तिहार पनि नेपाली सबैले आआफ्नै चलनअनुसार मनाउने चाड हो । यसैले ‘यम पञ्चक’ भनिने पाँच दिन मनाइने यस पर्वलाई ‘दीपावली’ वा ‘भाइटीका’ मात्र भनेर पुग्दैन ।
बहुसङ्ख्यक नेपालीले तिहारका पाँच दिन काग, कुकुर, गाई, गोरु र भाइको पूजा गरेर मनाउँछन् । यसैबीच लक्ष्मीपूजा र दीपावली गरिन्छ भने नेवार समुदायको ‘ह्म’पूजा पनि हुन्छ ।
दसैँमा टीका लगाएजस्तै तिहारमा विभिन्न पशुपंक्षीको पूजा गर्ने पनि नेपालीको मौलिक चलन हो । भारतमा हिन्दुहरूले भने मूलतः लक्ष्मीपूजा र दीपावली गरेर यो पर्व मनाउँछन् ।
त्यसो त तिहारमा जुवा खेल्ने र पटाका पड्काउने पनि गर्छन् तर द्यौसी र भैलो खेलेर मनोरञ्जन गर्नु तिहारको अर्को मौलिक विशेषता हो । यिनै चलनहरूले तिहारलाई नेपालीको राष्ट्रिय पर्व बनाएका छन् ।
नेपाली तिहारको मौलिक विशेषतामा भाइटीका र ‘ह्म’ पूजा पनि पर्छन् । भाइटीकाको सन्देश भारतमा मनाइने ‘राखी’को भन्दा नितान्त फरक हुन्छ भने ह्म पूजा त सम्भवतः नेपालका नेवारले मात्र गर्छन् ।

जाजरकोट भूकम्पका पीडितको अवस्था अझै कष्टकर नै छ । सरकारले जे दाबा गरे पनि सहायता वितरण प्रभावकारी हुनसकेको छैन । यस्तो स्थितिमा बाँकी देशमा पर्वको उल्लास कम हुनु स्वाभाविकै हो ।
चाडपर्वका कारण भूकम्पपीडितलाई आवश्यक सहयोग उपलब्ध गराउने काममा असर नपरोस् भन्नेमा सम्बन्धित अधिकारीले विशेष ध्यान दिउन् । कम्तीमा तिहारका कारण उनीहरूको कष्ट नबढोस् ।
हाम्रा पाठक, शुभेत्छुक, विज्ञापनदाता, सहकर्मीलगायत सबै नेपालीका लागि २०८० को तिहार सुखद र मङ्गलमय होस् भन्ने शुभकामना !