site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
नासा स्पेस एप्स च्यालेन्जमा नेपालबाट दुई टोली ग्लोबल फाइनलिस्टका रूपमा सूचीकृत 

काठमाडौं । नासा स्पेस एप्स च्यालेन्ज २०२३ मा नेपालबाट दुई टोली ग्लोबल फाइनलिस्टका रूपमा सूचीकृत भएका छन् ।

“गत अक्टोबर ७ र ८ मा नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सञ्चालन गरेको नासा स्पेस एप्स च्यालेन्ज २०२३ मा सहभागी टोलीहरूको राष्ट्रिय मूल्यांकन गरी जम्मा सात टोलीलाई अन्तर्राष्ट्रिय मूल्यांकनको लागि सिफारिस गरिएकोमा दुई टोली ग्लोबल फाइनलिस्टका रूपमा सूचीकृत भएको खबरले हामी निकै हर्षित छौँ,” नेपाल एस्ट्रोनोमिकल सोसाइटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोसाइटीका अनुसार कोसी प्रदेशको इटहरी, मधेस प्रदेशको जनकपुर, वाग्मती प्रदेशको ललितपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सञ्चालित कार्यक्रममा सहभागीले नासाले यो वर्ष दिएका ३० मध्ये विभिन्न १८ प्रतिस्पर्धामा ५४ टोलीले काम गरेका थिए ।

टोलीमा ३०५ जना सहभागी थिए । ४५ टोलीले प्रतिस्पर्धा पूरा गरेका थिए । ४५ मध्ये सात टोलीको कामलाई राष्ट्रिय मूल्यांकनमार्फत अन्तर्राष्ट्रिय मूल्यांकनका निम्ति सिफारिस गरिएको थियो । त्यसपश्चात् दुई टोली ग्लोबल फाइनलिस्टका रूपमा सूचीकृत भएका हुन् ।

सूचीकृत हुनेमा धनगढीबाट सहभागी भएको एसएके कसमस र ललितपुरबाट भाग लिएको टोली प्यारोफ्यारो रहेका छन् ।

यो वर्ष १५२ देशका ५७ हजार ९९९ सहभागीले आठ हजार ७१५ टोली बनाएर विभिन्न प्रतिस्पर्धामा भाग लिएका थिए । यीमध्ये पाँच हजार ५५७ टोलीले ह्याकथनको नियमानुसार समयमै आफ्ना प्रस्तावित समाधान नासालाई बुझाएका थिए ।

“यी पाँच हजार ५५६ टोलीमध्ये नासाले जम्मा ४० टोली अन्तर्राष्ट्रिय मूल्यांकनको लागि छनोट गरेकोमा दुई टोली नेपालबाट छनोट भएका हुन्,” सोसाइटीले भनेको छ ।

अब यी ४० टोलीका कामलाई नासाका वैज्ञानिकले विभिन्न १० विधाका विजेताका रूपमा घोषणा गर्न थप मूल्यांकन गर्ने सोसाइटीले जनाएको छ । विजेताको घोषणा आउँदो जनवरी २३ मा गरिनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्