site stats
बाह्रखरी :: Baahrakhari
देश
नियमित तालिकामा एचपीभी खोप, आगामी वर्ष १७ लाख बालिकालाई दिने योजना

काठमाडौं । सरकारले यही वर्षदेखि किशोरीहरुलाई  पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप दिन सुरु गरेको छ ।

यसवर्षको कार्यक्रम डेमोस्ट्रेसनको रुपमा मात्रै सञ्चालन गरिए पनि अबको दुई वर्षभित्र एचपीभी खोपलाई नियमित खोप तालिकामा राखेर दिने सरकारको योजना छ । आगामी वर्ष नै १० देखि १४ वर्ष उमेर समूहका १७ लाख बालिकालाई अभियान नै चलाएर खोप दिने तयारी गरिएको छ ।

यसवर्ष भदौ २७ गतेदेखि झन्डै १५ दिनसम्म सञ्चालन गरिएको एचपीभी खोपको डेमोस्ट्रेसन कार्यक्रममा १४ वर्ष पूरा भई १५ ननाघेका बालिकालाई मात्रै खोप दिइयो । जसमा नौ हजार ९८० बालिकाले खोप लगाएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाको तथ्यांक छ । पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज फागुन अन्तिमदेखि चैतसम्ममा दिने सरकारको तयारी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आगामी वर्ष भने अभियान सञ्चालन गरी १० देखि १४ वर्षसम्मका बालिकाई खोप दिने गरी योजना बनाइएको खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए । राष्ट्रिय खोप सल्लाहकार समितिको तथ्यांकमा यो उमेर समूहका बालिकाको संख्या १६ लाख ८८ हजार ७६८ छ ।

आगमी वर्ष यी सबै बालिकालाई खोप दिइने र एचपीभी खोपलाई अर्को वर्षदेखि नियमित खोप तालिकामा राखिने पनि उनले बताए । नियमित तालिकामा राखिएको खोप वर्षैपिच्छे दिइनेछ ।

एक डोजवाला ल्याउन जोड, कसले दिँदै छ खोप ?

यसअघि, सन् २०१६–०१७ मा कास्की र चितवनमा यो खोपको क्लिनिकल ट्रायल गरिएको थियो । सो समयमा २४ हजार ९७२ जनामा ट्रायल गरी खोपको प्रभावकारिता समेत अध्ययन भएको थियो ।

यसपटक सरकारले खरिदमार्फत नै २० हजार डोज चिनियाँ खोप ल्याएको थियो । अहिले दिइएको सिकोलिन विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त तीनमध्येको एक खोप हो ।

आगामी वर्षका लागि स्वास्थ्य सेवा विभागले गरिब राष्ट्रहरुलाई अनुदानमा खोप उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय निकाय गाभीसँग खोप माग गरेको छ । गाभीले आगामी वर्ष १७ लाख बालिकालाई दिनपुग्ने खोप दिने आश्वासन दिए पनि अन्तिम निर्णय भने दिएको छैन ।

६ महिनाको अन्तरालमा दुई डोज दिइने खोप हो अहिले दिइएको सिकोलिन । आगामी वर्षहरुका लागि भने एक डोज दिने खोप ल्याउन नेपालको जोड छ ।

विश्व स्वास्थ्य संगठनमा सूचीकृत सिकोलिनबाहेक गार्डाशिल र सर्भारिक्स दुवै एक डोजमात्र दिइने खोप हुन् । यिनै दुईमध्ये एउट खोप ल्याउन नेपालको जोड रहेको डा. गौतम बताउँछन् । यसरी उपलब्ध गराउने खोप नेपाल सरकारको थोरै खर्चमा गाभीले अनुदानमा उपलब्ध गराउनेछ ।

अहिले दिइएको खोपको बजारमूल्य चार हजार ६०० देखि पाँच हजार प्रतिडोज पर्न जान्छ । १७ लाख जनसंख्यालाई दिनपुग्ने खोप गाभीले अनुदानमा दिए सरकारलाई करिब तीन अर्ब सहायता हुने विभागको आकलन छ ।

एचपीभी खोप कति प्रभावकारी ?

एचपीभी एक प्रकारको जीवाणु हो । विभिन्न देशमा गरिएको अध्ययनअनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व एचपीभी हो । पाठेघरको मुखको क्यान्सरमध्ये ९५ प्रतिशत एचपीभीले गराउँछ । यस्ता जीवाणुका २०० बढी प्रजाति हुन्छन्, तीमध्ये १६ र १८ प्रजाति क्यान्सरका प्रमुख कारक हुन् ।

एचपीभीविरुद्धको खोपले यिनै जीवाणुविरुद्ध काम गर्ने र यो खोपको प्रभावकारिता ९५ प्रतिशतभन्दा बढी रहने डा. गौतम बताउँछन् ।

एचपीभी खोपलाई अधिकांश मुलुकले नियमित खोपमा राखेर दिँदै आएका छन् । युनिसेफले सन् २०२३ मा मात्रै ५२ वटा देशमा यो खोप वितरण गरेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्