site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

काठमाडौंमा दुईवटा समूहले एकै दिन एकै स्थानमा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि सरकारले एक महिनाका लागि सिंहदरबार र संसद् भवनको आसपास निषेधाज्ञा जारी गरेको छ । टिकटकमाथि प्रतिबन्ध लगाएपछि नागरिक स्वतन्त्रताविरुद्ध यो अर्को निषेध हो ।

हुनत, दुई विरोधी समूहको भिडन्त रोक्ने यो सजिलो उपाय हुनसक्छ । तर, एक दिनको प्रदर्शनबाट हुनसक्ने अशान्ति रोक्नका लागि महिना दिनसम्म विरोध प्रदर्शन गर्न नपाउने आदेशको औचित्य पुष्टि गर्न सकिँदैन ।

नेपालको संविधान, २०७२ ले अभिव्यक्ति र संगठनको अधिकार प्रत्याभूत गरेको छ । यसैले टिकटकमाथि प्रतिबन्ध लगाउने वा विरोध प्रदर्शनमा रोक लगाउने सरकारी रवैया संविधान तथा लोकतान्त्रिक संस्कारविपरीत हो । सरकार भने संविधान मिच्न हिचकिचाएन । 

प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सरकारका मन्त्रीहरू विशेषगरी  नेकपा ९माओवादी०का नेताहरू केही दिन यता व्यवस्था नै सङ्कटमा परेको कोकोहोलो मच्चाइरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रमा सङ्कट भने सरकारकै क्रियाकलापबाट मात्र परेको देखिएको छ ।

संविधानमै प्रत्याभूत नागरिकका मौलिक अधिकार कुण्ठित गरेर लोकतान्त्रिक पद्धति जोगिन सक्दैन । संविधानका भावना र मर्मको मर्यादा रहेमात्र लोकतन्त्र सुदृढ हुने हो । सरकारको नेतृत्व गर्नेहरूले इतिहासको यो सामान्य सार्वभौम सत्य पनि नबुझेको त नहुनुपर्ने !

एक दिन गरिने प्रदर्शनमा सम्भावित झडप रोक्न केही घन्टाको निषेधाज्ञा नै पर्याप्त हुनुपर्ने हो । प्रदर्शनकारीबाट हुनसक्ने अराजकता रोक्न प्रशासनले तयारी गर्नु त पर्छ तर यसरी ‘निहुरोलाई बन्चरो’ भनेजस्तो गर्नु संविधान र लोकतन्त्रमा प्रहार गर्नु हो ।

अहिले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध सानो समूह मुखर बनेको देखिन्छ । निर्वाचनमा जनताबाट अस्वीकृत यस समूहलाई ‘हौवा’ बनाउने मूर्खता मन्त्रीहरूले नै गरेका हुन् । अहिले जारी एक महिने निषेधाज्ञामा पनि त्यही मूर्खता दोहोरिएको छ । 

शासकहरू ‘निकम्मा’ भए भने सत्तामा टिकिरहन काल्पनिक ‘शत्रु’ र ‘षड्यन्त्र’को हौवा फैलाउँछन् । अहिले पनि जनताको हितमा केही गर्न नसकेपछि सरकारले ‘स्वतन्त्रता’लाई शत्रु र जनताको आवाजमा षड्यन्त्र देख्न थालेको सन्देश जनमानसमा पुगेको छ ।  

सरकारले बदनियत राखेरै नागरिक स्वतन्त्रतामा अतिक्रमण गर्न थालेको हो भने नागरिक स्तरबाटै त्यसको विरोध पक्कै हुनेछ । यी निर्णयहरू हतास मानसिकतामा गरिएका मूर्खता हुन् भने सकेसम्म छिटो सच्याएर सरकारले जनताको विश्वास आर्जन गर्ने प्रयत्न गरोस् ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro