site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रतिस्थापन बजेट विधेयक कोसी प्रदेशसभामा पेस

विराटनगर । कोसी प्रदेशसभामा प्रतिस्थापन बजेट विधेयक *पेस भएको छ ।

बैठकमा ‘कोसी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोसी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोसी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आज पेस भएको हो ।

सो प्रस्ताव मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नियावली, २०७४ को (पहिलो संशोधनसमेत) नियम ९३ को उपनियम १ बमोजिम सदनमा पेस गरेका थिए ।

Argakhachi Cement Island Ad

प्रतिस्थापन विधेयकअनुसार चालु आवका लागि कुल रु ३६ अर्ब ७० करोड ८७ लाख २५ हजार बजेटमा पुँजीगत खर्च रु २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र चालु खर्च रु १६ अर्ब ३१ करोड ३६ लाख ४३ हजार विनियोजन भएको छ । बजेटमा रु तीन करोड ४७ लाख ८५ हजार थप व्ययभार हुने उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकको औचित्य र उद्देश्यमाथि प्रकाश पार्दै जनताको आवश्यकता र समस्यालाई समाधान गर्नेगरी बजेट विनियोजन गरेको दाबी गरे । समानुपातिक र प्रत्यक्षतर्फ सांसदलाई मर्का नपर्ने गरी प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई समेटिने गरी बजेट ल्याएको भन्दै उनले विकास र समुन्नत प्रदेशको यात्रा प्रारम्भ भएको दाबी गरे ।

मानवपुँजीलाई उच्च प्राथमिकतामा राखी गरिबी निवारण गर्नेतर्फ बजेट केन्द्रित भएको बताउँदै उनले राजस्वको आयव्ययमा सामान्य परिमार्जन गरेको जानकारी दिए ।

सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट परिमार्जन गरी पूर्वमुख्यमन्त्रीले समावेश गरेको महत्त्वपूर्ण योजनामा कुनै फेरबदल नगरी रु २० लाखभन्दा मुनिका योजना हटाई अरू योजनाका लागि स्रोतको सुनिश्चितता गरेको उनले जानकारी दिए ।

प्रदेशसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ । रासस

*सच्याइएको ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्