site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पोखरामा प्रभाव बढाउन भारत र चीनको प्रतिष्पर्धा !
Sarbottam CementSarbottam Cement

पोखरा । भारतीय र चिनियाँ दूतावासको कार्यक्रम जुधेको केही महिनालगत्तै पोखरामा फेरि चीन केन्द्रित अर्को खेल गतिविधि भएको छ । गएको असार ६ गते चीनबाट पहिलो पटक चार्टर्ड विमान आउने घोषणा पहिल्यै भइसकेको थियो । 

पहिलो अन्तर्राष्ट्रिय उडान आउने भनेपछि सम्बद्ध सबै तहका सरकारदेखि संस्थाहरु पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउने पहिलो अन्तर्राष्ट्रिय विमानलाई स्वागत गर्न आतूर थिए ।

चिनियाँ ऋण लगानीको यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान पनि उसकै थियो, २०८० को असार ६ मा ।  यसमा चिनियाँ एक्जिम बैंकको १ अर्ब ३७ करोड ८७ लाख ४० हजार यूयान ऋण परेको छ । उक्त ऋण २० वर्षभित्र तिर्नुपर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो दिन विश्व योग दिवस मनाइन्छ । संयोग नै भनौँ, जुन २१ तारिखमा पहिलो अन्तर्राष्ट्रिय विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपूर्व नै भारतीय दूतावासले पनि पोखरामा अर्को कार्यक्रम राख्यो ।

त्यो थियो, अन्तर्राष्ट्रिय योग दिवस । यसअगाडि संघीय राजधानी काठमाडौंमा मनाइने योग दिवसलाई भारतीय दूतावासले पनि पोखरामा सा¥यो ।

Global Ime bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि, सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरे । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए ।

सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले यो दिवसप्रति समर्थन जनाए । 

सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । त्यसअघि, नेपालमा माघ १ मा योग दिवस मनाउने गरिन्थ्यो । उक्त महासभापश्चात् नेपालमा पनि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउने गरिएको छ ।

यही दिन चिनियाँ दूतावासको कार्यक्रम र भारतीय दूतावासको कार्यक्रम एकैदिन मात्र साढे दुई घण्टाको फरकमा आयोजना गरे ।

भू–राजनीतिमा चासो राख्नेहरुले त्यतिबेलै भनेका थिए, “दुवै देशले पोखरामा आफ्नो प्रभाव जमाउन चाहन्छन् ।”

अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको लगानी छ भने पोखरामा नै ६ दशकदेखि भारतीय पेन्सन क्याम्प छ । चीनले त्यतिबेला पोखरामा आयोजित ‘चिनियाँ ड्रागन बोट रेस फेस्टिभल’ मा सहभागी खेलाडीहरुलाई लिएर आएको थियो । 

त्यसपछि कात्तिक २२ गते एकै दिन दुई चिनियाँ कार्गो विमान पोखरामा अवतरण भए । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिपछि चीनले नेपाललाई दिएको राहत लिएर चिनियाँ सेनाका २ कार्गो विमान विमानस्थलमा अवरतण भएको थियो । 

त्यसपछि पोखरामा अन्तर्राष्ट्रिय विमान पोखरामा अवतरण गरेका छैनन् ।  तर, यही हप्तामात्रै पोखरामा अर्को अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ ।  हिमालय एयरलाइन्सको जहाजले चिनियाँ धावकसहितको टोली लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगिताका खेलाडी लिएर उक्त विमान आएको थियो ।  हालसम्मका पोखरामा अवतरण भएका चार अन्तर्राष्ट्रिय उडानमध्ये चीनकै तीनवटा उडान छन् । ती सबै उडान कुनै न कुनै गतिविधिसँग सम्बन्धित छन् ।

ड्रागन बोट रेस फेस्टिभल जस्तै चीनकै कुन्मिङ नगर आयोजक रहेको अर्को खेल ‘वार हर्स नेपाल पोखरा माउन्टेन क्रसकन्ट्री कम्पिटिसन, २०२३’ पोखरामा नै भएको छ ।

उक्त प्रतियोगिता सकिए पनि यहाँको वृत्तमा भने चिनियाँ गतिविधिले स्पेश पाइरहेको विश्लेषण हुन थालेका छन् । गत शनिबार पोखरामा ‘पोखरा इन्टरनेशनल माउन्टेन क्रस–कन्ट्री कम्पिटिसन’ सम्पन्न भयो । 

चिनियाँ राजदूत छन सङ पनि प्रतियोगिताको समापन समारोहमा उपस्थित भएर खेलाडीलाई पुरस्कार वितरण गरे । यसअघि ‘ड्रागन बोट रेस फेस्टिभल’मा पनि उनको उपस्थिति थियो । पछिल्लो समय चिनियाँ गतिविधिहरुमा सहजै रुपमा पोखरा राजदूत आउने गरेका छन् । 

पोखरालाई अन्तर्राष्ट्रिय खेलकुदका रुपमा प्रचार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको र यसले दुई देशबीचको सम्बन्ध अझै सुदृढ हुने कार्यक्रमका संयोजक विश्वशंकर पालिखेले पत्रकार सम्मेलनमा बताएका थिए ।

