site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
भूकम्प पीडितलाई सार्दै राष्ट्रपति अवतरण : चार दिनमा १४ उच्च पदस्थ हेलिकोप्टरमा पुगे
SkywellSkywell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम मंगलबार पुगे ।  उनी चढेको सेनाको हेलिकोप्टर जाजरकोटको थाप्लेचौरमा अवतरण गर्‍यो । जुन ठाउँमा भूकम्प पीडितलाई राखिएको थियो । 

राष्ट्रपति चढेको हेलिकोप्टर अवतरण गराउँदा भूकम्प पीडितलाई त्यहाँबाट हटाउनु परेको थियो । त्यतिमात्र होइन, राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा पुग्दा त्यहाँ रहेका ठूलो संख्यामा सुरक्षाकर्मी उनको सुरक्षामा खट्नु प¥यो । 

भूकम्प पीडितको उद्धार र राहत वितरणमा खटिरहेका सुरक्षाकर्मीलाई राष्ट्रपतिको सुरक्षामा खटाइएको हो । राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रमा जाँदा त्यहाँ चलिरहेको राहत वितरणको कार्य प्रभावित भएको छ । 

Dabur Nepal
NIC Asia

“राष्ट्रपतिलगायतका भीभीआईपी र भीआईपी (अतिविशिष्ट र विशिष्ट व्यक्ति) आउँदा धेरै कर्मचारी उहाँको पछि कुद्नु परेको छ । यसले भूकम्पपछिको खोज, उद्धार र राहात सामग्री वितरणमा असर गरेको छ,” जाजरकोट जिल्ला प्रशासन कार्यालयका एकजना कर्मचारीले बाह्रखरीसँग भने ।  

भूकम्प प्रभावित क्षेत्रमा पीडित जनताहरु ओत लाग्ने ठाउँ पाइरहेका छैनन् ।  राष्ट्रपति हुँदै प्रधानमन्त्री, मन्त्री नेताहरु भने राज्यकोषको दोहन गरी हेलिकोप्टरमा सरर्र भूकम्प प्रभावित क्षेत्रमा डुल्न पुगेका छन् । कोही मन्त्री त एक पटक होइन तीन–तीन पटक हेलिकोप्टरमा प्रभावित क्षेत्र पुगिसकेका छन् । 

हेलिकोप्टर आउँदा भूकम्प पीडितहरु राहात सामाग्री पाउने आशमा खुसी हुन्छन् । तर त्यो खुसी लामो समय टिक्दैन ।  हेलिकोप्टरबाट ओर्लनेहरुले आश्वासन र निर्देशन दिन्छन्, फर्कन्छन् । पीडितले राहत पाउँदैनन् । 

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लाका धेरै घरहरु भत्केका छन् ।  गत शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।

स्थानीयका खाद्यान्न र लत्ताकपडा सबै पुरिएका छन् ।  सुत्दा लगाएको एकसरो कपडाबाहेक उनीहरुसँग अरु केही छैन ।  भूकम्प गएको तीन दिन बितिसकेको छ । भूकम्प पीडितले अझै राहत सामाग्री पाउन सकेका छैनन् । 

उनीहरुसँग खान न केही कुरा छ, न ओत लाग्ने, ओढ्ने र ओछ्याउने सामग्री नै ।  सामान्य त्रिपालसमेत नपाउँदा भूकम्प पीडित बारीका पाटामा रात बिताउन बाध्य छन् ।  केही राहत सामाग्री पार्टी विशेष हेरेर बाँडिएपछि स्थानीयमा आक्रोश बढ्दो छ । 

भूकम्प कात्तिक १७ गते राति ११ः४७ बजे गएको थियो ।  त्यसपछि मंगलबार दिउँसोसम्म ४३९ वटा परकम्पन गइसकेको छ । परकम्पले पीडितहरुलाई पलपलमा झस्काइरहेको छ । 

भूकम्प लगायतका ठूला विपद्का घटना हुँदा पहिलो खोज तथा उद्धार, दोस्रो घाइतेको उपचार, तेस्रो राहात सामाग्री वितरण, चौथोमा अस्थायी आवास र पाँचौंमा पुननिर्माण तथा पुनःस्थापनलाई प्राथमिकता दिइन्छ । 

खोज तथा उद्धार, घाइतेको उपचार र राहात सामाग्री वितरण छोटो अवधिमा गर्नुपर्छ ।  यस्तो बेलामा भीभीआईपी र भीआईपी प्रभावित क्षेत्रमा जाँदा तत्काल कार्यमा असर पर्छ ।

यसैकारण ठूला विपद्का घटना भएका क्षेत्रमा राहात सामाग्री वितरणको कार्य सकिएपछि मात्र भीभीआईपी र भीआईपीलाई भ्रमण गर्न अनुमति दिइन्छ, ताकि खोज तथा उद्धार, घाइतेको उपचार र राहत वितरणमा कुनै ढिलाई नहोस् ।

