पुरानो कुरामा अचेलका मानिसहरू खासै चासो राख्दैनन् । किनभने न त्यो पब्जी हो त न कमेडी हुन्छ । मानिसको लत सोसल मिडियामा छ जसबाट हामी को हौँ, के थियौँ, कहाँ छौँ, के भयौँ केही पत्तै हुँदैन । तर, सबै बुझ्न, जान्न र थाहा पाउन त आवश्यक छ ।
तिहार, भाइटी का, दिपावली, यमपंचक जे भने पनि यो पर्व परिवारमा प्रेम, धन, सम्पत्तिको आर्जन, सिर्जना, र संचय एवं मानिसको आरोग्य सुःख, समृद्धिसँग जोडिएको छ ।
सुन्दा कथा जस्तो लाग्छ मेरो हजुरमुमाले भन्नुभएको त्यो बेला तिहारमा मानिसहरू परिवारकै सहमतिमा चाँदीका सिक्का बोरामा राखेर घोडालाई बोकाएर कौडी, जुवा तास खेल्न जान्थ्ये रे ! त्यो बेला कल ब्रेक, म्यारिज थिएन । हामी जान्ने बेलामा पप्लु भन्ने सुनेका थियौँ । हामीले पनि तिहार सकिएपछि ठूला एकादशीसम्म मानिसहरूले जुवा खेल्ने गरेको देखेका हौँ । कसैकसैले तासले बुढेसकालमा डिप्रेसन तथा डिमेन्सियाबाट मानिसलाई जोगाउँछ पनि भन्छन् । जेहोस्, तिहारमा जुवा विशेष मानिन्छ ।
यमपंचक सुरु भएपछिका पाँच दिन धुमधामले तिहार मनाइन्छ । हाम्रो समाजमा तिहार मनाउने चलन फरक फरक छ । फूल, माला, फलफूल, ओखर, नानाथरीका परिकार, रोटी, कटुस,बयर, दुबो, मखमली, गोदावरी फूल घर सजावट, सरसफाइ आदिलाई विशेष महत्त्व दिइन्छ ।
तिहारको 'टीको नखाई लगाउने दसैँको टीका खाएर लगाउने' पनि भनिन्छ । तिहारलाई नितान्त परिवारभित्र मनाइन्छ । मान्यजनबाट नभई आफ्नै दाजुभाइ दिदीबहिनीबीच टीका लगाइन्छ र दीर्घायु तथा सुस्वास्थ्यको कामना गरिन्छ । प्रसाद र दक्षिणा प्राप्त हुन्छ । भाइमसाला भन्ने चलन पहिला थिएन । यो पछि भित्रिएको चलन हो । पहिला पहिला त सेल, अर्सा, अनरसा, फिनी, खिउनी, झिलिगां आदि दिने चलन थियो । आजकल सबै बजारको प्याकेटले भरिएको छ । मानौ, तिहार पनि फेसबुक, टिकटकमामनाइने हो ।
तोरण टाँग्ने, ठेकीको बिर्कोलाई चामलको पीठोमा चोपेर गाई, गोरुको शरीरमा छाप लगाउने, गोबरको गोर्बधन पर्वत बनाएर पूजा गर्ने, घरको दैलोमा तेलको धारा दिने, मखमली, सुपारेजस्ता थुंगे फूलको माला सियोले उनेर बनाउने गरिन्थ्यो । तिहारमा भैलो खेलेर पैसा जम्मा गरी 'कराई' (मंसिरमा घरबाहिर अमलाको बोटमुनि बसेर पकाएर) खाने चलन थियो । केराका सुत्लामा बातेको बत्तीमा घरकै तोरीको तेल हालेर दीपावली गरिन्थ्यो । पछि मैनबत्ती आयो ।
देउसी भैलोमा नेपालीपन थियो, उत्ताउलो थिएन । देउसी भैलोबाट उठेको पैसा भोज खान होइन सामाजिक काममा लगाइन्थ्यो । आजकल जस्तो म्युजिक सिस्टम, ड्रम, गितार थिएन मादल नै काफी हुन्थ्यो । भैलो गीत, भाखा भद्दा थिएन । देउसी भैलोमा अनुशासन थियो । छाडा थिएन । सबैले स्वागत गर्थे । आजकल यो सबै हराएकोछ ।
