site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भूकम्प प्रभावित परिवारको अस्थायी आवासको पहिलो किस्ता निकासा

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम आजै (सोमबार) निकासा भएको हो ।

जाजरकोट र रुकुम पश्चिमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो । प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने प्रतिघरधुरी ५० हजार रुपैयाँमध्ये पहिलो किस्ता सोमबार नै निकासा गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिएका थिए ।

उक्त रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्यसम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरिसकिएको छ । भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूचीअनुसारको निवेदन दिएलगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउने प्रबन्ध गरिएको छ । साथै, निर्माण सम्पन्न भएपछि दोस्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्