site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्प पीडितका घाउमा मलम लगाइरहेकी डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्की यतिखेर जाजरकोट र रुकुमका भूकम्प प्रभावित क्षेत्रमा खटिएकी छन् । पेसाले जनरल सर्जन उनी चिकित्सककै रूपमा भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिइरहेकी छन् ।

काठमाडौं र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गएको स्वास्थ्यकर्मीको टोली जाजरकोट भूकम्पको भोलिपल्ट कार्तिक १८ गतेदेखि नै यी दुई जिल्लाका विभिन्न क्षेत्रमा खटिएको छ ।

जाजरकोट जिल्ला अस्पतालबाट सेवा सुरु गरेकी तोसिमाले जाजरकोटको मुख्य प्रभावित क्षेत्र नलगाढ, खलंगा र विभिन्न गाउँमा पुग्दाको अनुभव निरन्तर फेसबुकमार्फत सेयर गरिरहेकी छन् ।

Tosima-4-1700415051.jpg

पछिल्लोपटक उनले रुकुमको आठबिसकोटबाट भूकम्प प्रभावित क्षेत्रको अवस्था  र समस्या उजागर गरेकी छन् । विकट गाउँबासीले मोटरबाटोका कारण पाएको सास्ती, भूकम्पले परिवारका सदस्य गुमाउँदाको पीडा, त्यही पीडाबीचमा विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदाको राहत, भूकम्पको ट्रमा बोकेरै तिहार मनाइरहेका स्थानीयको अनुभवलाई उनले तस्बिरमार्फत देखाएकी छन् । 

उनले आफ्नो अनुभवमा भनेकी छन्– आठबिसकोट १४, ज्यामिरकोट, एकै सानो गाउँको १० वटा घरमा गरी २७ जनाको मृत्यु भएको । धेरै घरहरू पूरै भग्नावशेष भएका, अनि ठडिएका जति कुनै पनि बेला ढल्न सक्ने अवस्थाका ।  हेर्दै कहाली लाग्दो त्यो दृश्य, हिँड्दा हिँड्दै एकै घरको पाँचजना मृत्यु भएको घरमा पुग्यौँ, बाँच्नुभएको छोरा, नाती, अनि बुढी हजुरआमा हुनुहुँदो रहेछ । 

उहाँको ढाडमा ठूलै चोट लागेकोले बस्न उठ्न गाह्रो भन्ने थाहा पाएपछि हामी उहाँलाई भेट्न निकै अग्लो ठाउँमा, त्यहाँबाट थप ३० मिनेट हिँडेर डाँडामा रहेको उहाँको भाइको घरमा पुग्यौँ । 

आमाको ढाडको हड्डी भाँचिएको हुन सक्ने यद्यपि मेरुदण्डको स्नायुमा भने चोट नभएको लक्षण देखी हामीले आमालाई अस्पताल लगेर एक्सरे गर्ने र तत्कालका लागि आराम तथा केही औषधी दियौँ । आमाले आफ्नै आँखा अगाडि आफैँसँग सुतेका नातिनी र छोरीहरूको मृत्यु देख्नुभएको र आफूले निहुरिएर ढाडले छेक्न खोजेको कथा सुनाउँदै 'म पापिनी चाहिँ किन बाँचेँ' भन्दै रुनुभयो । आमालाई सम्झायौँ, अनि उहाँले मलाई जुनी भरीलाई पुग्ने आशिर्वाद र झोलाभरी बारीको सुन्तला दिएर बिदा गर्नुभयो ।

Tosima-1-1700415052.jpg

तोसिमाले एक घर धुरीलाई एक त्रिपाल बाडिँदा जेठाजु–बुहारी, सासु–ससुरा, भाउजु–देवर एकै ठाउँ बस्नुपर्ने भएकाले कतिपय गर्भवती र सुत्केरीले भुइँमै सुत्नुपरेको बताएकी छन् । 

"यहाँ मानिसहरूको घर फुटेको छ, जीवन फुटेको छ, सिउँदो फुटेको छ...। भूकम्पले घर घरमा भाँडाकुँडा, सरसामान सबै फुटाएको छ । जुन देशमा युवाको भविष्य नै चर्किएको छ, चर्किएको भाँडोमा खान्न भनेर काहाँ हुन्छ र...?," उनी भन्छिन् ।

भूकम्प प्रभावित क्षेत्रमै रहेर उनले जाजरकोट जिल्ला अस्पतालका लागि आईसीयू र विशेषज्ञ सेवासहितको अपरेसन थिएटर सञ्चालन गर्न पहल गरिरहेकी छन् । त्यसका लागि आवश्यक सामग्री जुटाउन उनले फेसबुकमार्फत नै आह्वान गरेकी छन् । 

सांसदको रूपमा आफूले पाउने एक महिनाको तलब जाजरकोट जिल्ला अस्पताललाई सामग्री जुटाउन दिने उनको घोषणा छ ।

Tosima-3`-1700415051.jpg

उपकरण जडान गर्न सके ५० बेडेको विशिष्ट सेवासहितको अस्पताल सञ्चालन गर्न सकिने र धेरै बिरामीहरूलाई सुर्खेत, नेपालगन्ज, भेरी, काठमाडौं रिफर गर्नु नपर्ने उनी बताउँछिन् । 

यसको पहल सरकारले नै गर्नुपर्ने भन्दै डा. तोसिमाले भनेकी छन्, "मेरो मनले चाहिँ आफूलाई अर्कै केही सोधिरह्यो आखिर जनताले नेतासँग के नै खोजेका रहेछन् र ? नेताले खाने भात, लाउने लुगा, बस्ने बास, जित्ने भोट, पाउने पद सबै त जनताले नै दिएका हुन् । अनि नेताहरू किन र के का लागि कुन हैसियतले यति दम्भ बोकेका होलान् ? वास्तवमा मालिक त जनता हुन्, नेताहरू सबै सेवक बन्न सक्नुपर्छ ।"

 

Tosima-2-1700415051.jpg

तस्बिरहरू : डा. तोसिमाको फेसबुकबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro