site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार बोलाएको सर्वदलीय बैठकमा नेताहरूले गणतन्त्रको रक्षाका लागि ‘पुनः प्रतिबद्धता’ प्रकट गरेका छन् । यद्यपि, अहिले सरकार र सबै राजनीतिक दलहरूको ध्यान भने भूकम्पपीडितप्रति क्न्द्रित हुनुपर्ने हो ।

नेताहरूले हल्ला मच्चाएजस्तो अहिले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता नेपालको संविधान, २०७२ का आधारस्तम्भ सङ्कटमा परेका छैनन् । बरू, राज्य सञ्चालकहरूको गैरजिम्मेवार र भ्रष्ट क्रियाकलाप देखेर जनमानस क्षुब्ध भएको छ ।

कात्तिकको शीतमा बालबालिका र बूढापाकासहित भूकम्पपीडितका हजारौं परिवार पाटामा रात काटिरहेका छन् । नेताहरू तिनका लागि कम्तीमा खानेकुरा र ओत लाग्ने त्रिपाल पठाउन होइन निरीक्षणका नाटक देखाउन व्यस्त छन् ।

अहिले पीडितलाई नेताको खोक्रो आश्वासन होइन ठोस सहयोग चाहिएको छ । भोक टार्न खानेकुरा र रात काट्न शीत छेक्ने ओतको खाँचो छ । विडम्बना, पीडितको दशा हेर्न शासकहरूको ताँती लागेको छ तर बाँच्नका लागि अत्यन्त जरुरी सहायता भने पुगेको छैन ।

‘शासकहरू चडेको हेलिकप्टरको हावाले पीडित परिवार बसेको त्रिपाल उडाउन लाग्दा समातेको’ व्यङ्ग्यचित्र सम्भवतः भूकम्पपीडितको अहिलेको अवस्थाको यथार्थ चित्रण हो । राजनीतिक नेतृत्व भने ‘डन क्विटे’ले जसरी हावामा तरबार खेलाइरहेका छन् ।

नयाँ संविधान लागु भएपछि सार्वजनिक खर्च धेरै बढेकोमा जनता आक्रोशित छन् । संघीय प्रणालीको नभएर जनप्रतिनिधिका नाममा गरिएको फजुल खर्चको जनताले विरोध गरेका हुन् भन्ने बुझ्न भने नेताहरू तयार देखिँदैनन् ।

गणतन्त्रमा पनि राजाको शासन सम्झाउने शासकहरूको फोस्रो रबाफ र हुकुमी व्यवहार देखेर जनता आक्रोशित भएका हुन् । नेताहरूले आफूलाई जनताको मालिक नठान्ने सर्वदलीय सहमति गरे नेपाली जनताले नै गणतन्त्रको रक्षा गर्नेछन् ।

अपराधीलाई उन्मुक्ति दिइनु विधिको शासनविपरीत हुन्छ भन्ने सत्य न्यायालयले पटकपटक सम्झाएको छ । नेताहरू भने ‘...बाह्र वर्ष ढुम्रामा राखे पनि बांगाको बांगै’ रहे । अपराध र राजनीतिलाई छ्यासमिस पारेपछि न जनताले नेताहरूलाई ‘अपराधी’ देख्न थालेका हुन् ।

बहुसङ्ख्यक नेपाली जनताले राजनीतिक दलका नेताका कथनमा विश्वास गर्न छाडेका छन् । यसैले राजनीतिक व्यवस्थामा आक्रमण भएको हल्लिखल्लीलाई पनि जनताले ‘चिल आएको हल्ला मच्चाएर कुखुरा चोर्ने स्याल’को हुइयाँ ठानेका हुन् ।

यसैले शासकहरूले सोह्रौं शताब्दीको स्पेनिस उपन्यासको पात्र ‘डन क्विटे’को अभिनय दोहोर्याउन छाडुन् । संविधानको मर्मअनुसारको आचरण गरेर इमानदारीसाथ जनताप्रति  उत्तरदायी भए संवैधानिक उपलब्धिको रक्षा जनसाधारणले नै गर्नेछन् । कुनै पनि व्यवस्था जनताले चाहेमात्र जोगिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro