काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलले अमेरिकामा चलचित्र ‘भूठान’ बनाउने भएका छन् । पौडेलले नयाँ चलचित्रको पोस्टर र नाम सार्वजनिक गरेका छन् ।
नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा कलाकार हरिवंश आचार्य छन् । आचार्यसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन तथा विमल सुवेदी अनुवन्धित भएका छन् ।
चलचित्रमा हलिउडका एक लोकप्रिय कलाकारलाई पनि अनुवन्ध गर्न लागिएको तर हलिउडमा चलिरहेको फिल्मकर्मीहरूको आन्दोलन भर्खरै मात्र सकिएकोले केही समयमा टुंगो लाग्ने निर्मातामध्यका एक राजेन्द्र ठकुराठीले बताएका छन् ।
राजेन्द्र ठकुराठी हलिउड सिनेमाका एक प्रख्यात नाम हुन् । उनले अस्कर एकेडेमी अवार्डमा छानिएकासहित ५० भन्दा बढी हलिउडका चलचित्रमा सहकार्य गरिसकेका छन् ।
भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवन यात्राको कथा समेटेर बन्न लागेको यस चलचित्र ‘भूठान’ सन् २०१९ मा वुसान फिल्म फेस्टिभलको स्क्रिप्ट पिचिङमा समेत छानिएको थियो ।
‘भूठान’का निर्माता अविरल थापाले यो चलचित्र विश्वबजारको लागि बनाउन लागिएको भन्दै अन्तर्राष्ट्रिय चलचित्रको भीडमा यसले अलग्गै पहिचान कायम गर्नेमा विश्वस्त रहेको बताए ।
कार्यकारी निर्माता एल.एन अधिकारी र अर्का निर्माता अमिताभ जोशीका अनुसार विश्वभरका अधिकांश प्लेटफर्महरूमा र सिनेमा हलहरूमा हलिउडकै वितरकको संग्लग्नतामा यो चलचित्रलाई प्रदर्शन गरिनेछ ।
चलचित्रकी कार्यकारी निर्माता कौशिला खनालले भुटानी शरणर्थीको कथा र संवेदनालाई लिएर लामो समयदेखि मिहिन ढंगले लेखक एवं निर्देशक पौडेलले काम गरिरहेकाले आफू सिनेमामा जोडिएको बताइन् ।
यो चलचित्रमा सन् २०१७ मा हलिउडको ला ला ल्यान्ड चलचित्रमार्फत अस्कर अवार्ड जितेका निर्माता स्टार झाउ पनि एसोशियट निर्माताकोे रुपमा जोडिएका छन् । चलचित्रको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र चलचित्र बुलबुलकै निर्माता अविरल थापा रहनेछन् । कार्यकारी निर्मातामा एल. एन अधिकारी र कौशिला खनाल कर्माचार्य छन् । शैलेश मैनाली, दीपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं), राजु पौडेल, संजीव भार श्रेष्ठ, नवराज पराजुलीको सहनिर्माण रहनेछ ।
सम्पूर्ण छायांकन अमेरिकाको ओहायो राज्यमा चलचित्र नेपाली एवं अंग्रेजी भाषामा निर्माण हुनेछ । चलचित्रको छायांकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा आउनेछ ।
बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । चलचित्रलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्नेछ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन् ।