site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वडाध्यक्ष पुर्पक्षका निम्ति कारागार चलान

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पुर्पक्षका निम्ति कारागार चलान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पुर्पक्षका निम्ति कारागार चलान गर्न आदेश दिएको सर्लाही जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा वडाध्यक्ष महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा वडाध्यक्ष महतोविरुद्ध मुद्दा दायर गरिएको थियो ।

मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएपछि उनलाई पुर्पक्षका निम्ति कारागार चलान गर्न आदेश दिइएको न्यायाधीश थापाले बताए । मुद्दाको अन्तिम फैसला नहुँदासम्म महतोलाई पुर्पक्षका निम्ति कारागार पठाउने आदेश भएको हो ।

स्थानीय तहको निर्वाचन २०७९ मा नेकपा (माओवादी केन्द्र)बाट महतो वडाध्यक्षमा निर्वाचित भएका थिए । अदालतको आदेशानुसार वडाध्यक्ष महतोलाई रौतहटको गौर कारागार चलान गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

उनका अनुसार यो मुद्दामा अरू केही व्यक्तिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । ती व्यक्ति फरार रहेका र उनीहरूको खोजी जारी रहेको उनले बताए । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्