
काठमाडौं । सेभियाका रक्षक सर्जियो रामोसले २९औँ रातो कार्ड व्यहोरेका छन् । आइतबार राति स्पेनिस ला लिगामा सेभिया रियाल सोसिडाडसँग २–१ ले हारेको थियो । सोही खेलमा रामोस सोझै रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका हुन् ।
स्पेन तथा रियाल मड्रिडका पूर्वस्टार रामोसले सोसिडाडका ब्राइस मेन्डेजलाई ‘ट्याकल’ गरेपछि ८८औँ मिनेटमा रातो कार्ड व्यहोरेका थिए । त्योसँगै रामोस ला लिगा इतिहासमा सबैभन्दा धेरै रातो कार्ड व्यहोर्ने खेलाडी बने । ला लिगामा रामोसले दोस्रो स्थानमा रहेका अगुएडोभन्दा तीनपटक धेरै रातो कार्ड व्यहोरेका छन् ।
ला लिगामा रामोसले व्यहोरेको यो २१औँ रातो कार्ड हो । सोसिडाडविरुद्ध रामोसको पक्षमा उत्रिएपछि सेभियाका विंगर जेसस नाभासले पनि रातो कार्ड पाएका थिए । ३८ वर्षीय नाभासको यो करियरकै पहिलो रातो कार्ड हो ।
रामोस २१औँ शताब्दीमा सबैभन्दा धेरै रातो कार्ड पाउने फुटबलर समेत हुन् । उनले आफ्नो फुटबल करियरमा हालसम्म २९ रातो कार्ड पाएका छन् । रामोसपछि रफाइल माक्र्वुजले २१ र फिलिपे मेलोले २० पटक रातो कार्ड व्यहोरेका छन् ।