तिहारमा गुन्द्री, काम्लो, राडी ओछ्याएर घरमै परिवारका वरिष्ट सदस्यले कौडी, तास खेलेको हेर्नु अर्को मजा थियो । जितौरी पाइन्थ्यो । अहिलेजस्तो मोबाइलमा पिङ्ग खेल्नुपर्ने थिएन । घर गाउँमा स्वस्थ मनोरञ्जन थियो । जुवा हारिन्छ भनेर घरका वयस्क पुरुषले कर्कलोको गाभा र मस्यौराको तिहुन पनि खाँदैनथे ।
तिहारमा दसैँदेखि लामो बिदा हुन्थ्यो । चारैतिर फूलैफूल, पिङ्ग अनि धानका बाला खेतभरि झुलेका, अम्बा, सुन्तला बोटभरि फलेका हुन्थे र वनभरि कटुस हुन्थ्यो । टिप्न जाने चलन थियो । बनमा आफैँ झरेका कटुस भेटिन्थ्ये । त्यो तिहारको मजा नै अलग थियो ।
अहिलेको तिहार बनावटी छ । सहरिया छ । मनाउने तरिका पनि बनावटी छ । मिठाइ, महँगा गहना, रंगोली, पटाका ,प्लास्टिकका माला, बत्ती, ध्वजापताका, झिलीमिली बत्ती, सारी लहँगा, भाइमसला छन् तडकभडक छन् आत्मीयता छैन ।
अमेरिका पुगेका एकजना साथीले भन्दै थिए यहाँ गुँढ, चाकु, भेलीलाई छ्या भन्नेहरू उता पुगेर मोलास भन्दै सक्कर, खुदो, भेली, गुँढ खान्छन् रे ।
धर्म, संस्कृति, परम्परा जोगाउँदा अर्थतन्त्र पनि जोगिन्छ । चाडबाड तडकभडक नगरी मान्ने, सरल, सादा, शुद्ध जीवन चलाउने हो भने चाडबाड बोझ हुँदैन । घरगाउँकै चिजबस्तुले पुग्छ, आयातित सामान किन्न पर्दैन ।
घरगाउँमा फलेका मौसमी फलफूल, हलुवाबेद, सुन्तला, अम्बा, केरा, अमला, बयर भए पुग्छ । आयातित काजु, देसीबदाम, छोडा, दाख चाहिँदैन र तिहार सस्तो हुन्छ बोझ हुन्न । चाडलाई आयातित बस्तुको प्रयोग गर्ने सोचले आर्थिक बोझ बढेको हो, ऋण बोकाएको हो ।
पटाका पड्काएर टोलटोलमा ध्वनि प्रदूषण, वायु प्रदूषण गर्ने, पैसा विदेश पठाउनेजस्ता कामले चाड पर्व बिगार्ने र सदभाव खलबल्याउने हुनाले रोक्नुपर्छ । हामी र हाम्रो देश कला, परम्परा, संस्कृति जोगाउनुपर्छ ।
'तिहार आयो जुवा फुक्यो' भन्ने चलन थियो रे । देशभित्र क्यासिनो खोलिएपछि सधैँ जुवा हुन्छ । अहिले त हामी पनि 'बाह्रमासे' भएका छौँ । हजुरबाले तिहारमा जुवा खेल्न चाँदीका मोहर बोरामा राखेर घोडामा बोकाएर जाने गर्थे भन्नुको अर्थ बाह्रमासे थिए भन्ने होइन । त्यो बेलाविशेषमा मात्र हो सधैँ होइन । कमाउने र रमाउने तरिका र समय हुन्छ ।
अभिभावकले नै जुवा खेल्न पठाउँथे रे भनेको सुन्दा अचम्म लाग्छ । सन्तान बिगार्ने जुवा खेल्न पठाउने भनेर आलोचना गर्न मिल्छ । तर, त्यो पुरानो चलनमा अर्थ र महत्त्व त थियो । गाउँघरको र सहरको चाडमा फरक छ ।
आज चाडबाडप्रति किन वितृष्णा बढ्दै छ ? किनभने महँगो बनाइएको छ । ढोँगजस्तो लाग्छ । तसर्थ, हाम्रो चाडबाड मनाउने तरिकालाई परम्परासग जोडौँ । सस्तो सहज र बोझमुक्त चाड मनाऊँ । जीवन सुखी बनाऊँ ।