
युवा साहित्यकार डा. रामकृष्ण आचार्य ‘विशेष्य’को ‘आदिबिम्ब’ कथासंग्र्रहले नेपालका राउटेहरूको जीवनगाथालाई प्रस्तुत गरेको छ । कृतिभित्रका कथाले अझै पनि मानिसको जंगली अवस्थाको चित्रण गर्दै वर्तमान समयलाई ढुंगेयुगमा पुर्याएको छ ।
नेपालको पश्चिमी क्षेत्रका जंगलमा बसोबास गर्ने राउटे त्यसैलाई आफ्नो प्राणतत्त्व सम्झिँदै जीवन गुजार्न बाध्य छन् । राउटेहरूले किन जंगललाई आफ्नो सर्वस्व सम्झेका छन् ? जीवनको आदि र अन्त्य किन जंगललाई नै सुम्पिन्छन् भन्ने तथ्यलाई कथाकारले खोज तथा अन्वेषण गरी जनसमक्ष ल्याउने प्रयास गरेका छन् ।
राउटेका जीवनशैलीका विभिन्न आयाम अर्थात् जन्मदेखि मृत्युसम्म गरिने कर्मकाण्ड, रीतिरिवाज, रहनसहन, लवाइखवाइ र जीवनका भोगाइलाई ज्यादै नजिकबाट नियालिएको छ ।
आज पनि राउटेहरू सबै दृष्टिले आदिम कबिलायुगमै छन् । यिनै राउटेहरूको आजको लवाइखवाइ, रहनसहन, जीवनशैली, वेशभूषा, विवाह, व्रतबन्ध, खानपान आदि संस्कार, संस्कृति र तिनका विश्वास मात्र होइन, तिनीहरूको आर्थिक व्यवस्थापन एवम् त्यस क्रमका कबिला मुखियाका आर्थिक शोषण, उत्पीडनका तथ्यहरू पनि आचार्यका कथामा आएका छन् ।
दैलेखको दुल्लुवरिपरि वडलम्जी, छड्ने, गल्लापानीको जंगल, सिल्खाना, रातीमाटा, नाउलाखोला, गडाजिउला, पाँचिला स्थानतिरको पारिवेशिक बिम्बहरूको चित्रण, वर्णन, स्थानीय रङ, गन्ध उतार्दै त्यही सेरोफेरो र नजिकको जंगलका बसोबास गर्ने राउटेका समग्रताको अध्ययन यसमा समाविष्ट कथाहरूमा पाउन सकिन्छ ।
कथाकार, अन्वेषक तथा लेखक डा. आचार्यको प्रस्तुत संग्रहभित्र राउटेको बिहे, मुखिनीको मृत्यु, अँध्यारो यात्रा, राउटे र जंगली प्रेम, राउटे नाच, राउटे र डर, राउटेको मगनी, हाते मिटर, हृदयको आवाज, राउटे पूजा, विसंगत जीवन, बलात्कृत विधवा, राउटे जागरण, अनौठा मान्छे अनौठा गुण, बासी समाचार, आदिमानव, निर्वस्त्र छाउ, सम्पादन र दूरर्शन र राउटे शीर्षकका कथाहरू समेटिएका छन् ।
राउटेसँगको संवादका क्रममा नेपाली भाषाको प्रयोगमा उनीहरूको आफ्नैपन पाइन्छ । जस्तो, ‘क्या हेर्न आयाका हुनन् ? आयाका आयै छन्’ आदि ।
कुनै आर्थिक स्रोत नहुने, केवल काठका भाँडा बनाएर बेच्नुबाहेक र जाडो, गर्मी जहिले पनि शरीर अर्धनग्न अवस्थामा राख्नुपर्ने — चाहे ती सुत्केरी हुन् वा बिरामी — रोबोटको युगमा ढुंगाले हानेर बाँदरको मासु खाएर जीविकोपार्जन गर्नुपर्ने अवस्था समेतको चित्रण गरिएको छ ।
पहिलो कथा नै राउटेको बिहेबारी बारेमा छ । जसभित्र केटी माग्न जाँदा केटाकेटीले एकार्कालाई मन पराएको हुनु नपर्ने, पुरानो नाता सम्बन्ध, मित्रताभन्दा पनि खसीको मासु, रक्सी, महजस्ता मिठा खानेकुरा कोसेली लिएर गएपछि केटी दिने कुरा पक्काजस्तै हुने राउटे समाजको परम्परा ‘राउटेको मगनी’मा वर्णन गरिएको छ ।
