
काठमाडौं । प्रहरीले उपत्यका भित्रिने नाकाहरूमा चेकजाँचमा कडाइ गर्न थालेको छ । व्यवसायी दुर्गा प्रसाईंले ७ मंसिरदेखि उपत्यकामा प्रदर्शन गर्ने घोषणा गरेसँगै प्रहरीले उपत्यका भित्रिने नाकाहरूमा चेकजाँचमा कडाइ गरेको हो ।
उपत्यका प्रवेश गर्ने प्रर्दशनकारीहरूले अवैध हतियारसमेत ल्याउन सक्ने आशंका गर्दै प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । त्योबाहेक प्रहरीले उपत्यकाका विभिन्न होटल तथा पार्टी प्यालेसहरूमा समेत नयाँ मानिसको आवतजावतबारे सर्च गर्न थालेको छ ।
प्रहरीले स्रोतले भन्यो, "प्रसाईंको अभिव्यक्ति उत्तेजित पार्ने खालको छ । कोही प्रदर्शनकारीले लाठी भालासमेत ल्याउन सक्ने आशंका हाम्रो हो । त्यसैले हामीले नाकादेखि होटलसमेत सर्च गर्न थालेका छौँ ।"
तर, हालसम्म उपत्यकामा शंकास्पद कुनै मानिसको प्रवेश नभएको प्रहरीको भनाइ छ । प्रसाईंले प्रदर्शन घोषणा गरेकै दिन नेकपा (एमाले)को युवा संघले समेत विरोध कार्यक्रम राखेको छ ।
प्रसाईं र युवासंघको कार्यक्रममा मुठभेडको अवस्था सिर्जना हुन नदिन प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं प्रसाईंलाई बल्खु र युवा संघको कार्यक्रम तीनकुनेमा गर्न अनुमति दिएको छ ।