site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिन्तामा

राती निद्राबाट ब्यूँझदा पनि ढ्याङ्ग्र्रो ठोकेको आवाज आइरहन्थ्यो, झर्को लाग्थ्यो । ब्यूँझेपछि कति निदाउन खोज्यो त्यो दिन निद्रा बिग्रन्थ्यो । त्यसैले होला चिन्तामा जान भनेपछि पटक्कै रहर हुँदैनथ्यो ।

मध्यरातसम्म अनिँदा विचारहरू मनभित्र खेल्न थाल्थे, बितिसकेका अनेक कुराहरू पनि बिजुवा साइँलाका घरको ढ्याङ्ग्र्रोले सम्झाई–सम्झाई ल्याउँथ्यो ।

पोहोर साल डाँडापारि पातली मरी । पछि हो–होइन, हल्ला चल्यो उपचार पुगेको भए बाँच्ने रहिछे भन्थे । सुन्दा त धोका नै भयो सबैलाई । सालघारी जेठा–बूढा कुँजिएका कुँजिएकै कहिले हिरिक्क जाने हुन् पत्तो छैन ।

यस्ता अनगन्ती अरू पनि छर–छिमेकमा बेवास्ता नै मर्दैछन्, कष्ट कटाइरहेका छन् कोही सहाराहीन भएर, कोही पर्वाह नगरेर ।

सम्झेँ, हामी धेरै बुद्धिमान, विवेकी भइटोपल्छौँ, धर्मको सर्वज्ञ नै हुन खोज्छौँ, तर आफ्नो विवेक यस्ता सहाराहीन निमुखाहरूको अघि कर्ममा सक्रिय रूपले कहिल्यै अघि सारेका हुँदैनौँ ।

धेरै होइन, पाँच–पाँच रुपियाँ चन्दा उठायो भने सहजै यस्ता असहायहरूको सेवा पुरÞ्याउन सकिन्छ, थोपा–थोपा मिलेर सागर बन्छ, थोपा–थोपा मिलेर बनेको सागरले महासागरको रूप लिन्छ, त्यस्तै हामी पनि त्यही मिश्रित जमातका थोपा हाँै भन्ने सोचाइहरू मनभित्र खापिन थाले ।

जे होस् यी सबै कुराहरू छोड़ी बिजुवा साइँलाको अवस्था भने अझ सोचनीय थियो । महीनामा तीनचोटि ढ्याङ्ग्र्रो ठोकिन्थ्यो ।

बिजुवानी साइँली भन्थिन्, “ओझा–बिजुवा, माता र जरीबुट्टी गर्ने जति सकेँ । भए भरको झिटिमिटी साइँलाकै उपचारमा बेच बिखन गरेँ । पार लाग्छ कि भनेर चिने जानेका धेरै ठाउँ लगियो, ‘सास छउञ्जेल आश’ भनेर सक्दो त गरेकै छ तर आजसम्म कसैको हात मिलेको छैन । अब साइँलाको एउटा ढिप्पी छ त्यो चाहिँ पुरÞ्याउन बाँकी नै छ । सत्र माइलमा एउटा उपट्यको झाँक्री छ अरे, ढुङ्गाबाट पानी निकाल्छु भन्छ अरे, साँच्चै चौपटका धेरै बिमारीहरू च्वाट्टै पार्यो अरे । उसलाई छ महीना त बनझाँक्रीले लगेको अरे । एकपल्ट चाहिँ लगाई हेरौँ भनेको, तै खालो सार्ला कि ? त्यो पनि ठाउँ फेरी–फेरी बस्छ अरे ।”

साइँलीका सबै कुरा सुनेँ, हुन पनि उनको नाक–कान बुच्चै र रित्तै देखिन्थे । कति ठाउँ कुदून् एक्लो हुटिट्याउँ धन्य हो सगर थामिएको छ । बिमार के हो ? आजसम्म कसैले ठहर गर्न सकेका छैनन् ।

