राजा वीरेन्द्रको वंश नाश भयो । रोलक्रममा नरहेका भाइ ज्ञानेन्द्रको भाग्यमा राजकाज लेखेको रहेछ । राजा भए । विभिन्न खालका समाचार आए, टीकाटिप्पणी भए । ज्ञानेन्द्रमाथि नै औंला उठ्योतर त्यसलाई पुष्टि गर्ने आधार कसैसँग थिएन । घटनास्थलको नामोनिशान मेटियो ।घटना झनै शंकास्पद भएको अड्कल काटियोतर त्यसभन्दा माथि उठ्न कोही सकेन । राजकाज सम्हालेपछि ज्ञानेन्द्र महत्त्वाकांक्षी हुँदै गए । नेताहरूलाई नजरबन्दमा राखे । शान्तिपूर्ण भेला हुन पाउने जनताको अधिकार खोसे । त्यत्तिमै उनी रोकिएनन् । एक कदम अगाडि बढेर शासनसत्ता नै हातमा लिए ।मिडियामाथि लगाम लगाए । शुरुमा हच्किएका मिडियाले बिस्तारै मुख खोल्न थाले । तानाशाही ज्ञानेन्द्रका कदमको विरोध गर्न थाले ।
‘गोरखापत्र’, ‘राइजिङ नेपाल’, ‘रेडियो नेपाल’ र ‘रासस’ले ज्ञानेन्द्रको गुणगान गाएपनि निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमहरूले शाही ‘कू’को विरोध गर्न थालेका थिए । निजी क्षेत्रकै ‘काठमान्डू पोस्ट’का तत्कालीन सम्पादक प्रतीक प्रधानले फोन गरेर वात्स्यायन (दुर्गा बराल)लाई भने, “अहिलेको राजनीतिक अवस्थालाई व्यंग्य गर्दै एउटा गज्जबको कार्टुन बनाउनुपर्यो ।”
प्रधानले विषय त दिए तर यस्तै बनाउन भनेनन् । अनुभवी कार्टुनिस्ट भएकाले पनि होला वात्स्यायनलाई कसैले पनि ‘यस्तो बनाऊ’ भनेर ‘क्राइटेरिया’ तोक्दैनन् ।
शाही शासनको बिगबिगी थियो । अधिकांश जनता सडकमा थिए । जनतामा छटपटी थियो । यो परिस्थितिलाई नजिकबाट नियालिरहेका वात्स्यायनलाई कार्टुन फुरिहाल्यो । गिरिजाप्रसाद कोइरालाले मरेको घोडा (संवैधानिक राजतन्त्र) लाई बोकेर हिँडेको कार्टुन बनाए । आइतबार ‘काठमान्डू पोस्ट’सँगै ‘कान्तिपुर’ दैनिकमा पनि छापियो । मंगलबारसम्म त उनले सकारात्मक प्रतिक्रिया मात्रै पाए । तर, तेस्रो दिनदेखि त्यसको व्यापक विरोध शुरु भयो । सरकारी सञ्चार माध्यमले त्यसको विरोध गरे । समाचार बनाएर प्रकाशन तथा प्रसारण गरे ।
‘कान्तिपुर दैनिक’ मा सम्पादक नारायण वाग्ले थिए । उनले वात्स्यायनलाई फोन गरेर भने, “दुर्गाजी, प्रहरीलेजुनसुकै बेला हामीसहित तपाईंलाई पनि गिरफ्तार गर्ने तयारी गरिरहेको मैले विश्वस्त सूत्रबाट थाहा पाएको छु । गिरफ्तारी दिने मनस्थिति बनाएर बस्नुहोला ।”
शुरुमा त मुटु चिसो भयो ।उनी मानसिक रूपमा गिरफ्तारी दिन तयार भएर बसे । तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको व्यापक विरोधपछि ज्ञानेन्द्र हच्किए । गिरफ्तारीको आदेश दिन सकेनन् । वात्स्यायनलाई जेल जानु परेन ।
० ० ०
गत साता शुक्रबार वात्स्यायनलाई भेट्न हामी पोखरास्थित उनको घरमै पुग्यौं । मध्यान्हको २ बजेको थियो । फोनमा उनैले दिएको ठेगाना पछ्याउँदै महेन्द्रपुल नजिकै कन्या क्याम्पसको पश्चिमतर्फ सडक छिरेपछि आउने चोकको पूर्वपट्टि उनको घर फेला पर्यो । उनी गेटमै आइपुगेका थिए हामीलाई लिन । सेतै फुलेको कपाल । मझौला कदको जिउडाल । उनलाई पछ्याउँदै हामी पुग्यौं,एउटा पुस्तकालयमा । आफू पुराना पत्रकार अनि कलाकार अनुप र प्रकाशक अजित बरालका बुवा भएपछि पुस्तकालय हुनु नौलो थिएन। सिनित्त परेको पुस्तकालय देख्दा साहित्यप्रति यो सिंगो परिवारको लगाव स्पष्ट झल्किन्छ ।
उत्तरतर्फको सोफामा हामीलाई राखेर उनी बसे घुम्ने मेचमाथि । उनको ठीक माथि एक तमासले घुमिरहेको सिलिङ फ्यानले कोठाको गर्मीलाई चिरिरहेको थियो । त्यही फ्यानको चिसोमा हामी एक घण्टा गफियौं । उनका पुराना पाका गफ सुन्यौैं ।
बाल्यकाल
वि.सं. १९९९ सालमा पोखरामा जन्मिए दुर्गा । दक्षिणतर्फ फाँट,दायाँवायाँ रुखरुखै, उत्तरतिर जंगल र सेत्तै हिमाल । उनको आँगनबाट देखिने दृश्य थियो यो । पोखरालाई प्रकृतिको बरदान भनिन्छ । उनी त्यहीँ ठाउँमा जन्मिए । ब्राह्मण कुल भएकाले उनका बाउबाजे जजमानी गर्थे । विवाह, व्रतबन्धगर्थे, सप्ताह लगाउँथे । सप्ताह लगाउँदा आठ किसिमका हात्तीको चित्र बनाउनुपर्छ । लेख्न कागज र कलम हुन्थेन । नेपाली कागज त हुन्थ्यो, तर दुर्लभ । बाँसको सुप्लामा लेख्नुपथ्र्यो । कलमका लागि बाँसकै कुची बनाउने चलन थियो । कटुसको बोक्रा पकाएर मसी बनाइन्थ्यो । बुवाले हात्ती बनाएर बाँकी रहेको मसीले बाँसको सुप्ला र घरको भित्तामा हात्ती बनाउँथेदुर्गा । हात्तीमात्रै होइन, पारिपट्टि देखिने रुख र हिमालको चित्र कोरेर उनी आफैंमख्ख पर्थे । मन फुरुंग हुन्थ्यो । अक्षर चिन्नुभन्दा अगाडि नै उनले चित्र बनाउन थालेका थिए ।
८ वर्षको उमेरमा उनी पाठशाला भर्ना भए । संस्कृतको पढाइहुन्थ्यो । तर,जति गर्दा पनि उनी संस्कृतमा अभ्यस्त हुन सकेनन् । साथीहरू संस्कृतका श्लोक कण्ठ पारेर गुरुलाई सुनाउँथे,उनको दिमागले भने टिप्दै नटिप्ने । उनले गुरुको कुटाइ खाइरहन्थे ।
पोखरा अहिलेको जस्तो शहर थिएन । जीवन धान्ने पेशा कृषिमात्रै थियो । बच्चादेखि पाकासम्म खेतबारीमा काम गर्थे । त्यसैले काम नभएको समय हिउँदका ६ महिनामात्रै पढ्न पाइन्थ्यो । गाउँका समाजसेवीले ६ महिना पढाउनका लागि शिक्षक खोज्थे । गाउँमा पौवा थियो । त्यसैलाई विद्यालयका रूपमा प्रयोग गरिन्थ्यो । ८–१० जना विद्यार्थी हुन्थे ।
दुर्गा तीन वर्षको हुँदाआमा बितिन् । आमा बितेपछि उनलाई फुपूले आफैंसँग राखेर पाल्न थालिन् । तर, आर्थिक अवस्था कमजोर भएकाले दुर्गाको भविष्य राम्रो बनाउन र पढाउन सक्दिनँ भन्दै उनलाई मावल ल्याएर छोडिदिइन् । मामाका छोराछोरी थिएनन् । दुर्गा मामा–माइजूसँगै बसेर पढ्न थाले । हामी बसेर गफिइरहेको घर पनि मामाकै घर रहेछ ।
संस्कृतमा उनले मेलो बसाउन सकेनन् । रहर पनि लागेन । स्कुल पढ्ने फेसनजस्तै थियो । गाउँबाट मामाको घरमा आएपछि दुर्गा हाइस्कुल पढ्न थाले । त्यहीँबाट एसएलसी पास गरे । ०१८ सालमा उनले आईएस्सी पढ्न सुरु गरे ।उनलाई डक्टर या इन्जिनियर बन्नुपर्छ भन्ने थियो । तर, साइन्स पढ्न कत्तिको गाह्रो छ भन्नेथाहा थिएन । दुर्भाग्यवश त्यो क्याम्पसले त्रिविबाट सम्बन्धन प्राप्त गर्न सकेन । एक वर्षको पढाइ बालुवामा पानी भयो । त्यही बेला उनलाई जीवविज्ञान पढाउने शिक्षिकाले भन्थिन्, “तिमी त आर्टिस्ट हुने मान्छे, किन साइन्स पढ्न आ’को ?”
उनका चित्र देखेर ती शिक्षिकाले थप्थिन्, “डाक्टर इन्जिनियर त जो पनि हुन्छ, तर जो कोही कलाकार बन्न सक्दैन, तिमी ठूलो कलाकार बन्ने सम्भावना भएको विद्यार्थी हौ ।”
दुर्गालाई खोजेको कुरा भेट्टाएजस्तो भयो ।हो,आर्टिस्ट नै हुनुपर्छ भन्नेलाग्यो । बाबुबाजेले पढ्दै आएको संस्कृतसानैमा छाडिसकेका दुर्गाले साइन्सपनि छोडिदिए ।
मिसले उत्प्रेरणा जगाइदिएपछि ठूलो कलाकार बन्ने सपना साँचेर उनी काठमाडौं छिरे ।भारत, पाकिस्तान र रुसमा कला विषय अध्ययनका लागि ललितकला छात्रवृत्ति पाइन्थ्यो । तीन पटकसम्म उनले प्रयास गरे पनि सफल भएनन् । १८ वर्ष पुगेर २५ ननाघेकाले मात्रै त्यो छात्रवृत्ति पाउँथे । दुर्गाको सपनाले भर्याङ नउक्लिए पनि उमेरले भने भर्याङचढ्न छोडेन । २५ कटेपछि छात्रवृत्ति पाउने दुर्गाको सपना बाग्मतीको पानीसँगै बगेर गयो । सपना त बग्योतर उनको कलाकार मन भने झनै मौलाउँदै गयो ।
कार्टुन यात्रा
न्युरोडमा डाँफे नामक रेस्टुराँ थियो । त्यहाँ साहित्यकार, कलाकारहरूको ठूलो जमघट हुन्थ्यो । चिया, खाजा खाने ‘जक्सन’ थियो त्यो। त्यही रेस्टुराँमा एकदिन अचानक एक पोखरेली साथीले दुर्गालाई ‘नयाँ सन्देश’ पत्रिकाका रमेशनाथ पाण्डेसँग भेटाइदिए ।उनी त्यो बेला आफैं कार्टुन बनाउँदा रहेछन् । उनले कार्टुनिस्ट खोजिरहेका रहेछन् । साथीले रमेशनाथलाई भने, “दुर्गा राम्रो कलाकार हो, उसले राम्रो चित्र बनाउने भएकाले कार्टुन पनि बनाउन सक्छ ।” पाण्डेले उनलाई कामको ‘अफर’ गरे । यो २०२३ सालको घटना थियो ।
रमेशनाथले‘टाइम्स अफ इन्डिया’ लगायतका पत्रपत्रिकाका कार्टुन देखाएर ‘यस्तो कार्टुन बनाउनुपर्छ’ भने । त्यो बेलासम्म दुर्गालाई कार्टुन भनेको के हो, थाहै थिएन ।
पञ्चायतकाल थियो । मुख्य समाचार राजनीतिकैहुन्थे । कार्टुन पनि त्यसैसँग सम्बन्धित बनाउनु पथ्र्यो, तर उनलाई भने राजनीतिबारे केही पनि थाहा थिएन । उनलाई त ललितकला पढ्ने रहर थियो । कार्टुनिस्ट बन्ने न सोच थियो, न रहर नै ।
तर, पनि काम गर्दा खर्चको जोहो त हुन्छ भनेर उनले ‘ओके’ गरे । दुर्गाले भने, “मलाई केही थाहा छैन, तपाईं भन्नुस् म त्यहीअनुसार बनाउँछु ।”
रमेशनाथले थिम दिन थाले, दुर्गाले कार्टुन बनाउन थाले ।
दुर्गालाई रुचि थिएन त्यसैले‘जसोजसो पुरोहित, उसैउसै स्वाहा’गर्दै गए, सम्पादकले अह्राएअनुसार कार्टुन बनाउन थाले । त्यसैले जिन्दगीको पहिलो कार्टुन केको बनाएँ भन्ने उनलाई अहिले सम्झना छैन ।
पञ्चायतको राजनीति थियो । टुट्ने, फुट्ने र गुटउपगुट राजनीतिको बोलवाला थियो– अहिलेको जस्तै । पञ्चहरू फुट्ने र जुट्ने उत्तिकै गर्थे । यसैसँग मिल्ने एउटा अंग्रेजी कथा थियो । त्यो कथामा परिवारबाट पुलपुलिएको छोरो सुरुमा घर छोडेर जान्छ । पछि सडकमा अनेक हन्डर र ठक्कर खाएपछि घर फर्किन्छ । ऊ घर फर्किंदा बुवालेस्वागत गर्छ । यही थिममा त्यो बेला बनाएको कार्टुनमात्रै सम्झना रहेछदुर्गालाई ।
अह्राएअनुसार कार्टुन बनाए पनि दुर्गाले पैसा पाएनन् । खर्चको जोहो गर्न मन नलाग्दा नलाग्दै थालेको कामबाट सुको झरेन । त्यतिबेलासम्म उनले आईए पास गरिसकेका थिए । जनक शिक्षा सामग्रीमा उनले कलाकारको जागिर सुरु गरे । पाठ्यपुस्तकको चित्र बनाउँथे उनी। ज्यालादारीमा छिरेका दुर्गा केही समयपछि स्थायी भए । नायब सुब्बाको नियुक्ति पाए ।
जनकबाट उनलाई ग्राफिक्स आर्टस्को तालिमका लागि जापान पठाइयो । तीन महिनाको तालिम लिएर फर्किएपछि उनलाई काठमाडौंमा काम गर्न मन लागेन । कलामा औपचारिक अध्ययन नभएपछि उनी सुब्बाबाट माथि बढ्ने सम्भावना देखिएन । त्यसैले उनी सरकारी जागिर छोडेरपोखरा फर्किए ।
ललितकलामा अध्ययन गर्न नपाएपछि अब काठमाडौं बसेर केही फाइदा छैन भनेर उनी पोखरामै कला साधना गर्ने योजना बनाएर फर्किए । पोखरामा मिसन अस्पतालसँग उनको सम्पर्क भयो । त्यहाँ दुईविदेशी चिकित्सकसँगभेट भयो । उनीहरूको सम्पर्कबाट दुर्गाले बनाएका चित्र लिन विदेशीहरू आउन थाले । धरानबाट समेत आफ्ना चित्र लिन विदेशीहरू पोखरा आउन थालेको उनलाई सम्झना छ ।
दुर्गा विशेषगरी हिमाल, सिंह, मान्छेका चित्रबनाउँथे । उनको सिर्जनाका मुख्य ग्राहक विदेशी हुन थाले । माग यति बढ्यो कि उनले बनाउनै सकेनन् । एकै जनाले १०–१२ वटासम्म माग गर्थे ।
०२७ सालको एकदिन । पोखरा बजारमा मन्दिर अगाडि बसेर उनले चित्र बनाइरहेका थिए । विदेशी पर्यटक आएर ‘बेच्ने हो ?’ भनेर सोधे । उनले ‘बेच्छु’ भने । मूल्य सोधे, दुर्गाले ७५ रुपैयाँ भने । उसले खुशी भएर ७५ रुपैयाँ दियो ।
७५ रुपैयाँबाट चित्र बेच्न सुरु गरेका दुर्गाले त्यही समय ५ हजार रुपैयाँसम्ममा बेचे । अहिलेसम्म उनले सबैभन्दा महँगो चित्र १ लाख २५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।
त्यतिबेला शिक्षा शास्त्र अध्ययन संस्थानमा दुई जना जर्मनी आएर १० महिना ‘टिचर्स ट्रेनिङ’ दिन्थे । उनी त्यहाँ भर्ना भए । उनले जर्मनसँगकलाको कक्षा लिए । पछि दुर्गाले प्रशिक्षकका रूपमा शिक्षकहरूलाई पढाउन थाले।यो बेलासम्म उनले बीए पास गरिसकेका थिए । उनले २७ वर्षजति पढाए कलाप्रशिक्षकका रूपमा ।
० ० ०
पोखरामा पोखरेली युवा सांस्कृतिक समूह थियो । त्यसमा सरुभक्त, उषा शेरचन, नारायण कार्कीहरूले ‘प्राङ्गण’ नामक साहित्यिक पत्रिका निकाल्थे । उनीहरूले सहयोग मागे दुर्गासँग ।पोखराबाट राष्ट्रिय स्तरको पत्रिका निकाल्ने उनीहरूको सोच थियो । काठमाडौंबाट निस्किने ‘मधुपर्क’जस्तै पत्रिका निकाल्ने योजनाअनुसार सुरु भयो । त्यसमा दुर्गाको जिम्मेवारी कलाक्षेत्र थियो–विशेषगरी कार्टुनिस्टको । अब्बल साहित्यकारहरूसँग बसेर काम शुरु गरेपछि बल्ल उनले चुनौती महसुस गरे । त्यसपछि दुर्गा पुस्तकालय गएर पत्रपत्रिकाका कार्टुन हेर्न थाले । विदेशी तथा स्वेदशी पत्रिकाका कार्टुन अध्ययन गर्न थाले । ‘इन्साइक्लोपेडिया’मा घोरिन थाले ।
त्यसपछि बनाउन थालिएका कार्टुन चाँडै लोकप्रिय भए । काठमाडौंबाट प्रकाशित भइरहेका राष्ट्रिय दैनिकबाट उनलाई फोन जान थाल्यो । आफ्नो पत्रिकाका लागि कार्टुन बनाइदिन आग्रह भइरहे । नयाँ ‘सन्देश’सँगै‘राष्ट्रपुकार’, ‘मातृभूमि’, ‘समीक्षा’, ‘कमनर’, ‘गोरखापत्र’ लगायतका पत्रिकाले कार्टुन पठाइदिन अनुरोध गरे । ‘मातृभूमि’का सम्पादक त उनलाई भेट्न पोखरा नै पुगे । ‘समीक्षा’ रुसी कम्युनिस्ट विचार धाराबाट निर्देशित थियो । अरू केही पनि कम्युनिस्टधारका थिए । ‘नयाँ सन्देश’ले पञ्चायतको बोली बोल्थ्यो । ‘राष्ट्रपुकार’ प्रजातान्त्रिक विचारधारा बोक्ने पत्रिका थियो । आफू पनि बहुदलीय विचारधाराका पक्षपाती भएकाले दुर्गाले ‘राष्ट्रपुकार’का लागि कार्टुन बनाउन थाले । २०३६ सालसम्म आइपुग्दा ‘राष्ट्रपुकार’ पत्रिका हिट भइसकेको थियो । दुर्गा लोकप्रिय कार्टुनिस्ट भइसकेका थिए ।
जनमत संग्रह घोषणा भयो । दलहरू बहुदलको प्रचारमा जुटे । दुर्गाले पनि आफ्नो कला देखाए । ठूलाठूला पोस्टरमा कार्टुन बनाएर उनले बजारका भित्तामा टाँसे । जनमत संग्रहको प्रचारका क्रममा बीपी कोइराला पोखरा पुगे । उनीसँगै थिए होमनाथ दाहाल, दमननाथ ढुंगाना, राधेश्याम अधिकारी लगायत थुप्रै नेताहरू । होमनाथ र राधेश्याम दुर्गालाई भेट्न आए । उनीहरूले ‘बजारमा टाँसिएका तपाईंका कार्टुन हेर्यौं,बीपीलाई भेट्न जाऊँ यी कार्टुन लिएर’ भने । बीपी लेकसाइडमा बसेका थिए । दुर्गालाई लिएर होमनाथ र राधेश्यामले भेटे । ०३३ माअन्तर्वार्ता लिन भनेर काठमाडौं आउँदा दुर्गाले बीपीलाई भेटेका थिए । तर, समय अभावका कारण उनले अन्तर्वार्ता दिन पाएका थिएनन् ।
कार्टुन हेरेर बीपीले उनको काँधमा थप्थपाउँदै प्रशंसा गरे, “कस्ता राम्रा कार्टुन ! बनारसमा बस्दा पनि मैले तिम्रोबारे सुनेको थिएँ । यी कार्टुनलाई जनमत संग्रहमा बहुदलको प्रचार सामग्रीका लागि पुस्तकाकार गर्नुपर्छ । म यसलाई बनारस वा कलकत्ता लगेर छपाउँछु ।”
दुर्गाले सम्झिए, “उनलाई त सबै थाहा रहेछ प्रेसका बारेमा । त्यो बेला तयार पारेका कार्टुन छाप्न के गर्नुुपर्छ भनेर सबै फरर भने । हामी त्यो बेला प्रेसमै काम गरेर पनि त्यति धेरै थाहा थिएन । म त अचम्म परें । तर दुर्भाग्य ! त्यो कार्टुन ठूलो पोस्टरमा लेखिएका कारण छाप्न भने मिलेन । समय र पैसाका हिसाबले निकै खर्चिलो हुनेभएपछि त्यो छापिएन ।”
दुर्गाले सुनाए, “पहिलोपटक जमलस्थित सम्पर्क कार्यालयमा भेट्न जाँदा मैले बीपीलाई उपहारस्वरूप एउटा तस्बिर बनाएरलगिदिएको थिएँ ।”
प्रजातन्त्र र समाजवादका लागि भनेर आफूले बीपीलाई तस्बिरमै लेखेर दिएको दुर्गा सुनाउँछन् । पछिसम्म बीपीकोमा पुग्ने उनका साथीहरूभन्थे, ‘‘तिमीले बीपीलाई तस्बिर उपहार दिएका रहेछौ नि है ?”
दुर्गाले दिएको उपहार बीपीले कोठामाझुन्ड्याएका रहेछन् ।
त्यही बेला बीपीसँग खिचेको फोटो अझै पनि दुर्गासँग पुस्तकालयमा सुरक्षित छ ।
विद्यार्थी आन्दोलनका लागि पनि उनले कार्टुन बनाए । प्रत्येक आन्दोलनमा उनका कार्टुन आकर्षणका केन्द्र बने ।
‘राष्ट्रपुकार’मा उनले लामो समय काम गरे । तर, त्यहाँ पनि उनले पारिश्रमिक पाएनन् । त्यहाँ बनाएको कार्टुनले प्रजातन्त्रका लागि योगदान पुर्याएको भनेरै उनले चित्त बुझाए ।
पछि उनले ‘राष्ट्रपुकार’लाई बिदाइको हात हल्लाउने निर्णय गरे ।‘देशान्तर’मा काम गर्न थाले । श्रीआचार्य सम्पादक थिए । ‘देशान्तर’ले भने थोरै भएपनि पारिश्रमिक दियो । पछि किशोर नेपाल ‘देशान्तर’का सम्पादक भए । उनी दुर्गा काठमाडौं बस्दाका साथी थिए ।
दुर्गाका कार्टुनले०३६ र ०४६ सालको आन्दोलनमा कति भूमिका खेले, त्यो त इतिहासले मूल्यांकन गर्लातर कार्टुनका माध्यमबाट निर्दलीय व्यवस्थाको विरोध गर्दै प्रजातन्त्रको वकालत गर्ने उनी पहिलो कलाकार हुन् ।
०५०दशकको शुरुतिर‘गोरखापत्र’मा तारा बराल सम्पादक भएर आए ।‘कार्टुन दिनुपर्यो’ भने । दुर्गाले‘गोरखापत्र’का लागि ६ महिनाजति कार्टुन बनाए ।
‘कान्तिपुर’ प्रवेश
उनी ‘गोरखापत्र’मा रहँदै निजी क्षेत्रबाट ‘कान्तिपुर’ र ‘काठमान्डू पोस्ट’ प्रकाशन शुरु भएका थिए । सम्पादक थिए योगेश उपाध्याय । जनआन्दोलनका बेला कांग्रेसको प्रचार विभागमा योगेशपनि थिए । त्यही विभागमा दुर्गालाई पनि बोलाइएको थियो । तर, उनले भने विभागमा बसेर काम गरेनन् ।
उनै योगेशले दुर्गालाई बोलाएर ‘कान्तिपुर’मा कार्टुनिस्टका रूपमा काम गर्न आग्रह गरे । दुर्गा राजी भए । “०५२ सालबाट ‘कान्तिपुर’मा काम शुरु गरेको हुँ, अझै पनि गरिरहेको छु । करिब २२ वर्ष भयो । यति लामो समय एउटै पत्रिकामा काम गरेको मैले पहिलो पटक हो,” उनले लामो सास फेरे ।
०२३ सालबाट कार्टुन बनाउन शुरु गरेकाले पनि होला– उनलाई मै हुँ भन्नेसम्पादकले पनि ‘यस्तै कार्टुन बनाऊ’ भन्ने आँट आजसम्म गरेका छैनन् ।
उनी एउटा कार्टुन बनाउन झन्डै एकदिन लगाउँछन् । उनका अनुसार कार्टुनमा कला र वैचारिक पक्षसशक्त बनेर आउँछन् । कलाको पक्ष त उनको बायाँ हातको खेल भयो । समसामयिक राजनीति तथा विषयवस्तुको अध्ययन तथा अवलोकनबाट छिनमै कार्टुनको थिम फुर्छ । त्यसैले स्केच कोर्न थाल्छन् । स्केच कोर्न उनलाई धेरै समय लाग्दैन । त्यसमा कलर भर्न भने उनलाई अलि बेसी नै समय लाग्छ । यो पनि शुरुमा त उनी छिनमै गर्थे । तर, अहिले भने उनी कार्टुन बनाउन हतार गर्दैनन् । समय लगाएर कार्टुनका अंगअंगमा रंग भर्छन् । उनलाई कलाको पक्ष त गाह्रो लाग्दैनतर वैचारिक पक्ष फुराउन भने अलि समय लाग्छ ।
भन्छन्, “शायद साहित्यकार,लेखक नभएकाले पनि होला– मेरो भाषामा पकड छैन । त्यसैले कार्टुनमा के लेख्ने भन्ने विषय फुराउन केही समय लाग्छ । घोरिँदा घोरिँदै कहिलेकाहीँ त दिनै बित्छ ।”
कार्टुन व्यङ्ग्य हो । व्यङ्ग्य भएकाले सीधै लेख्न पाइएन । व्यङ्ग्यात्मक शब्दखोजी गर्दा केही समय लाग्छ । कला साधना पनि हो, तपस्या पनि हो । त्यसैले उनी यसमा हतार गर्न छाडेका छन् । समय लगाउँछन् । ड्रइङसँगै कलर र शब्दमा खेल्छन् र चोटिलो बनाउँछन् । त्यही भएर उनका कार्टुन हेरेर पाठक दङ्ग पर्छन् अनि व्यङ्ग्य गरेको पक्षको मुटुमै गड्छ ।
०२३ सालदेखि कार्टुन बनाएका र बीपीले तारिफ गरेर पुस्तक नै छापिदिन्छु भनेका दुर्गाका कार्टुन स्वयम् उनलाई चाहिँ कस्ता लाग्छन् ? भन्छन्, “आत्मसन्तुष्टि हुने कार्टुन मैले आजसम्म बनाउन सकेको छैन । बनाएको दिन मन पर्छतर भोलिपल्ट त्यसमा सुधार गर्ने ठाउँहरू आफैं देख्छु । हेरौं कुनै दिन बनाउन सक्छु कि आफैलाई चित्तबुझ्दो कार्टुन ।”
दुर्गाले आजसम्म कति कार्टुन बनाए ? कुनै लेखाजोखा छैन । शुरुमा कार्टुन बनाएर हुलाकबाट पठाउँथे । ओरिजिनल कपी नै पठाउने भएकाले त्यसको इतिहास नै नामेट हुन्थ्यो । उनलाई पनि संख्या गनेर राख्ने होशै भएन ।
पोखरामा फ्याक्स गएपछि ०५२ सालबाट भने ओरिजिनल कपी उनीसँगै रहन थाल्यो । त्यसयता भने उनले ४ हजारभन्दा धेरै कार्टुन बनाइसके ।
‘सेन्सर’
२००७ मा त उनी सानै थिए । ०१७ सालको महेन्द्रको ‘कू’ उनले थोरबहुत थाहा पाए । ०३६ सालको जनमत संग्रह र ०४६ सालको जनआन्दोलनमा उनी प्रत्यक्ष सहभागी भए । ०६२/६३ को आन्दोलन त उनलाई हिजो/अस्तिको जस्तो लाग्छ । यसरी व्यवस्था परिवर्तनदेखि खिचातानी र टुटफुटको राजनीतिलाई आफ्नै आँखाले नियालेका दुर्गालाई कुन बेला कस्तो कार्टुन बनाउनुपर्छ भन्ने राम्रो हेक्का छ । त्यसैले उनी ‘सेल्फ सेन्सरसिप’ गरेर कार्टुन बनाउँछन् । तर, एकपटकको कार्टुनभने उनलाई डेस्कले सेन्सर गरेको याद छ ।
माओवादी भर्खर चोइटिएको थियो । मोहन वैद्य फुटेर गए, प्रचण्ड माओवादी सरकारमा थियो । पार्टी कार्यालयदेखि पार्टीको हरेक सम्पत्ति भागबण्डा लगाउने कुरा चलिरहेको थियो । त्यही थिममा उनले कार्टुन बनाए । प्रचण्ड गाडीमा गुडिरहेका थिए, सडकमा मोहन वैद्य भूत बनेर बाटो छेकिरहेका थिए । यो कार्टुनमा डेस्कले भूत बनेका मोहन वैद्यको अनुहार परिवर्तन गरिदिन आग्रह गरेको थियो ।
र, जन्मिए ‘वात्स्यायन’
पञ्चहरूको समय थियो । दरबारको आडमा शक्ति दुरुपयोग गरिरहेका थिए उनीहरू । दरबार र पञ्चायतको विरोध गर्नु भनेको राज्यको निशानामा पर्नु थियो । त्यसमा पनि पृथ्वीनारायण क्याम्पस पोखरामा प्रशिक्षक भएर काम गरिरहेका दुर्गालाई झनै चुनौती थियो । क्याम्पसमा मण्डलेहरूको ठूलो जमात थियो । त्यसबाट पनि उनलाई बच्नु थियो । पञ्चविरोधीहरूलाई बाटो ढुकेर कुटेको उनी आफैंले देखका थिए । त्यसबाट आफूलाई छल्नु थियो ।
तर, प्रजातन्त्रपक्षधर दुर्गा दरबारको अन्याय, थिचोमिचो र विभेदको समर्थन भने गर्न सक्दैनथे । त्यसैले उनलाई कार्टुनमार्फत कसरी पञ्चायती व्यवस्थाको विरोध गर्ने भन्ने संकट पर्यो ।
कलाकार दुर्गा बरालभनेर उनको ठूलो नाम थियो । त्यही नामबाट उनले कार्टुन छाप्नु जोखिमपूर्ण थियो । ज्यानसँगै जागिरको सवाल थियो । जागिर छोड्ने कि कार्टुन ? उनी दोधारमा थिए । उनलाई आइडिया फु¥यो,छद्म नाम राख्ने । तर, लगत्तै प्रश्न उठ्यो– के नाम राख्ने ?
नेपाली विषय पढाउने एक जना शिक्षक थिए, भाषामा राम्रो पकड भएका । उनलाई दुर्गालेसोधे,“के नाम राख्ने होला ?”
उनले ‘वात्स्यायन’ राख्न सुझाए ।
“वात्स्यायन भनेको त यौनसँग सम्बन्धित शब्द पो हो त,”दुर्गाले भने ।
शिक्षकले भने,‘‘हो, तर वात्स्यायनको अर्थ ६४ कलाको ज्ञाता पनि हो नि । ६४ कलाका जन्मदाताको सम्मानका लागि पनि यो नाम उत्तम हुन्छ ।”
उनकै सुझावमा दुर्गाले आफ्नो नाम ‘वात्स्यायन’ राखे । एकदिन क्याम्पसमा एक साथीले दुर्गालाई देखाउँदै भने, “हेर्नुस् त, कस्तो राम्रो कार्टुन रहेछ वात्स्यायन भन्ने मान्छेले बनाएको ।”
उनले पनि ‘हो है’ भन्दै सही थापे । मनैमन हाँसे ।
पञ्चायती व्यवस्था छट्पटाउन थालिसकेको थियो । त्यो देखेर दुर्गालाई लाग्यो, यो पञ्चायत धेरै टिक्दैन । ढलेपछि पुरानै नाममा फर्किन्छु भन्ने सोचे । नभन्दै पञ्चायत ढल्यो । प्रजातन्त्र पुनःस्थापना भयो । उनले पनि दुर्गाको नामबाट कार्टुन बनाउने सोच बनाए । तर,‘देशान्तर’, ‘राष्ट्रपुकार’ लगायतका सबै पत्रिकाले एउटै सुझाव दिए, “अब दुर्गा बराललाई कसैले चिन्दैन, ब्रान्ड बनिसकेको ‘वात्स्यायन’लाई नछोड्नुस् ।”
त्यही छद्मनाम ‘वात्स्यायन’ले आजपर्यन्त नेपाली कार्टुन जगतमा राज गरिरहेको छ ।
कुराकानी बिट मार्ने क्रममा उनले नयाँ खबर सुनाए,“४ सयवटा कार्टुनको संग्रह आउँदैछ । अजित (छोरा) ले तयारी गरिरहेको छ । छिटै पुस्तकका रूपमा कार्टुन आउँदैछन् ।”
(तस्बिर: किशोर कायस्थ/फाइन प्रिन्ट)