‘मुखिनीको मृत्यु’ कथामा अधबैँसे मुखियाले १२ वर्षकी बालिकालाई बिहे गर्नु, छोरा नभए स्वर्गको ढोका बन्द हुन्छ भन्ने सोच राख्नु र त्यसैका निमित्त चिन्तित हुनु र प्रयत्न गर्नु, मुखिनीले गर्भधारण गर्दा खुसी भएर छोरो होस् भनी मुखियाले भगवान्सँग प्रार्थना गर्नु, तर छोरी जन्मिँदा भित्रभित्रै कुँडिनुले त्यहाँको वस्तुस्थिति बताउँछ ।
त्यति मात्र नभएर दोस्रो सन्तान पनि छोरी नै जन्मिँदा मुखियाले आवेशमा आएर ‘छोरीलाई घाँटी निमोठेर मारिदेऊ’ भन्नु, पुरुषप्रधान पितृसत्तात्मक सोचले पुरातन सामन्ती संस्कार र परम्परा रहेको एवम् पराजित मानसिकताका साथ वन पसी जंगली भएका राजा, महाराजाका सन्तान हुन् भन्ने विषय प्रस्तुत गर्न खोजिएको देखिन्छ ।
‘जंगली प्रेम’मा पनि प्रेमविवाह र विवाहपूर्वको शारीरिक सम्बन्ध प्रतिबन्धित भएको र त्यस्तो भएमा चारपाटा मुडी बस्ती घुमाउने परम्परा र बन्द संस्कारको चित्रण गरिएको छ ।
त्यसैगरी, ‘हाते मिटर’मा राउटेहरू वस्तु विनिमयबाट मुद्रा विनिमयमा उक्लिसकेको स्थितिको चित्रण छ । यति भए पनि हात र बित्ताले नाप्ने नेपाली समाजको पुरान परम्परा आज पनि राउटेहरूमा यथावत् रहेको कथा झल्किन्छ ।
राउटको जीवनशैली वा परम्परामा बिहे गरिदिएपछि दुलहादुलहीलाई नयाँ छाप्रो बनाइदिने र पति मरेपछि विधवालाई बस्तीभन्दा उल्टो दिशातिर फर्केको छुट्टै छाप्रो बनाइदिने परम्परा पनि कथामा पढ्न पाइन्छ ।
‘बलात्कृत विधवा’मा आफ्नी पत्नीबाट सन्तान नभएपछि ‘मइर नामक’ राउटेको मुख हेर्न नहुने भनी बस्तीभन्दा अर्कै दिशातर्फ दैलो फर्काइएकी विधवागमनको वर्णन छ ।
यति मात्र नभएर असिना अर्थात् झन्झावातले राउटे बस्ती आक्रान्त हुनु, आँधीहुरी र वर्षाले राउटेका राउटी उजाडिदिनु, बस्तीमा भेल पस्नु, बस्तीमा रुवाबासी मच्चिनु, सुत्केरी मुख्यानीका टाउकामा असिनाले हिर्काउनु, चिसो पानीले कठ्यांग्र्रिएर मृत्यु हुनुलगायत अनेक प्रसंग कथामा प्रस्तुत छ ।
आदिमानवकै रूपमा रहेका राउटेहरू हुक्का प्रयोग गर्छन् वा गर्न सक्दैनन् स्पष्ट छैन । राउटेहरूमा भाग्यवादप्रति विश्वास छ । छाउपडी प्रथा छ । धनबहादुर राउटेपुत्र नभएर कुनै नवधनिक वर्गको बिग्रेको सहरिया गुन्डापुत्रजस्तो लाग्छ ।
बिहे आदि कर्ममा मुखियाबाट ऋण लिने परम्परा, मुखियाले ऋणी मात्र नभएर सबलाई आफ्नो काममा दलाउने, ऋणका नाममा शोषण गर्नेजस्ता परम्पराको चित्रण कथामा छ ।
नेपालको झारा टराइयुक्त अनुपयोगी सैद्धान्तिक शिक्षा तथा उच्च शिक्षणमा संलग्न आभिजात्य संस्कृतियुक्त शिक्षकको हेपाहा व्यवहार ‘दर्शन र राउटे’ कथामा प्रस्तुत गरिएको छ ।
राउटेहरू जंगलमा छँदा शासनसत्तामा बसेकाहरूसँग पटकपटक भएको भेट, राउटेहरूले मागेको पैसा, प्लेन खर्च मागेर बसमा फर्केको, रक्सी पिएको, पक्की घर बनाइदिने, केटाकेटी पढ्ने विद्यालय बनाइदिने भन्दा घुमन्ते जीवन फेरेर एक ठाउँमा बस्न नचाहेको, बच्चा पढाउन नचाहेको प्रसंग पनि यसभित्रका कथाहरूमा छन् ।
समग्रमा नयाँ विषयवस्तुयुक्त यो संग्रहले नेपाली साहित्यको कथा विधामा नयाँ स्वाद प्रदान गरेको निर्बाध भन्न सकिन्छ ।