site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्रीहरू विदेश डुलेको डुल्यै, तीन महिनामा ३१ भ्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो करिब साढे तीन महिनामा १७ जना मन्त्रीहरु ३१ पटक विदेश भ्रमणमा निस्केका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०–८१ सुरु भएपछि (साउन देखि कात्तिक १२ गतेसम्म)को अवधिमा  विदेश सयर गरेका हुन् ।

नागरिक आर्थिक संकटको मार खेपिरहेका छन् । व्यापार चौपट छ । सहरमा बन्द हुने सटरको संख्या बढ्दो छ । आर्थिक अभावका कारण जनताले चाडबाड पनि राम्रोसँग मनाउन सकेका छैनन् ।  यस्तो बेला सरकारका मन्त्री र प्रधानमन्त्री भने राज्य कोषको दोहन गरी विदेश भ्रमणमा जान तँछाडमछाड गरिरहेका छन् । 

उनीहरुबीचको बढी विदेशमा जाने भन्ने होडबाजी नै चलेजस्तो देखिन्छ । दुई दिनको कामलाई एक साता बिताउने गरेको मन्त्रालयकै उच्च अधिकारी बताउँछन् । सामान्य कर्मचारी गए हुने कार्यक्रममा पनि मन्त्री नै जाने गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

२०८० साउन यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन देशको भ्रमण गरेका छन् ।  उनले साउन ६ देखि १२ गतेसम्म इटालीको भ्रमणका गरेका थिए । संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्बन्धी सम्मेलनमा सहभागी हुन उनी इटाली पुगेका थिए ।

इटालीमा आयोजित उक्त कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रीको साथमा कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुसाल पनि गएका थिए ।  प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क गएका थिए । कात्तिक ५ गते उनी न्यूयोर्कबाट सिधै चीन भ्रमणमा गएका थिए । 

Global Ime bank

कात्तिक ६ गतेबाट सुरु भएको प्रधानमन्त्रीको चीन भ्रमण १३ गतेसम्म चलेको थियो । अमेरिका र चीनमा गरी उनी लगातार १५ दिन देश बाहिर रहेका थिए ।  चीन भ्रमणमा प्रधानमन्त्रीसँगै अन्य तीनजना मन्त्री पनि सँगै थिए । 

चीन भ्रमणमा उनी दुईदिन राजनीतिक भेटघाटमा व्यस्त भएका थिए, बाँकी दिन चीनका विभिन्न भूभाग घुमेर बिताएका थिए । उपराष्ट्रपति रामसहाय यादवले साउन ३१ देखि भदौ ३ गतेसम्म चीनको भ्रमण गरेका थिए । 

उनी सातौं ‘चाइना–साउथ एसिया एक्स्पो’मा सहभागी हुन चीन गएका थिए । मेला हेरेर उनी स्वदेश फर्केका थिए ।  परराष्ट्रमन्त्री एनपी साउद पछिल्लो साढे तीन महिनाको अवधिमा चारपटक विदेश भ्रमणमा निस्केका छन् । उनी दुईपटक अमेरिका र चीन र थाइल्यान्ड एक–एक पटक पुगेका छन् । 

साउनको पहिलो साता परराष्ट्रमन्त्री साउद थाइल्याण्डले बैंककमा आयोजना गरेको बिमस्टेक परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भएका थिए ।  उनले भदौ २६ गतेदेखि ५ गतेसम्म अमेरिकाको न्यूयोर्कमा बिताएका थिए । राष्ट्रसंघको ७८औं महासभामा भाग लिन उनी न्यूयोर्क गएका थिए । 

परराष्ट्रमन्त्री साउद प्रधानमन्त्रीसँगै न्यूयोर्कबाट सीधै चीन गएका थिए । उनी भदौ ६ देखि १३ गतेसम्म चीन भ्रमणमा थिए । परराष्ट्रमन्त्री साउद कात्तिक १२ गते पुनः अमेरिका भ्रमणमा गएका छन् । उनी कात्तिक १९ गते अमेरिकाबाट फर्कने छन् ।

अमेरिकी विदेशमन्त्रीको निमन्त्रणमा नेपाल–अमेरिका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी अमेरिका गएका हुन् । 

खासमा यो बैठक नेपालमा हुनुपर्थ्यो र अमेरिकी विदेशमन्त्री नेपालमा आउनुपर्ने थियो । तर नेपालको कूटनीति कमजोर हुँदा पाँच–पाँच वर्षमा हुने यो बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद आफैँ अमेरिका गएका हुन् । 

बितेको साढे तीन महिनामा अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि चारवटा देशको भ्रमण गरेका छन् । यस अवधिमा जी–२० को अर्थ मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत गएका थिए ।  अर्थमन्त्री महत असोज ८ देखि ९ गतेसम्म इजिप्टको शार्म ए शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अझ गभनर्सको आठौं वार्षिक बैठकमा सहभागी हुन इजिप्ट पुगेका थिए । 

यसै अवधिमा अर्थमन्त्री महत विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन मोरक्को पनि गएका थिए । अर्थमन्त्री महत बेलायतमा छन् । मंगलबार लण्डन म्यान्सन हाउसमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन उनी बेलायतको लण्डन पुगेका हुन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत कात्तिकको पहिलो साता थाइल्याण्ड पुगेका थिए ।  बैंककमा कात्तिक २ देखि ३ गतेसम्म आयोजना भएको तेस्रो एसियन प्यासिफिक इनर्जी फोरमको बैठकमा सहभागी हुन उनी थाइल्याण्ड गएका थिए । 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हालैमात्र चीन भ्रमणबाट फर्केका छन् ।  चीनले महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) सुरु गरेको १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी चीन गएका थिए । 