तर, कूटनीतिज्ञहरु भने खेलकुद गतिविधिमार्फत् चीनले पोखरालाई केन्द्र बनाएर प्रभाव बढाउन खोजेको बताउँछन् । चीनले हालैमात्र गण्डकी प्रदेशसँग जोडिएको कोराला नाका खुला गरेको छ । 

कोराला नाका खुल्नासाथ गण्डकी प्रदेश त्रिदेशीय व्यापारको केन्द्र बन्ने सम्भावना रहेको नेपाल उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष आनन्दराज मुल्मी बताउँछन् । त्यसकारण चीनले पोखरालाई चासोमा राखेकोे विश्लेषकहरुको भनाई छ । मुल्मीले केही समयअघि पोखरा, चीन र भारतको भू–राजनीतिक चपेटामा पर्ने बताएका थिए ।

पोखरामा पेन्सन क्याम्प रहेको भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुको कारण भारतले युद्धलाई पनि हेर्छ भन्ने उनको तर्क छ । पोखरामा भारतीय चहलपहल सक्रिय रुपमा देखिनु र चीनकै लगानीमा पोखरामा नै विमानस्थल बन्नुमा नेपाल भूराजनीतिक स्वार्थको चपेटामा परेको विश्लेषण उनको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् उदघाटन भएको ६ महिना भइसक्यो । करिब २८ अर्ब रुपैयाँ चिनियाँ ऋणमा निर्मित विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

विमानस्थल संचालन हुनासाथ भारतको वाराणसी र दिल्लीलगायतका सहरमा उडान भर्ने तयारी गरेका विमान कम्पनीहरु भारतले अनुमति नदिँदा यत्तिकै रोकिएका छन् ।  पोखराबाट सीधा हवाइ उडान अनुमतिका लागि उड्ने बाटो चाहिन्छ । नेपालले अनुमति पाएको रुट सिमरामात्रै हो ।

अर्कातर्फ पोखरामा भारतीय पेन्सन क्याम्प स्थापना भएको पनि झण्डै ६३ वर्ष भइसकेको छ ।  पोखरा १० मा रहेको उक्त क्याम्पमा सेनाका मेजरसहित करिब ७० जनाको डफ्फा रहन्छ । त्यसअतिरिक्त उसले गण्डकीका विभिन्न जिल्लामा पेन्सन वितरण गर्न भनी शिविर सञ्चालन गर्छ ।

पोखरामा चीनको अर्बौँ लगानी हुनु, चीनको कार्यक्रमकै दिन भारतीय दूतावासले कार्यक्रम जुधाउनुलाई विश्लेषकहरु भारतीय र चिनियाँ प्रभाव बढाउने प्रतिस्पर्धाका रुपमा पोखरा ‘एक्सपोज’ भएको बताउँछन् ।

राजनीतिक विश्लेषक विश्व सिग्देल चाहिँ चिनियाँको ठूलो ऋण लगानी भएको यो विमानस्थललाई चीनले नै व्यावसायिक तरिकाले उडान हुन नदिनेतर्फ उन्मुख भएको बताउँछन् ।

“दुईवटा कारणले चीनले यो विमानस्थल नचलोस् भन्ने चाहेको छ । तपाईंलाई नौलो लाग्ला । चीनले चलाइदिने भयो, चार्टर्ड जहाज आउने भएर यहाँ हल्ला भइरहेका छन्” सिग्देल भन्छन्, “तर, चीनको नियत के छ भन्दा यो एयरपोर्ट नचलोस्, यसले ऋण तिर्न नसकोस् । त्यसपछि कुनै न कुनै प्रकारले ऋणीमाथि दबाब र एक किसिमले ‘ब्ल्याकमेलिङ’ गर्न पाइयोस् भन्ने चिनियाँ रणनीति दुईटा घटनाले पुष्टि हुन्छ ।”

उनका अनुसार विमानस्थल उद्घाटनका दिन चिनियाँ राजदूतले यो विमानस्थललाई ‘बीआरआई प्रोजेक्ट’ हो भनी भनेका थिए । 

तर, विमानस्थल निर्माणको सम्झौता भइसकेको वर्षौँपछि मात्रै बीआरआईमा सम्झौता भएको हो । अब, ‘बीआरआई प्रोजेक्ट’ भन्ने बित्तिकै भारतले नाका दिँदैन ।  चिनियाँ जहाज यो विमानस्थलमा अवतरण गराइरहेका छन्, त्यसले पनि भारत सशंकित हुने भयो ।

“पोखराको हकमा हामीले जे कुराको शंका गरेका थियौँ, त्यो पुष्टि भएको छ” उनले भने ।

उनका अनुसार, केही दिनअघि मात्रै राहत बोकेर आएको चिनियाँ कार्गो विमान काठमाडौंमा अवतरण हुनुपर्ने थियो । किनभने जाजरकोटका भूकम्प पीडितका लागि सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनेको थियो । त्यसका लागि चीनबाट आउने सामान काठमाडौंमा झनुपर्ने र त्यहाँबाट प्रभावित क्षेत्र पुग्नुपर्ने हुन्थ्यो ।

तर, चीनले भने पोखरा विमानस्थलमा नै राहत सामग्री झारेर जाजरकोट पठाइएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement