
काठमाडौं । सरकारले सोमबार निकै रुचाइएको भिडियो सेयरिङ एप टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गर्यो । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेलगत्तै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दियो । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेर टिकटक बन्द गर्न भन्यो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बाह्रखरीसँगको संवादमा टिकटक आजै बन्द हुने बताएका छन् । "हामीले सेवा प्रदायक कम्पनीहरूलाई खबर गरिसकेका छौँ । एनसेल र एनटीसीलाई पनि भनिसकेका छौँ । उहाँहरूले काम गर्दै हुनुहुन्छ । एक–डेढ घण्टाभित्र काम भइसक्छ होला । आजै बन्द हुन्छ," उनले भनेका छन् ।
अर्थात् नेपालमा अब टिकटक बन्द हुने निश्चित छ ।
कार्तिक २१ गते बसेको सर्वदलीय बैठकले सामाजिक सञ्जाल 'अराजक' बनेको निष्कर्ष निकालेको थियो । त्यही बैठकमा शीर्ष राजनीतिक दलहरूका नेताहरूले सामाजिक सञ्जालमा अश्लीलता, उच्छृङ्खलतामा वृद्धि भएको बताएका थिए ।
त्यसको हप्तापछि सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यद्यपि सरकारको निर्णयको सत्तारूढ दलकै शीर्ष नेताहरूले आलोचना गरिरहेका छन् ।
नेपाली कांग्रेसमा एउटा समूहकै नेतृत्व गरिरहेका नेता शेखर कोइरालाले टिकटक प्रयोगमा रोक लगाउने सरकारको निर्णय खेदजनक रहेको प्रतिक्रिया दिएका छन् । उनले तत्काल निर्णय फिर्ता लिन भनेका छन् ।
"व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक छ । यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह गर्दछु," कोइरालाले ट्विटरमा भनेका छन् ।
कांग्रेसकै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि सरकारको निर्णयको आलोचना गरेका छन् ।
महामन्त्री थापाले त सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएको तर नियमनको नाममा बन्द नै गर्नु सरासर गलत भएको तर्क थापाको छ ।
“यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने, नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा वैयक्तित स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन ।”
अर्का महामन्त्री शर्माले पनि टिकटक बन्द गर्ने सोच नै अलोकतान्त्रिक भएको तर्क गरेका छन् । उनले तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।
उनले ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गरेर लेखेका छन्, "गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने कि जोखिमरहित उपचार खोज्ने ? द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाएर बन्द गर, नो कमेन्ट l तर, एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l यो निर्णय अविलम्ब फिर्ता होस् l"
सत्तारूढ दलसँगै प्रतिपक्षमा रहेका दलहरूले पनि सरकारी निर्णयको विरोध गरिरहेका छन् । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले टिकटक प्रयोगमा रोक लगाउने निर्णयको विरोध गरिरहेका छन् ।
एमालेका महासचिव पोखरेलले नियमनका नाममा प्लेटफर्मनै बन्द गर्ने कुरा उचित नभएको बताएका छन् । नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको तर्क उनको छ ।
"नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन । कन्टेन आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो हो । ध्यान देऊ," उनले भनेका छन् ।
रास्वपाका सभापति लामिछानले पनि सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउन नहुने तर्क राखेका छन् । उनले अराजकता अभिव्यक्तिमा हुन सक्ने र माध्यमको दोष नरहेको तर्क गरेका छन् ।
लामिछानाले सत्तारूढ दलकै नेताहरूले आलोचना गरिरहेको विषयमा पनि प्रश्न उठाएका छन् । "सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीहरूको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?," रविले भनेका छन् ।
राप्रपाका अध्यक्ष लिङ्देनले सरकार निरंकुशताको बाटो हिँडेको टिप्पणी गरेका छन् । टिकटक बन्द गर्ने सरकारको निर्णय निरंकुशताको बाटो भएको उनको भनाइ छ ।
“प्रजातन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूल्ठूला ध्वाँस दिनेहरूबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ । यो निर्णय निरंकुशताको बाटो हो,” उनले भनेका छन्, “कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुन सक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ । तर, त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न ।”
अन्य विभिन्न संघसंस्था तथा सरोकारवालाले टिकटक बन्द गर्ने निर्णयको आलोचना गरेका छन् ।