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात भएको थियो । उपचारपछि उनी केही दिनअघि मात्र नेपाल फर्किएका हुन् ।   भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पछिल्लो साढे तीन महिनामा भारत र चीनको भ्रमण गरेका छन् । उनी प्रधानमन्त्रीको चीन भ्रमणमा असोज ६ देखि १३ गतेसम्म चीनमा रहेका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणअनुसार असोज ३० देखि कात्तिक २ गतेसम्म मन्त्री ज्वालाले भारतको भ्रमण गरेका थिए । मुम्बईमा भएको एउटा सम्मेलनमा सहभागी हुन उनी भारत गएका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बितेको साढे तीन महिनामा तीन देशको भ्रमण गरेका छन् । यो अवधिमा उनी दुई पटक भारत र एक पटक इजिप्ट पुगेका छन् । उनी कायरोमा आयोजित ‘ग्लोबल कंग्रेस अन पपुलेसन हेल्थ एण्ड डेभलपमेन्ट’ विषयक सम्मेलनमा सहभागी हुन इजिप्ट गएका थिए ।

स्वास्थ्यमन्त्री बस्नेत यतिखेर भारत भ्रमणमा छन् । कात्तिक १३ देखि १६ गतेसम्मसम्म नयाँ दिल्लीमा आयोजना हुने विश्व स्वास्थ्य संगठनको कार्यक्रममा सहभागी हुन भारत गएका हुन् ।  चालु आर्थिक वर्ष सुरु भएयता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले दुई देशको भ्रमण गरेका छन् । 

उनले असोजमा जर्मनी र रोमानियाको भ्रमण गरेका हुन् । जर्मनी र रोमानियासँग भएको श्रम सम्झौताको साक्षी बस्न उनी गएका थिए ।  युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु असोजको पहिलो साता चीनको होङझाओ सहरमा आयोजना भएको १९ औं एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन सहारोहमा सहभागी हुन चीन गएका थिए । 

सोही कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड र अन्य तीन जना मन्त्री पनि सहभागी थिए ।  खानेपानी मन्त्री महेन्द्र राय यादव असोज ६ देखि १३ सम्म चीन भ्रमणमा गएका थिए । उनी प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा रहेका थिए । 

बितेको साढे तीन महिनामा सहरी विकास मन्त्री सीता गुरुङले मलेसिया र नेदरल्यान्ड्सको भ्रमण गरेकी छन् ।  उनी नेदरल्यान्ड्समा आयोजित पूर्वाधार लगानी सम्बन्धी कार्यक्रममा सहभागी भएकी थिइन् । सहरी विकासमन्त्री गुरुङ मलेसियाको क्वालालम्पुरमा कात्तिक ७ देखि ९ गतेसम्म आयोजना भएको एक कार्यक्रममा सहभागी हुन गएकी थिइन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल सोही अवधिमा थाइल्यान्डको भ्रमण गरेका थिए । बैंककमा भदौ ५ र ६ गते आयोजित एक कार्यक्रममा उनी सहभागी भएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी लैङ्गीक समानतासम्बन्धी एक कार्यक्रममा सहभागी हुन श्रीलंकाको कोलोम्बो गएकी थिइन् । 

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले पनि चीन भ्रमण गरेकी थिइन् । बेइजिङमा असोज ८ देखि ९ सम्म आयोजित ‘ग्लोबल सस्टेनेवल ट्रान्पोर्ट फोरम २०२३’  विषयक कार्यक्रममा उनी सहभागी भएकी थिइन् ।

पछिल्लो साढे तीन महिनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाइली ठकुरीले दक्षिण कोरियाको भ्रमण गरेकी छन् । दक्षिण कोरियामा आयोजित गैर आवासीय नेपालीको अधिवेशनमा सहभागी हुन गएकी थिइन् । 

मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिका पाइप–लाइनमा रहेका विदेश भ्रमण पनि थुप्रै छन् ।  राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक २४ र २५ गते हुने पेरिस पिस फोरमको कार्यक्रममा सहभागी हुन फ्रान्स जान लागेका छन् । 

राष्ट्रपति पौडेल पेरिस पिस फोरमको सम्मेलनमा सहभागी भएपछि पेरिसबाट जर्मनी जानेछन् । जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरको औपचारिक निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आगामी मंसिर महिना खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)को भ्रमणमा जान तयारीमा छन् ।  यूएईको दुबईमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको फ्रेमवर्क कन्भेन्सन (कोप)का पक्षहरुको २८ औं सम्मेलनमा सहभागी हुन उनी यूएई जान लागेका हुन् । 

कोप–२८ आगामी मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदैछ ।  उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का मंसिर १९ र २० गते घानाको आक्रामा संयुक्त राष्ट्रसंघले आयोजना गर्ने ‘यूएन पिसकिपिङ मिनिस्टिेरियल’मा सहभागी हुन त्यसतर्फ जाँदै छन् । उनको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको छ । 

यस्तै, कात्तिक २९ देखि मंसिर १ सम्म थाइल्यान्डको बैंककमा हुने एक सम्मेलनमा सहभागी हुन स्वास्थ्य तथा जनस्वास्थ्यमन्त्री बस्नेत त्यसतर्फ जाँदैछन् । उनको भ्रमण पनि मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको छ । 

कात्तिक २१ गतेदेखि मंसिर ६ गतेसम्म फ्रान्सको पेरिसमा आयोजना हुने युनेस्कोको ४२औँ महासभामा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरिसकेको छ ।

देशमा आर्थिक संकट गहिरिँदै गएपछि गत वर्ष सरकारले अनावश्यक विदेश भ्रमण नगर्ने निर्णय गरेको थियो ।  तर, आफैँले गरेको निर्णयलाई लत्याउँदै मन्त्रीदेखि प्रधानमन्त्री विदेश भ्रमणमा जान छोडेका छैनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय