काठमाडौं । सामाजिक सञ्जाल कम्पनी एक्सले अडियो–भिडियो कलिङ सुविधासहितको फिचर सार्वजनिक गर्ने भएको छ ।
कम्पनीका मालिक एवं प्रमुख टक्नोलोजी अफिसर एलन मस्कले बुधबार एक रिपोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।
एक्स (पहिलेको ट्विटर)लाई सुपरएपका रूपमा विकास गर्ने मस्कको योजनाको अर्को एक हिस्साका रूपमा यसलाई हेरिएको छ ।
अहिले एक्सले सीमित प्रयोगकर्ताका लागि यो फिचर सार्वजनिक गरेको छ । एक्समा अडियो तथा भिडियो कल गर्न अहिले पहुँच पाएका प्रयोगकर्ताले सेटिङमा गएर प्राइभेसी एन्ड सेफ्टीबाट डाइरेक्ट म्यासेजमा क्लिक गरेपछि अडियो तथा भिडियो कल फिचर अन गर्न सकिनेछ ।
सबै प्रयोगकर्ताका लागि यो फिचर कहिले सार्वजनिक हुन्छ भन्ने खुलाइएको छैन । मस्कले यो फिचर अहिले प्रारम्भिक चरणमा रहेको बताएका छन् ।