site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोट भूकम्प : अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता वितरण प्रारम्भ

जाजरकोट । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।  

रुकुम पश्चिममा मंगलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरण समेत सुरु गरिसकेका छन् । शिवालयमा तीन हजार ३०९ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका लेखापाल एकराज उपाध्यायले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले  आठ करोड २७ लाख २५ हजार पठाइएको छ । पालिकाले भने लाभग्राहीको विवरण पुनः पहिचान गरी रकम वितरण गर्ने जनाएको छ । शुक्रबारदेखि नै यो प्रक्रिया थालिने पालिका अध्यक्ष शेरबहादुर शाहीले बताए । 

“वडाबाट आएको विवरणलाई प्रशासनमा पठाएका छौँ, यीमध्ये पनि कसैका दुईवटा घर हुनसक्छ, कोही लाभग्राही सूचीमै नपरेका पनि हुनसक्छन्”, उनले भने, “त्यसैले फेरि फारम भर्न लगाएर वास्तविक पीडितलाई अनुदान दिन्छौँ, यसका लागि दुई–तीन दिन लाग्न सक्छ ।”

लेखापाल  उपाध्यायले अन्य  गाउँपालिकाबाट भने लाभग्राही विवरण प्राप्त हुन नसकेको बताए । विवरण प्राप्त भएलगत्तै स्थानीय तहमा रकम पठाइने बताए । शुक्रबारदेखि अन्य तहबाट पनि लाभग्राही विवरण आउने जनाइएको छ । जिल्लामा ३४ हजार चार सय ९८ घरमा भूकम्पले क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ । तीसमध्ये नौ हजार ७९४ घरमा पूर्ण र २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्