site stats
बाह्रखरी :: Baahrakhari
देश
पाटन अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाही गर्न माग

काठमाडौं । नेपाल चिकित्सक संघले पाटन अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग गरेको छ । यही कात्तिक १८ गते अस्पतालको ज्येष्ठ नागरिक वार्डमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की दिइएको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको छ ।

डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिने यस्ता अस्वाभाविक र निकृष्ट गतिविधिले समग्र स्वास्थ्य सेवा प्रवाहमै गम्भीर असर पर्ने संघले उल्लेख गरेको छ ।

Argakhachi Cement Island Ad

“...उक्त घटनामा संलग्न दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन) बमोजिम कानुनी कारबाही गरी शान्तिपूर्ण र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण तयार गर्न यस संघ जोडदार माग गर्दछ,” संघका महासचिव डा. सन्जिब तिवारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने र ज्यानै लिने प्रकारका अपराधजन्य गतिविधिमा संलग्न हुनु न्यायोचित नभएको संघको ठहर छ ।

“उपचारको क्रममा कुनै आशंका उत्पन्न भए सोसम्बन्धी कानुनी माध्यमबाट सत्यतथ्य छानबिन गरी कानुनबमोजिमको दण्ड–सजायको भागीदार जोसुकै हुने कानुनी प्रावधानविपरीत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कुटपिट गर्ने, ज्यानै लिने प्रकारका अपराधजन्य गतिविधिमा संलग्न हुनु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ,” विज्ञप्तिमा उल्लेख छ ।

ज्येष्ठ नागरिकको मृत्युका विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्न संघले अस्पताललाई समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्