site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रशिक्षकबिना क्रिकेटमा अब्बल ‘कञ्चनपुर’

महेन्द्रनगर । राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ । यहाँ क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय खेलाडीले स्वयंसेवक प्रशिक्षकका रुपमा काम गर्दै आएका भरमा प्रतिभावान् खेलाडी उत्पादन निरन्तर हुँदै आएको छ ।

पछिल्लो समय कञ्चनपुर घर भएका राष्ट्रियस्तरका खेलाडीहरुले गरिरहेको उत्कृष्ट प्रदर्शनले गृहजिल्लामा क्रिकेटप्रतिको माहोल थप उत्साही छ । जिल्ला खेलकुद समितिअन्तर्गत १७  विभिन्न खेलका प्रशिक्षक हाल कार्यरत रहे पनि क्रिकेटले भने यहाँ प्रशिक्षक देख्नसमेत पाएको छैन ।

कञ्चनपुर क्रिकेट संघका अध्यक्ष वीरेद्रबहादुर चन्दले पछिल्लो समय जिल्लाभर क्रिकेट खेलको गतिविधिले तीव्रता पाउँदै गएको बताए ।  कीर्तिमानी खेलाडी दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, भीम सार्की र विनोद भण्डारीजस्ता अन्तर्राष्ट्रिय रुपमै परिचित खेलाडीको गृहजिल्ला कञ्चनपुरमा क्रिकेटको भौतिक संरचनाको अवस्था सामान्य भए पनि गतिविधिले भने बढावा पाएको उनको भनाइ छ ।

सुदूरपश्चिमको नौ जिल्लामध्ये कञ्चनपुर क्रिकेट उत्पादनको केन्द्रका रुपमा परिचित पनि छ । हाल महेन्द्रनगरमा क्रिकेट संघको समन्वयमा सिनियर खेलाडीले स्वयंसेवक प्रशिक्षकका रुपमा खेलाडी उत्पादन गरिरहेका छन् । संघका अध्यक्ष चन्दले विभिन्न पालिकामा क्रिकेट प्रतियोगिता ससंघसँग समन्वयमा भइरहेको जानकारी दिए ।

“क्रिकेटको चर्चापछि पनि यहाँ खेलप्रतिको आर्कषण बढ्नुका साथै सबैतिर पालिकाको समन्वयमा गतिविधि बढेका छन्”, अध्यक्ष चन्दले भने, “नौवटै पालिकामा स्थानीय तहसँगको समन्वयमा क्रिकेट प्रशिक्षणलाई अगाडि बढाउने गरी योजना बनाएका छौँ ।”

जिल्ला खेलकुद विकास समितिको परिसरमा क्रिकेट मैदान निर्माणको काम चालु आर्थिक वर्षमा भने अघि बढ्न सकेको छैन । संघका अध्यक्ष चन्दले रातो किताबमा परेको क्रिकेट मैदानलाई अघि बढाउन चालु आवमा सरकारले बजेट विनियोजन नगरेको गुनासो गरे । 

“जिल्लामा अन्यत्र पनि केही ठाउँमा क्रिकेट मैदान बनाउने सुरसार देखिए पनि सदरमुकामको निर्माणाधीन मैदान अलपत्र छ”, उनले भने, “क्रिकेटप्रति नयाँ खेलाडीको आर्कषणलाई पनि हामीले ध्यान दिएर सोहीअनुसार संरचना निर्माणदेखि खेलकुद सामग्रीको व्यवस्थापन गर्नुछ ।”

चीनमा सम्पन्न १९औँ एशियाली खेलुकदमा टी–२० किक्रेटमा कञ्चनपुरका खेलाडी दीपेन्द्रसिंह ऐरीले मंगोलियाविरुद्धको खेलमा ऐतिहासिक कीर्तिमान बनाएका थिए । ऐरी हाल नेपाल प्रहरीको क्रिकेट टिमका कप्तानसमेत हुन् । गत भदौमा नेपालका तर्फबाट एशियन कपमा भारत र पाकिस्तानसित उत्कृष्ट प्रदर्शनपछि पनि मुलुकमा क्रिकेटको माहोलले बजार पाएको बुझाइ छ ।

अध्यक्ष चन्दका अनुसार महेन्द्रनगरमा अहिले वडास्तरीय क्रिकेट प्रतियोगिता जारी छ । बेदकोट, कृष्णपुरको गुलरिया, पुर्नर्वासमा समेत संघसँगको समन्वयमा क्रिकेट आयोजना भएको बताए । 

त्यसका साथै वडा कार्यालयको अग्रसरतामा शुक्लाफाँटा नगरपालिका–१ र भीमदत्त नगरपालिका–१२ मा समेत ठूलो धनराशिको क्रिकेट आयोजना भइसकेको छ । “नेपाली जुनियर र सिनियर टिममा सुदूरपश्चिमको उपस्थिति राम्रै रहँदै आएको छ”, अध्यक्ष चन्दले भने, “ खेलाडीको उर्वरभूमि भए पनि मलजल राज्यबाट भएन ।”

कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुर जिल्लाले अहिलेसम्म पनि केन्द्रबाट क्रिकेट प्रशिक्षक नपाएको बताए । “राष्ट्रिय खेलकुद परिषद्बाट  हामीले अहिलेसम्म क्रिकेट प्रशिक्षक देख्न नपाए पनि राज्यका लागि प्रतिभावान् खेलाडी दिइरह्यौँ”, उनले भने, “तर यहाँका सिनियर खेलाडीले लामो समय स्वयंसेवक प्रशिक्षक भएर खेलाडी उत्पादनलाई निरन्तरता दिनुभयो ।”

कञ्चनपुरमा हाल विभिन्न खेलका १७ प्रशिक्षक कार्यरत छन् भने ३१ संघ दर्ता छन् । पछिल्लो समय यहाँ स्थानीय तह र वडा कार्यालय नै अग्रसर भएर क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका छन् । रासस
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro