site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रसंघका महासचिवलाई ओलीले भने– प्रचण्डका कारण शान्ति प्रक्रियाको काम असहज भयो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा असहज भएको बताएका छन् ।

आइतबार संघीय संसद् भवनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उनले प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम असहज बनेको बताएका हुन् । 

माओवादी युद्ध सुरु भएको दिनलाई दिवसको रूपमा मनाउने प्रधानमन्त्री दाहालको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्र संघका महासचिव गुटेरेससँग राखेको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी ओलीले महासचिव गुटेरेससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्‍याउने काममा सक्दो सहयोग गर्ने बताएका थिए ।

"हाम्रो तर्फबाट हाम्रो पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुनु हुँदैन । त्यो चाहिँ पीडितहरूलाई ध्यान राखेर समाधान गरिनुपर्छ । हामी त्यसलाई छिटो भन्दा छिटो टुंग्याउन चाहन्छौँ । तर, प्रधानमन्त्रीज्यू जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो । आज प्रधानमन्त्री हुनुहुन्छ । उहाँले नै यी सबै विषयहरू टुंग्याउन भूमिका खेल्नुपर्नेमा चाहिँ अलिकति हिंसालाई बढावा दिने खालको, हिंसालाई महिमा मण्डन गर्ने खालको उहाँका क्रियाकलापले अलिकति असहज जस्तो भएको छ । खास गरेर युद्ध सुरु भएको दिनलाई दिवसको रूपमा मान्यता दिने जुन कुराहरू भयो । यसले पीडितहरू अलिकति चिन्तामा छन् । हामीले चाहिँ शान्ति प्रक्रिया टुंग्याउँदाखेरी गम्भीर अपराधमा आम माफी हुन नहुने, यसमा हाम्रा अन्तर्राष्ट्रिय कमिटमेन्टहरूलाई पनि ध्यान दिनुपर्ने, सर्वोच्च अदालतको जुन आदेश छ, त्यो कुरालाई समेत ध्यानमा राखेर त्यो विषय छिटो भन्दा छिटो टुंगियोस् भन्ने चाहन्छौँ । र, प्रतिपक्षले हैसियतले हाम्रो यसमा सहयोग रहन्छ भन्नुभएको छ," ओलीको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने ।

यता, महासचिव गुटेरेसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए ।

बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्र संघबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुटेरेसलाई बताएको एमाले उपमहासचिव ज्ञवालीले बताए ।

महासचिव गुटेरेससँग ओलीले संयुक्त राष्ट्र संघलाई नेपालजस्तो विकासोन्मुख देशहरूको बलियो अभिभावकको रूपमा हेर्न चाहेको पनि बताएका थिए ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्