तर नेपालमा भने यसको ठीक उल्टो हुने गरेको छ ।  भूकम्प कात्तिक १७ गते राति ११ः४७ बजे गएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कात्तिक १८ गते विहान साढे ६ बजे नेपाली सेनाको हेलिकोप्टर लिएर भूकम्पको केन्द्रविन्दु भएको जाजरकोटतर्फ काठमाडौंबाट लागेका थिए । 

“हामीले हाम्रो जिल्लाको वस्तुस्थितबारे बुझ्न भ्याएका पनि थिएनौं । जिल्ला प्रशासन कार्यालयका कति कर्मचारीहरु आफै घाइते भएका थिए । यस्तो बेला प्रधानमन्त्रीज्यू आइपुग्नु भयो । हामी भूकम्पले कहाँ के कस्तो क्षति गरेको छ भन्ने बुझ्नेतर्फ लाग्ने कि प्रधानमन्त्रीज्यूको स्वागत र उहाँलाई ठाउँ–ठाउँमा पुर्याउनतिर लाग्ने भन्ने अप्ठेरो भयो,” जाजरकोट जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले अनुभव सुनाए । 

भूकम्प प्रभावित क्षेत्रमा उद्धारकर्मीहरु नपुग्दै प्रधानमन्त्री काठमाडौंबाट जाजरकोट पुगेका थिए ।  प्रधानमन्त्रीले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत र सांसद जनार्दन शर्मालाई पनि आफू चढेको हेलिकोप्टरमा राखेर लगेका थिए । 

प्रधानमन्त्रीको टोलीले सेनाको हेलिकोप्टरमा जाजरकोट र रुकुम पश्चिम केही स्थानको अवलोकन गरेका थिए ।  जतिबेला प्रधानमन्त्रीको टोलीले सेनाको हेलिकोप्टर प्रयोग गरेको थियो, त्यतिबेला उक्त हेलिकोप्टर घाइतेलाई अस्पताल पुर्याउन र औषधी ढुवानीका लागि आवश्यक थियो ।

नभन्दै प्रधानमन्त्री प्रचण्ड कात्तिक १८ गते दिउँसो रेगुलर फ्लाइटमा काठमाडौं फर्कनु पर्‍यो । उनलाई लिएर काठमाडौंबाट भूकम्प प्रभावित क्षेत्रमा गएको सेनाको हेलिकोप्टर खोज तथा उद्धार, घाइतेलाई अस्पताल पुर्‍याउन र औषधि ढुवानी गर्न व्यस्त भयो ।

जाजरकोटमा भूकम्प गएको चार दिन बित्न लागेको छ । यो अवधिमा १४ जना भीभीआईपी र भीआईपी भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।  अधिकांश भीभीआईपी र भीआईपी सेनाको हेलिकोप्टर चढेर भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । 

भूकम्प प्रभावित क्षेत्र पुग्ने भीभीआईपी र भीआईपीमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत छन् । 

त्यसरी नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना पुगिन् ।

नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्मा, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, कर्णाली प्रदेशका सांसद तथा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, कर्णाली आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, कर्णाली सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र कर्णाली प्रदेश प्रमुख तिलक परियार पुगेका छन् । 

कात्तिक १९ गते प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना भूकम्प प्रभावित क्षेत्रमा पुगेकी थिइन् ।  उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का तीनपटक सेनाको हेलिकोप्टरमा भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । 

कात्तिक १९ गते रक्षामन्त्री खड्का, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सभा सदस्य जीवनबहादुर शाहीलगायतको टिमले हेलिकोप्टरमा भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेको थियो ।

उनीहरुले जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट तथा जिल्लाको वस्तुस्थितिको जानकारी लिई उद्धार र राहात वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

कात्तिक १९ गते नै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मासमेतको टोली हेलिकोप्टरमार्फत् भूकम्प प्रभावित क्षेत्रमा पुगेको थियो । 

उनीहरुले पनि जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग भेटघाट तथा जिल्लाको वस्तुस्थितिको जानकारी लिई उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।  नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सेनाको हेलिकोप्टर भूकम्प प्रभावित क्षेत्रमा घाइते र औषधी तथा खाद्यान्नलगायतका राहत सामग्रीको ओसारपसारमा प्रयोग भएको जनाए । 

मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रमा जाँदा सेनाको हेलिकोप्टर प्रयोग गरेको सम्बन्धमा उनले आफूलाई यस विषयमा धेरै थाहा नभएको बताए । उनले उक्त विषयमा मन्त्रीको सचिवालयसँग बुझ्नसमेत सुझाए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro