site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शंखधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति : प्रधानमन्त्री

पाटन (ललितपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शंखधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको बताएका छन् ।

नेपाल संवत् ११४४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “सामाजिक न्याय भन्दै गर्दा हाम्रो इतिहासमा गर्व गर्न लायक शंखधर साख्वालाई नसम्झिरहन सकिँदैन । उहाँलाई हामीले राष्ट्रिय विभूति पनि घोषणा गरिसकेका छौँ । उहाँले तत्कालीन समयमा ऋणमोचन गर्ने कामको नेतृत्व गरेर इतिहासमा कीर्तिमान कायम गर्ने काम गर्नुभयो । उहाँको त्यो अभियानसँगै नेपाल संवत् जोडिएको छ ।”

Argakhachi Cement Island Ad

प्रधानमन्त्री दाहालले विगतमा नेपाल संवत् ‘नेवार समुदायको मात्रै हो’ भन्ने गलत भ्रम रहेको चर्चा गर्दै विगतका यस्ता भ्रमलाई अन्त्य गर्नुपर्ने बताए । नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा घोषणा गरिनुपर्छ भन्ने आवाज धेरैतिरबाट उठेको र नेपालीको आफ्नै मौलिक संवत् नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा घोषणामा मात्रै सीमित नराखी सरकारी निर्णयमा पनि विक्रम संवत्सँगै नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय मन्त्रिपरिषद्बाट गर्न पाउँदा आफूलाई गर्वको महसुस भएको उनले बताए ।

प्रधानमन्त्रीले दाहालले भने, “सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विसंसँगै नेसं पनि उल्लेख गर्नुपर्ने निर्णय भएकामा तपाईंहरु सबैलाई बधाई तथा शुभकामना भन्न चाहन्छु । यसले हाम्रो स्वतन्त्रता, समानता, सामाजिक न्यायसहितको राष्ट्रिय स्वाधीनता र हाम्रो आत्मसम्मानलाई फेरि एउटा उचाइमा उठाएको छ, यो हामी सबै नेपालीले गर्व गर्नुपर्छ ।”

प्रधानमन्त्रीले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रित रही उच्च प्राथमिकता साथ काम गर्दै आएको बताए । आजको दिनले नयाँ सन्देश दिने जनाउँदै प्रधानमन्त्री दाहालले नेसं ११४४ को शुभकामना समेत व्यक्त गरे । रासस 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्