यतिबेला राजतन्त्र (संस्था) को विषयमा चर्को बहस छ । सत्र वर्षअघिसम्म नेपालमा राजतन्त्र विद्यमान थियो । राजतन्त्र बिदा गरिएको वर्ष जन्मेको बच्चा पनि यतिबेला सत्र वर्षे भएको छ ।
राजतन्त्रको बहससँगै केही प्रश्न अनुत्तरित छन् र तिनको उत्तर खोजिनु आवश्यक छ । यस्ता केही प्रश्नको उत्तर खोज्दा राजतन्त्रको औचित्य र आवश्यकता वा इतिहासमा उसको काम कर्तव्य कस्तो थियो ? भन्ने विषयतिर हाम्रो अध्ययन जान्छ । यस्तो अध्ययनको निष्कर्षमा राजतन्त्र वा राजसंस्था भन्नेहरूको मोहको औचित्य र सान्दर्भिकता पनि दाँज्न सकिन्छ वा दाँज्नुपर्छ ।
अब राजतन्त्र किन वा राजसंस्थाको आग्रह, आवश्यकता किन ? हटाइ सकिएको राजतन्त्र फेरि किन चाहियो नेपालमा ? राजतन्त्र फर्काउन चाहने र बोल्नेहरूको उत्प्रेरणा के वा को हो ? र राजतन्त्र नेपाली जनताले फालेका हुन् कि आफ्नै कृत्यकर्म वा निर्दलीय मानसिक भूतको परिणाम उसले बहिर्गमन रोज्नु परेको हो ? यस्ता अनुत्तरित प्रश्न छोडेर राजतन्त्रको आग्रह सान्दर्भिक सुनिदैन ।
विश्वबाट बिदा गरिएको राजतन्त्र पुनः फर्किएर शासनारुढ भएको कहीं छ ? बेलायतको समय सन्दर्भ बेग्लै हो । त्यसो त जनतालाई सम्मान गरेर बसेका राजा अर्को भिन्न कुनै देशको समेत सम्मानित वा संवैधानिक राष्ट्रध्यक्ष मानिएका पनि त छन् । नेपालको प्रसंग भने बेग्लै रह्यो ।
खासगरी यस्ता प्रश्नको उत्तर राजा भन्नेहरूले खोज्न र बुझ्न जरुरी छ । राजतन्त्रपछि अहिलेको सत्र वा त्यतिबेलाको पाँच छ बर्षको बालक यतिबेला बीस, पच्चीसको युवा भएका छन् । ती जहाँसुकै होउन् तर राजतन्त्रको आग्रह किन भन्ने प्रश्न लिएर किनारमा सुन्ने अवस्थामा छन् । तिनीहरू पढ्न पनि र बुझ्न पनि सक्छन् ।
राजतन्त्रवादीले यस्ता प्रश्नको उत्तर दिनु जरुरी छ । भू सामरिक वा इतिहासको धरातलमा वर्तमान र भविष्यको लागि राजतन्त्र आवश्यक किन ? यसको सैद्धान्तिक र व्यवहार लक्षित कारण पुष्टि गर्न सक्नुपर्छ । उद्देश्य प्रस्ट पुष्टि हुनुपर्छ ।
के अहिलेको युगमा राजालाई भगवानको अंश भन्दैमा यसको सत्यता र औचित्य पुष्टि हुन्छ वा जन्ममा आधारित कुनै वंश र जहानिया शासन सत्ताको आवश्यकता पुष्टि गर्न सकिन्छ ? वा राजाहरुलाई धर्मसँग जोड्न हुन्छ र मन्दिर धाउँदैमा कसैलाई धर्मको प्रतीक बन्न वा मानिन सकिन्छ ?
के नेपालको भूराजनीति संवैधानिक राजसंस्थाको लागि सहायक हुन्छ वा भएको छ ? राजा के कारण थिए र के कारण मासियो ? राजतन्त्रमा प्रधानमन्त्रीको हैसियत कहाँ थियो ? शाहाज्यादा र ज्यादीहरुसम्मको ज्यूनार शासन ज्यादतीको वंश जरा,जंजाल कहाँसम्म फैलिएको थियो ? परिवारवादको योभन्दा भद्दा नमूना कहाँ कुन सत्तामा हुन्छ ?
राजालाई राष्ट्र र राष्ट्रिय एकताको प्रतीक भन्ने र बीपी, प्रजातन्त्र वा आलोचनात्मक चेतलाई अराष्ट्रिय तत्व(अत)करार गर्नेहरूले थाहा पाउँदा हुन्छ –राजतन्त्रले ‘अत’ करार गरिएका र भनाइएका कुनै पनि नेताले कालापानी, लिम्पियाधुरा, लिपुलेक वा सरगरमाथाको उत्तरी पानी ढलो अरूलाई सुम्पिएका होइनन् । सुम्पिने पनि छैनन् सायद । हो, अहिलेकाले शासन चलाउन जानेनन् र भ्रष्टाचारमा डामिए तर यिनलाई सुधार्न वा नसुध्रिए उखाल्न यही पद्धतिमा सम्भव छ । जनताको हातमा छ ।
पहिले राजतन्त्रमा रमाउने र अहिले राजतन्त्र ब्यूत्याउने ध्येयले संवैधानिक राजसंस्था भन्नेहरूले यो तथ्य बुझ्न आवश्यक छ कि संवैधानिक राजसंस्थाको माग नेपालमा पुरानो हो । नेपाल आधुनिक समयमा प्रवेश गरेसँगै खोपीमा बन्दी राजा मुक्त भएको हो र त्यतिबेलैदेखि संवैधानिक राजसंस्था होस् वा बसोस् भन्ने राजनीतिक अपेक्षा सार्वजनिक भएको हो ।
अहिले फर्कन चाहने राजतन्त्रलाई त्यो जनअपेक्षा किन मान्य भएन ? मानिएको भए के राजसंस्था जान्थ्यो ? तन्त्रको लिप्सामा चुर्लुम्म डुबैकै कारण तन्त्र त रहेन नै कथित संस्थासमेत समूल सदाको लागि गयो । ‘जबर्जस्ती’ राजा बनाइएको अन्तिम राजा नै यी परिघटनाका शतप्रतिशत जिम्मेवार भए ।
नेपालका अग्रणी चिन्तक बीपी कोइरालाले सम्पूर्ण राजनीतिक जीवन संवैधानिक राजसंस्थामा उसको भविष्य, औचित्य र स्थायित्व दर्शाउनुभयो । यो सत्य राजा र जनतालाई समेत बुझाउन स्वजीवन एवं चिन्तन लगाउनुभयो । किन त्यो सत्य मानिएन ? बीपीलाई नौ वर्ष उसैले थुन्यो । आठ वर्ष प्रवासमा लखेट्यो । अहिले बीपीलाई उद्धृत गर्दै राजाको औचित्य खोज्नेहरूले यो बुझ्नु र उत्तर दिनसक्नु पर्छ ।
एउटा कुरा बीपी निरपेक्ष राजावादी वा राजतन्त्रको नभएर प्रजातान्त्रिक, संवैधानिक राजसंस्थाको पक्षधर हो । बीपीको लेख, अन्तर्वाता र कृतिबाट यो कुरा बुझिन्छ । ‘जनतासँग आफूलाई सँगै नराख्ने वा सँगै नठान्ने राजालाई जनताले पनि हटाइ दिन्छन्’भन्ने विषयमा बीपी स्पष्ट हुनुहुन्छ र यो बोल्नुभएको पनि छ । उहाँको सन्देश, सहयोगलाई आत्मसात नगर्दा नै वा बुझ पचाएर जनताको सार्वभौम स्वघोषित शासक हुने अहंकारको प्रतिफल राजा फालिएका हुन् ।
राजा वीरेन्द्रको शासनावधिको अलग समीक्षा हुनुपर्छ । तर उनको वंश नासपछि राजनीतिक दल वा नेपाली नागरिकले ‘जबर्जस्ती’ सिंहासनमा आसीन गराइएका ज्ञानेन्द्रको 'देखिने र सुनिने राजा' बन्ने महत्त्वाकाक्षा यतिबेला पुनः जागृत हुन खोजेको मात्र हो । ज्ञानेन्द्र कसरी सिंहासनारुढ भए वा परित्यक्त गरिए ? यो प्रश्नको इतिहास खोज्नुपर्छ ।
मेरो पुस्ताले निरंकुश राजशाही बेहोरयो । त्यसका विरुद्ध लड्यो पनि । तैपनि म बीपी चेतनाबाट प्रशिक्षित संवैधानिक राजसंस्थाकै पक्षमा थिएँ । तर, राजाहरू नै त्यो सम्मान मान्न र लिन तयार देखिएनन् । सधैँ तन्त्र चलाउन उद्यत देखियो र हाम्रो मान्यता बदलियो । अर्थात्, तन्त्र जनताको हुन्छ राजाको मानिदैन भनियो । हाम्रो पुस्ता प्रजातन्त्र भनियोस् कि लोकतन्त्रको उपज हो ।
भारतको दिल्लीबाट ससम्मान फर्काइ ल्याइएका राजा त्रिभुवनले ‘अब नेपाली जनताले चुनेको वैधानिक संस्थाले बनाएको संविधानअनुसार शासन हुने’ सार्वजनिक प्रतिज्ञा गरे । तर त्यो प्रतिज्ञा उनले कहिल्यै पूरा गरेनन् । किन ?
उनीपछि राजा भएका उनका जेठा छोरा महेन्द्रले त प्रथम जननिर्वाचित संसद् नै विघटन गरिदिए । 'कु' गरे । जनताले चुनेको पहिलो सरकारलाई सेनाको बलमा जेलमा थुने । त्यतिबेला राजा महेन्द्रलाई भारतका प्रधानमन्त्री जबाहरलाल नेहरुले अति सम्मानपूर्वक चिठी लेखे–‘मैले त प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वको सरकार विघटन गर्नमात्र भनेको थिएँ तपाईंले त जननिर्वाचित संसद् नै विघटन गरिदिनु भयो... ।’ यो चिठीको सन्देश बुझ्न आवश्यक छ ।
नेपालमा राजतन्त्र चलेन । मैलै त हामीकोमा संवैधानिक राजसंस्था पनि सहज र सम्भव देखेको छैन । त्रिभुवनको बोलीबाटै सुरु अभ्यास गरिएको भए सम्भव हुन्थ्यो कि ? तन्त्र, जनता र छिमेकी पनि यस कालक्रममा यही मान्यता र परम्परामा अभ्यस्त बन्थे कि ? त्यो चरण गुज्रियो ।
अब त सम्भव छैन । खोपीबाट मुक्त गरिएपछि परम्परा बनाएको राजातन्त्रको लालसालाई भनिन्छ नि ‘रगत खाएको बाघ जस्तो’ जिब्रो ललपाउने भइसकेको छ । भनिने संवैधानिक राजसंस्था भूराजनीतिक कारण पनि निरंकुश राजतन्त्र नै बन्ने रहेछ, बनेको छ ।
किनभने स्वतन्त्र शालीन विवेक र विचार बोल्नसमेत ‘भित्ताको पनि कान हुन्छन्’ भनेर मुख थुनिएको र भयदोहनमा परेको बन्दी अनुभवी वा पुस्ता हो हाम्रो । अरू त इतिहासले नै खुलस्त गर्नेछ ।
दिल्ली, जबाहरलाल नेहरू संग्रहालयमा सुरक्षित राजा महेन्द्रलाई नेहरूले लेखेको उक्त चिठी प्रदीप गिरिको प्रेरणा र पदमबहादुर थापाको सहयोगमा नयाँ पत्रिकाले छापेको छ । यो चिठी नेपालमा संवैधानिक राजसंस्था सम्भव भएन वा अब पनि सम्भव र सहज छैन भन्ने संकेत पनि हो ।
थप भूसामरिक रणनीति नेपालमा चर्किएको छ । उत्तर, दक्षिण हाम्रा दुवै छिमेकी विश्वशक्ति स्पर्धामा दौडिँदै छन् । यस्तो दौडको थर्को यहाँको राजनीतिमा पर्नेछ । राजावादीहरू दक्षिणी थर्कोले यहाँको राजनीतिलाई दबाबमा पारेको प्रचार गर्छन् । तर, उनीहरू नै यतिबेला चाहिँ त्यही दक्षिणको धार्मिक हिन्दुत्वको सहस्रोतको थर्कोमा राजा फर्काउने खुला गफ सगर्व गर्छन् पनि ।
चीन पनि नेपाली मामिलामा चुप लागेर टुलुटुलु हेर्ने अवस्थामा छैन । विश्वका अरू शक्तिको पनि चासो छ । यही चासोमा आआफ्नो स्वार्थ पूरा गर्न शक्ति राष्ट्रले राजाहरूलाई दुरुत्साहन गरेको देखिने इतिहास खुला छ । तब राजसंस्था होइन, अनि यस्तै दुरुत्साहनको शक्तिमा राजतन्त्र बनेको, बनाइएको हो ।
कार्यकारी प्रमुखको प्रत्यक्ष चुनावमा कसरी शक्तिशाली भिड्छन् भन्ने जान्न माल्दिम्समा हालै सम्पन्न निर्वाचन पढ्दा बुझिन्छ । त्यहाँ भारत र चीनबीचको भीडन्त परम्परा रोचक वा शासकीय सोच निर्धारण गर्न शिक्षा प्रदायक साथै यस क्षेत्रमा चीनले आफ्नो भूमिका निश्चित गर्न चाहेको पनि बुझिन्छ । अनि बुझिन्छ शक्तिसम्पन्न कार्यकारीलाई आफ्नो पार्ने शक्ति प्रपञ्च । नेपालको निरंकुश राजतन्त्र यसैको परिणाम थियो ।
शक्तिशालीहरूको बुझिने रणनीतिक छिर्का हाम्रो राजनीतिमा पर्छ र परेको भनिन्छ । संवैधानिक राजसंस्था भन्नेहरूले भएका दुरुत्साहन वा इतिहासको पृष्ठभूमिमा राजासंस्थालाई अब फर्काउन सम्भव छैन र संवैधानिक राजसंस्था पनि सहज भएन भन्ने मान्दा हुन्छ ।
खासमा यो धरातलीय सत्य बुझ्न र फर्कन उद्यत वा दुरुत्साहित पारम्पारिक राजा ज्ञानेन्द्रले स्वीकार्न जरुरी छ । यो सत्य पहिल्यै बुझेर व्यवहार गरेको भए, जनता सार्वभौम स्वीकारेको भए, निर्विवाद सम्मानित बसेको भए राजसंस्था जाने नै थिएन । जब गयो परिवर्तन आयो । परिवर्तनको गति उल्टो छैन । पश्चात्ताप सिवाय केही बचेन ।