डाक्टरको दवाई–पानी परे पो भित्री बिमार थाहा हुन्थ्यो, धामी–झाँक्रीले देखेको भन्छन् कहाँ फलाफल हुन्थ्यो र । कसैले आठाने भन्छन्, कसैले दोबाटे त कोही सिद्ध । आ–आफ्ना जोखाना हुन्छन् ।

गाउँ–घरमा कसैका केटा–केटी बिमारी भए, ए जाओ–जाओ साइँला बिजुवालाई बोलाओ, खत्रक्क आइपुग्थे । साह्रै हल्का भुवा जस्तो मान्छे । रात–साँझ, जाडो–गर्मी, थकाइ उनमा केही थिएन । गाउँ–घरको पेवा झैँ थिए ।

केटा–केटी, तरुणी–तन्देरी र बूढा–बूढी सबैमा उनको अक्षेता परेको थियो, सम्झेँ, ‘बत्तीको मुन्तिर अँध्यारोँ’ भनेझैँ सबैलाई उपकार गर्ने साइँलाकै आज यो हालत ?

दिन–दिनै बिजुवा साइँला अझ सिकिस्त हुँदै जानथाले । घरमा केटा–केटी सानै, कताकता कुदून् बिचरी साइँली । साइँलाको एउटा ढिप्पी पुरÞ्याउन साँच्चै सत्र माइलमा झाँक्री लिन पठाइन् भन्ने खबर सबैमा व्यापक बनेर हल्ला चल्यो ।

सन्ते भन्थ्यो— आज दिउँसो तीन बजी झाँक्री आइपुग्छ । सत्र माइलको झाँक्री कम्तीको लरतरो होइन । यस्ता बिमारी कति च्वाट्टै पारेको अरे । ल्याउन चाहिँ साह्रो रहेछ । एक दिन घरमा बस्दैन अरे । बनझाँक्रीले छ महीना लगेको पनि भन्थे । उपट्यको चौपट छ अरे ।

अस्ति बिजुवानीले पनि भनेको आज यो सन्ते पनि तारिफ गर्छ, चिन्ता भनेपछि अल्छी लाग्ने मान्छे म, एक विचारले सम्झेँ– छर–छिमेक त्यो पनि साइँला बिजुवाको उपचार ।

कतिकतिलाई उनले उपचार गरे, अर्कोतिर सानैदेखि बनझाँक्रीको कथा सुनेको । दुई–चार घण्टाभित्रैमा बनझाँक्रीको चेलो देख्न पाइने इच्छाले बेलुकाको चिन्तामा जाने अठोट गरेँ ।

चहल–पहल निकै वरैबाट थाहा भयो । निकै चहल–पहल रहेछ, बाटामा सन्ते बडो जोशमा आउँदै रहेछ, घुङ्रिङ्ग अहिले चाहिन्छ । लिएर आ’को । झाँक्री आइपुग्दा त घुङ्रिङ्ग झाँक्रीस्याउला मागिहाल्छ ।

हो, सन्ते आज सायद झाँक्रीको ढोले हुने होला, यस्तो उस्तो गर्न निकै सिपालु छ भन्छन् । थानमा राख्ने कुरा, मन्साउने कति बेला हो, झाँक्रीको बोली उ अरूभन्दा सजिलै बुझ्छ ।

जे होस् चाहिन्छ यस्तो मान्छे पनि, आज सन्तेले सियोको काम दिने रहेछ । उ जस्तै साथीहरूसँग भन्थ्यो, “झाँक्रीलाई झुक्याई झुक्याई थानमा राखेको रक्सीको बदल झिक्ने काममा उ निपुण छ । झाँक्री पारु गएको बेला गर्ने दस्तुर उ रिट्ठो बिराउँदैन ।”

मधौरुको उपचार त नाम मात्रै । त्यहाँ जम्मा भएका दुई–चारजना बूढा–बूढी छोडेर सन्ते जस्तै अरूलाई त त्यो उपचारको जमघट अधिवेशन जस्तो मात्र लागेको त्यहाँको वातावरणले बताउँथ्यो ।

