्ति दिइने प्रोत्साहन कार्यक्रम बढाउन वातावरणीय अधिकारीहरूलाई निर्देशन समेत दिएको छ ।
श्रीलंकामा प्लास्टिकजन्य फोहोर गम्भीर समस्याका रूपमा देखापरेको छ । समस्या विकराल बन्दै गएपछि सरकारले पुनः प्रयोगमा ल्याउन नमिल्ने खालका प्लास्टिकको जथाभावी प्रयोगमा प्रतिबन्ध लगाएको छ । रासस/सिन्ह्वा