काठमाडौं । लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । मंसिर ८ गते राष्ट्रिय नाचघर जमलमा ‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’ हुने भएको हो ।
पाँच दशकभन्दा लामो समयदेखि नेपाली लोकगीत समर्पित लोकगायिका थापाको पहिलोपटक एकल सांगीतिक साँझ हुन लागेको आयोजक अन्नपूर्ण चेम्बर अर्केस्टाले जनाएको छ ।
कार्यक्रमा गायिका थापाले ‘म त खाँदिन कुवाँको पानी हो’, ‘ढुंगे बगर माया’, ‘झम्के फूली नाकैमा बुलाकी’, ‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’, ‘बारीको डिलमा ओखरबोट’, ‘माछी मार न हे दाइ हो’ लगायत दुई दर्जन गीत गाउने छिन् ।
कार्यक्रममा प्रवेशका लागि एक हजार, १५ सय र दुई हजार रुपैयाँको टिकट राखिएको छ ।
२०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्राको थालनी गरेकी थापाको हालसम्म एक हजारभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।
गायिका थापा प्रवल गोरखा दक्षिणबाहु मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौं सम्मान, पदक र पुरस्कार प्राप्त गरेकी छन् ।