यता धनमाया कुलवीरसँग इत्रिन्थी, उता सन्तमाया बले भेनासँग । मलाई मधौरुको अवस्था हेर्ने इच्छा भयो । गएर बिजुवा साइँलाको अनुहार हेरेँ । इशाराले बस भन्दै उनले मलाई बसिदिने आग्रह गरे ।

साँच्चै त्यसै दिन नियालेर राम्ररी हेरेँ, सिट्ठा भइसकेछन् । हात–खुट्टा फ्याँकेर भन्थे, “बाँच्दिनँ होला भाइ म ।” आँखा रसाएर मतिर हेरे ।

“केको मर्छौ साइँला । दिन नपुगी कहाँ त्यसै मर्छ र, फेरि झाँक्री पनि उपट्यको– चौपट रहेछ । छ महीना बनझाँक्रीले लगेको पनि अरे । गर्ला नि त उपचार ।”

उसको अघि म सन्ते सरह भइदिएँ । बाहिरको वातावरण त्यस्तै छ जस्तो पहिले थियो, मधौरुलाई आफ्नै चिन्ता छ अरूलाई त्यहाँ मनोरञ्जनको साधन जस्तो मात्र थियो त्यस दिनको चिन्ता !

बनझाँक्रीको चेलो कस्तो होला ? भन्ने उत्सुकता ममा सेलाएकै थिएन, माथि डाँडामा सल्याङ–सुलुङ मान्छे देखिएपछि त्यहाँ पर्खिरहेका सबैका आँखा उभैतिर घुम्नथाले । माथि डाँडामा आएपछि रहरमा कसैले बजाएको ढ्याङ्ग्रोको आवाजले झाँक्री आएको प्रस्ट भयो ।

सानैदेखि बनझाँक्रीको कुरा सुनेकाले होला त्यो चेलोले मलाई निकै प्रभावित बनाइसकेको थियो । केही क्षणमा घरमा आइनपुगी बाटादेखि नै दस्तुरअनुसार गौंडा–गौंडामा झाँक्रीको सम्मान वातावरणअनुसार भव्य रूपमा गरियो ।

त्यस वातावरणले मेरो मनमा साँच्चै यो झाँक्री उपट्यको नै रहेछ कि ? भन्ने विश्वास बढ्न थाल्यो ।

चिन्ताको सामग्री मिलाउँदा, झाँक्री तयार हुँदा निकै समय लाग्ला भन्ने सम्झी थान राखेको कोठामा न्यानो ठाउँ रोजी चिन्ता हेर्न बसेँ । मान्छे निकै भेला भएका थिए, साँच्चै अधिवेशन झैँ थियो ।

झाँक्रीले एकपल्ट साइँला बिजुवाको उपचार कस–कसले गर्यो भनी सोधपुछ गर्यो र सबै उपचार गर्नेहरूलाई त्यहाँ बेकामे बनायो । सबै कुरा गरिसक्दा साइँला बिजुवा र त्यहाँ बस्ने सबै जनाका मनमा पक्कै यो झाँक्रीमात्र एउटा भावी कहाँबाट आएछ भने जस्तो भयो ।

त्यस झाँक्रीले सबैका अघि आफ्नै हाँडी सर्कायो । सबै आफ्नै गफ र रवाफमा व्यस्त थिए, यता बीच–बीचमा कहिले झाँक्रीले ढ्याङ्रो बोकेर चौपटसँग उफ्रिएको बेला त्यहाँ भएका सबैको ध्यान भङ्ग हुन्थ्यो, बीच–बीचमा ढोले अघि सरेर “लौ परमेश्वर, साँचो–साँचो कहिदिनु पर्यो” भन्दै गरेको सुनिन्थ्यो ।

ढोलेको त्यो भनाइले लाग्थ्यो– झाँक्रीले पनि बेला–बेला ढाँट–छल पो गर्छन् कि ? केही क्षण अघिको हामी जस्तै मान्छे ऐले त परमेश्वर नै भएछ भन्ने मनमा सम्झेँ, ठीकै हो अहिले उसको आङ्मा देउता चढेको छ, ख्याल ठट्टा, हँसी–दिल्लगी उसँग गर्नुहुँदैन ।

भएभरको शक्ति प्रयोग गरेर उसले गजो उठाएर हिर्कायो भने ? यस कुराले ममाथि अझ बनझाँक्रीको प्रभाव बढ्यो ।

त्यस दिनको चिन्तामा मैले बनझाँक्रीको सम्पूर्ण विवरण सुनेँ । बनझाँक्रीले आफ्नो चेलो लाँदा खून खोट केही नलागेको सक्कली मात्र लान्छ अरे भनेको पनि सुनेको थिएँ, मान्छेलाई बनझाँक्रीले लगेको भनेर थाहा भएपछि डर मान्नु पर्दैन अरे, पछि ल्याइदिइहाल्छ अरे ।

समय अनुसार जुन ठाउँबाट लगेको छ त्यही ठाउँमा ल्याएर छोडि़दिन्छ अरे । फेरि बनझाँक्रीले आफ्नो चेलोलाई आफूमा भएको सम्पूर्ण विद्या सिकाउँछ अरे । आफ्नो चेलो सधाउँदा झाँक्रीलाई एउटा ठूलो आपत्तिको सामना गर्नुपर्छ भन्थे कारण झाँक्रिनीले कहाँ कतैबाट त्यो चेलोको पत्तो पाई भने खानलाई जोड–जुलुम गर्छे अरे ।

त्यस समयमा झक्रिनीदेखि आफ्नो चेलो जोगाउन झाँक्रीलाई ज्यादै आपत्ति पर्छ अरे । रात–साँझ चौबीसै घण्टा त्यस समयमा ठाउँ सारीसारी चेलोलाई लुकाउनु पर्दा उसको कुदिकुदाइ हुनेगर्छ अरे ।

बनझाँक्रीले फलाकेको कुरा बुझ्न पहिले पहिले चेलोलाई निक्कै गाह्रो पर्छ अरे । झाँक्रीले लगेपछि उतै के–के गरेर लठ्याउँछ अरे, आफ्नो गाउँ–घर, आफन्त घर– छिमेकी सबै भुलेको हुन्छ अरे, केही थाहा हुँदैन अरे ।

त्यहीँ नै आनन्द हुन्छ अरे, राती–राती गाउँ–घरमा पत्तै नदिई गोठमा गई लैनु गाईको दूध दुहेर आफ्नो चेलोलाई खीर खुवाउँछ अरे । यी सम्पूर्ण कुरा त्यस दिनको चिन्तामा सुनेँ ।

अचम्भ लाग्यो– बनझाँक्री हो नै रहेछ मान्नै पर्ने, थुप्रै हुँदा रहेछन् झाँक्री पनि बनझाँक्री, रिझाँक्री, लट्टेझाँक्री, सुनाझाँक्री, काठेझाँक्री, अझै भुइँफुट्टा पनि हुन्छन् अरे ।

तर भुइँफुट्टाको चैँ गुरु हुँदैन अरे । बनझाँक्रीको कुरा सुन्दा मलाई यस्तै के–के हुन्छ ? त्यस्तै के–केको सम्झना केही दिनसम्म मेरा मस्तिष्कमा आइरह्यो तर मेरा जिज्ञासाको समाधान भने हुन सकेन ।

हप्ता दिनपछि म आफ्नो कामबाट घर फर्किरहेको थिएँ । घाम लाग्दा–लाग्दै भिजाउने पानीबाट जागिर गरी स्यार्र पानी पर्यो । छेउको घरमा ओत लागेँ, अरू एक–दुईजना पनि त्यहाँ थपिए ।

एउटाले भन्यो, “ए ! अहिले भर्खर साइँला बिजुवा पनि सकिएछन् ।”

अर्कोले के भनेर सोध्दै थियो राम्रो निधो पाइनँ तर मेरो मनमा भने बनझाँक्रीको अनुहार झल्झली आइरहेथ्यो ।

(‘कथा–बिम्ब’बाट)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro