दिलकुमार लिम्बू
ताप्लेजुङ । जंगलको बीचमा वर्षौंदेखि व्यावसायिक चौँरीपालन गर्दै आइरहेका छन्, मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जंगलको बीचमा एकोहोरो कुकुर भुकेको आवाजमात्रै सुनिन्छ । चकमन्न जंगलको बीचमा छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क । कलकल सुसाइरहेको हिमाली खोल्सो । चाँदीजस्तै टल्किने हिमालका चुचुरा नियाल्दै उनको दिन बित्छ ।
शेर्पाको पुर्ख्यौली पेसा चौँरीपालन हो । तर उनी केही समय पुर्ख्यौली पेसालाई छाडेर होटेल व्यसायमा लागे । उनले संखुवासभा जिल्ला र काठमाडौं गरी १३ वर्ष होटेल सञ्चालन गरे । उक्त व्यवासय गर्दा आफ्नो पुर्खाले गरेको चौँरीगोठ सम्झना आइरहन्थ्यो । उनले भने, “होटेल व्यवसाय मन परेन, बिक्री गरेर पुर्ख्यौली पेसामै फर्किन मन लाग्यो ।”
शेर्पासँग अहिले तोक्पेगोला क्षेत्रमा २५० भन्दा बढी चौँरी छन् । चार वर्ष अगाडि एउटा चौँरी ७० हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्ममा चीनमा निर्यात हुन्थ्यो । कोभिड–१९ का कारणले टिप्ताला नाका बन्द भएसँगै चौँरी बिक्री ठप्प भएको छ । चिनियाँ बजारमा राम्रो मूल्यमा चौँरी निर्यात हुने देखेपछि होटेल व्यवसाय छाडेर चौँरीपालन लागेका शेर्पा अहिले निराश छन् । उनले भने, “होटेल बेचेर यहाँ आइयो । गोठ विस्तार गरे । तर नाका नखुल्दा चौँरी बिक्री हुन छाड्यो ।”
फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका तेन्जिङ शेर्पा चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो । उनको समुद्र सतहबाट चार हजार तीन सय मिटर उचाइको मौवाटारमा गोठ छ । छोराछोरीलाई अंशका रूपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ४० छन् । बाह्र दुहुना छन् । बिहान उठ्नेबित्तिकै एक गिलास दूध चिया लिएपछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ ।
चौँरीलाई चरन क्षेत्रमा पुर्याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्पी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगिसक्छ । साँझ परेपछि छरिएका चौँरीलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म चन्द्रमा उदाइसक्छ । विगत चौँरी र बाछा बिक्रीबाट राम्रो आम्दानी हुन्थ्यो । चौँरी बिक्री नहुँदा आम्दानी पनि छैन । अहिले चौँरीलाई नुन खुवाउनसमेत मुस्किल भएको शेर्पाले बताए । मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रका तेन्जिङनुपु शेर्पा अहिले चौँरीगोठमा चौँरी स्याहार्नमा व्यस्त छन् । शेर्पाले पनि विगत चार वर्षदेखि चौँरी बिक्री गर्न सकेका छैनन् ।
मौवटारमा चार, सिञ्जेमा पोखरी क्षेत्रमा दुई र याङ्मा क्षेत्रमा नौवटा चौँरीको घुम्तीगोठ छ । मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा ३५ गोठमध्ये १७ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिकाका पशु शाखाका पशु प्राविधिक महेन्द्र अधिकारीले बताए ।
ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छन् । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुँदै आएको छ । दैनिक चौँरी चराउँदैमा उनीहरूको दिन बित्ने गर्छ । यहाँका चौँरीको मुख्य बजार चीन हो । चीनमा राम्रो बजार मूल्यमा बिक्री हुने भएकाले हिमाली क्षेत्रका समुदाय चौँरीपालनप्रति आकर्षित हुन्छन् । तर कोभिड–१९ का कारणले गर्दा बन्द भएको टिप्ताला नाका चार वर्षमा पनि नखुल्दा चौँरीपालक चिन्तित बनेका छन् ।
टिप्ताला नाका खुलाउने पहल जारी
कोभिड–१९ कारण चार वर्षयता बन्द रहेको तिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । दुई देशका स्थानीय पदाधिकारीबीच अनौपचारिक भेट गर्दै नाका खुलाउने विषयमा छलफल हुँदै आएको छ ।
गत मंगलबार नेपालको तर्फबाट ताप्लेजुङका फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष रविन साम्रा लिम्बूसहितका पदाधिकारी तथा राजनीतिक नेतृत्व र तिब्बतका पदाधिकारीबीच अनौपचारिक भेट गर्दै टिप्ताला नाका खुलाउनेबारे छलफल भएको छ । तिब्बतका तर्फबाट दिङ्जे काउन्टी जिल्लाका डिएसपी दावाछिरिङ लामा, इमिग्रेसन पुलिस अफिसर टासी थुन्डुक, रिउ सहरको टेन्डाङ उपप्रमुख लोप्साङ फिन्जोक र पुलिस अफिसर गुरु छलफलमा सहभागी थिए ।
फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन वालुङको समन्वयमा नाका खुलाउने विषयमा मंगलबार अनौपचारिक छलफल भएको हो ।
दुई देशका स्थानीय पदाधिकारीबीचको भेटमा टिपताला नाका तत्काल खुलाउन पहल गर्ने, द्विपक्षीय व्यापार तथा पर्यटकीय विकास गर्ने विषयमा छलफल भएको छ । छलफलका क्रममा नाका खुलाउन, व्यापार तथा पर्यटन विकास गर्न र टिप्तालाबाट ओलाङ्चुङगोलासम्म सडक कालोपत्रेका लागि सहयोग गर्न चीन सरकार इच्छुक रहेको तिब्बतका तर्फबाट सहभागी स्थानीय पदाधिकारीले उल्लेख गरेको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । कोरोना महामारीपछि बन्द भएको टिप्ताला नाका हालसम्म पनि नखुलेका कारण करिब चार वर्षयता दुई देशबीच हुँदै आएको सीमा व्यापार ठप्प छ । रासस