site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
द्रुतमार्ग ‘अर्को मेलम्ची’ बन्ने खतरा बढ्दै, ६ वर्षमा २७ प्रतिशतमात्रै काम 

काठमाडौं । नेपाली सेनाले काठमाडौं/तराई–मधेस द्रुतमार्ग सडक आयोजना निर्माण कार्य सुरु गरेको ६ वर्ष ४ महिना बित्यो । तर, भौतिक प्रगति भने मात्र २७ प्रतिशत भएको छ । 

आयोजनाको नाम द्रुतमार्ग भनिएको छ । अनि हालसम्म भौतिक प्रगतिले यो आयोजना निर्माण ‘कछुवा गति’ भन्दा पनि सुस्त रहेको देखाउँछ ।  “२०८० असोज मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति २७ प्रतिशत र वित्तीय प्रगति २९ प्रतिशत छ,” नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले बाह्रखरीसँग भने । 

२०७४ वैशाख ३१ को मन्त्रिपरिषद्को बैठकले द्रुतमार्ग निर्माण चार वर्षमा सम्पन्न गर्न भन्दै सेनालाई दिने निर्णय गरेको थियो ।  ठूलो आयोजनाको निर्माण जिम्मेवारी अन्य निकायलाई दिँदा ढिलासुस्ती हुने जनाउँदै सरकारले द्रुतमार्ग सेनालाई सुम्पेको थियो ।

Dabur Nepal
NIC Asia

२०७४ असार ८ गते मन्त्रिपरिषद्ले आयोजना सञ्चालन कार्यविधि २०७४ स्वीकृत गरेपछि सेनाले द्रुतमार्गको निर्माण कार्य सुरु गरेको थियो ।  सेनाले काम सुरु गरेको ६ वर्ष ४ महिना बितिसक्यो तर निर्माण कार्यको सही गति लिन सकेको छैन । 

“जसरी मेलम्ची आयोजना वर्षौं बित्दा पनि पूरा हुन सकेको छैन, झन् झन् लगानी र खर्च मात्र बढिरहेको छ । ठीक त्यसैगरी द्रुतमार्ग अर्को मेलम्ची बन्ने खतरा बढ्दै गएको छ । यसको लागत बढ्दै गएको छ, कहिले सम्पन्न हुन्छ केही ठेगान छैन,” एक जना उच्च सैनिक अधिकृतले बाह्रखरीसँग भने । 

चार वर्षभित्र सम्पन्न गर्नुपर्ने आयोजना ६ वर्ष बित्दा पनि सकिएको छैन ।  यही गतिमा निर्माण कार्य अघि बढ्ने हो भने द्रुतमार्गमा यात्रा गर्न अझै धेरै वर्ष पर्खनु पर्छ ।  पछिल्लो ६ वर्षमा द्रुतमार्ग निर्माणमा ४४ अर्ब ४२ करोड रुपैयाँ खर्च भइसकेको छ । द्रुतमार्गको म्याद पटक–पटक म्याद थप्दा यसको लागत बढ्दै गएको छ । 

सुरुको चार वर्षमा द्रुतमार्गको काम नसकिएपछि यसको म्याद २०८१ मंसिरसम्म थपिएको थियो ।  यो अवधिमा पनि काम नसकिने पक्का भएपछि म्याद सकिनु १८ महिना अगावै गत वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले द्रुतमार्गको म्याद २०८३ चैत मसान्तसम्म पुर्‍याएको छ ।

म्याद थप भएपछि २०८० साउन अन्तिम साता बसेको मिन्त्रपरिषद्को बैठकले ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना’को डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) फेरी संशोधन गरेको थियो ।  

सुरुमा द्रुतमार्गको लागत अनुमान ९८ अर्ब थियो । त्यसपछि १ खर्ब १६ अर्ब हुँदै १ खर्ब ७५ अर्ब रुपैयाँ पुग्यो । डीपीआर संशोधन गरेपछि द्रुर्तमार्गको लागत २ खर्ब ११ अर्ब ९ करोड ५३ लाख रुपैयाँ कायम गरिएको छ ।

कसरी र कति भएको छ काम ? 

द्रुतमार्गको आयोजनाको काम ११ वटा कलस्टर अन्तर्गत १३ वटा निर्माण प्याकेजमा हुँदै आएको छ ।  नेपाली सेनाका अनुसार १३ वटा निर्माण प्याकेजहरुमध्ये प्याकेज नं. १, २, ३, ४, ५, ६ र ७ को खरिद सम्झौता भई निर्माण कार्य भईरहेको छ ।

द्रुतमार्गको सिस्नेरी तथा मख्खुबेशी खण्डअन्तर्गत पर्ने प्याकेज नं. ८ र ९ ‘क’ को २०८० वैशाख ८ गते तथा प्याकेज नं. ९ ‘ख’ को लागि २०८० वैशाख १० गते अन्तराष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र पेश गर्ने कुनै पनि निर्माण व्यवसायी सारभूत रुपमा प्रभावग्राही हुन नसकेपछि खरिद प्रक्रिया रद्द गरिएको थियो ।

त्यसपछि २०८० असार २८ गते पुनः बोलपत्र आह्वान गरिएको र मिति भदौ १३ गते खोलुवा भई मूल्याङ्कन प्रक्रियामा रहेको सेनाले जनाएको छ । मख्खुबेशी तथा महादेवटार खण्डमा पर्ने प्याकेज नं. ८ र १० को २०८० भदौ १ गते बोलपत्र आह्वान र असोज १८ गते खोलुवा भई मूल्याङ्कन प्रक्रियामा रहेको छ ।

प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना खण्डमा जग्गा अधिग्रहण सम्बन्धमा आवश्यक निर्णय भएपश्चात् खरिद प्रक्रिया शुरु गर्ने योजना रहेको सेनाले जनाएको छ ।

सुरुङ्ग निर्माण 

आयोजनाको परिमार्जित डीपीआर बमोजिम द्रतमार्गमा रहेका ६ वटा सुरुङ्गमार्गको कूल लम्बाई १०.०५५ किलोमिटर छ । जसमध्ये निर्माणाधीन सुरुङ्गहरुको जम्मा लम्बाई ६.४१५ किलोमिटर रहेको र हालसम्म ३ हजार ५० मिटर (४७.५५ प्रतिशत) सुरुङ खन्ने कार्य सम्पन्न भएको दाबी सेनाको छ ।

प्याकेज नं. ८ ‘ख’ अन्तर्गत पर्ने देवीचौर सुरुङ्ग (१ किलोमिटर), सिसौटार सुरुङ्ग (०.३९ किलोमिटर) र प्याकेज नं. १० अन्तर्गत पर्ने चन्द्राम भीर सुरुङ्ग (२.२५ किलोमिटर) को निर्माणका लागि खरिद प्रक्रियामा छ ।

पूल निर्माण

नेपाली सेनाका अनुसार, द्रुतमार्ग आयोजनाअन्तर्गत रहेका जम्मा ८९ वटा पुलहरुमध्ये प्याकेज नं. १ देखि ७ सम्मका ६२ वटा पुलहरु निर्माणाधीन छ । हाल निर्माणाधिन पुलहरुमध्ये प्याकेज नं. १ देखि ५ मा पर्ने पुल अन्तर्गत रहेका जम्मा १ हजार ७६८ वटा ‘फाउण्डेसन पिल’मध्ये १ हजार १२० वटा पिट निर्माण कार्य सम्पन्न भइसकेको छ । 

‘सवस्टकचर’को कार्य भइरहेको छ । हालसम्म ३ वटा पुलहरुको ‘सुपरस्टक्चर’को कार्य समेत सम्पन्न भइसकेको सेनाले जनाएको छ । 

जग्गा अधिग्रहण

द्रुतमार्ग आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने जम्मा १५ हजार ४१६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार २४४ र व्यक्तिगत जग्गा ५ हजार १७२ रोपनी रहेको छ । अधिग्रहण गर्नुपर्ने व्यक्तिगत जग्गा ५ हजार १७२ रोपनी मध्ये हालसम्म ४ हजार ७६६ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । बाँकी ४०६ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ ।

रुख कटान

रुख कटान स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) बमोजिम कटान गर्नुपर्ने ३८ हजार ६६४ वटा रुखहरुमध्ये हालसम्म २८ हजार ६४६ वटा रुखहरु कटान भइसकेको छ ।  बाँकी १० हजार १८ वटा रुखहरु कटान गर्ने प्रक्रियामा रहेको सेनाले जनाएको छ ।

कटान गरिएका रुखहरुको बदलामा १ः२५ का दरले ७ लाख १६ हजार १५० बिरुवाहरु रोप्नुपर्नेमा हालसम्म जम्मा ५३७ हेक्टरमा ६ लाख ६५ हजार ५६८ विरुवा रोपिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro