काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर सिंगापुरका कप्तान अरित्रा दत्तले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए ।
आजदेखि सुरु प्रतियोगितामा नेपालसहित आठ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । छनोटबाट फाइनल पुग्ने दुई टिम आगामी वर्ष उत्तर अमेरिकामा हुने विश्वकपमा छनोट हुनेछन् ।