
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखीले परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेपालको दुई दिने भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका उनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा साउदसँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशका मन्त्रीबीच रोजगारी, व्यापार तथा लगानी, विकास सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदानलगायत साझा हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइ गर्ने सम्झौतामा पुग्न कतारले खेलेको मध्यस्थताको भूमिकाको प्रशंसा गरेका थिए ।
परराष्ट्रमन्त्री साउदले हमासले बन्धक बनाएका नेपाली नागरिक विपीन जोशीलाई छिट्टै रिहा गर्न कतारसँग आग्रह गरेका थिए ।
विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए ।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीलाई यथाशीघ्र रिहाइका लागि सहयोग गर्ने आश्वासन दिएका छन् ।