site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
दसैँका पुराना गीतलाई नयाँले किन चुनौती दिन सकेनन् ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिन्दु नेपाली यति बेला दसैँको मध्यतिर छन् । सञ्चारमाध्यममा पनि दसैँ गीत घन्किरहेका छन् । युट्युबमा दसैँसम्बन्धी नयाँ/पुराना गीत भेटिन्छ । बर्सेनि दर्जनौँको संख्यामा दसैँ विशेष गीत रिलिज गरिन्छ । तर, रेडियो, एफएम र टेलिभिजनमा दसैँका पुराना केही गीत नै धेरै बजाइन्छ । तिनलाई दसैँका सदाबहार गीतका रूपमा लिन सकिन्छ ।

वर्षैपिच्छे दसैँ विशेष भन्दै दर्जनौँ गीत ल्याइए पनि पुरानै किन बढी रुचाइएको छ ? “गीत काव्यबाट पछि हटेपछिको समस्या हो यो । नारायणगोपालले किन मदन पुरस्कार पाए भने उनले काव्यिक गीत गाऊन् र गीतसंगीतको श्रीवृद्धिमा लागून् भनेर हो,” गीतकार आनन्द अधिकारी भन्छन्, “अहिले न गीत छनोट राम्रो छ न गायन । त्यही नै यसको मुख्य कारण हो ।” 

साधनाभन्दा सोख र तत्काल चल्ने गीतसंगीतको पछि लाग्दा यस्तो स्थिति आएको गीतकार अधिकारी बताउँछन् । “शब्दमा ब्रह्म हुनुपर्छ । शब्दब्रह्मबिनाको गीत र साधनाबिनाको गायन भएपछि स्रोताले त्यसलाई मन पराउँदैनन्,” उनी अगाडि थप्छन्, “भाव र आत्माबिनाको शब्दले स्रोताको हृदयलाई छुन सक्तैन । दसैँका गीत हुन् अथवा अरू अहिलेका गीत आज आएर भोलि हराउनुको मुख्य कारण पनि यही हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

मनमुटु, माटो र आफ्नै दैलोको गीत मात्र लामो समय टिक्ने उनको भनाइ छ । सामाजिक–सांस्कृतिक मूल्य–मान्यता, हाँसो र रोदनका गीतले मात्र स्रोताको मनमा बास गर्ने गीतकार अधिकारी बताउँछन् । अन्यथा, जति ठूलो संख्यामा गीत ल्याइए पनि त्यसले अर्थ नराख्ने उनको बुझाइ छ ।

संगीतकार, गीतकार तथा गायक समेत रहेका राजनराज शिवाकोटी ‘सिजनल’ भनेर धेरै मिहिनेत नगर्नु पनि पुरानालाई चुनौती दिने दसैँ गीत नआउनुको अर्को कारण हुन सक्ने बताउँछन् । 

Global Ime bank

“राम्रो तयारी नगर्ने, सिजनल गीत भनेर आवश्यक लगानी पनि नगर्ने अर्को कारण हुनसक्छ । मनका कुरा पोख्ने गरी बनाइएका गीत पनि धेरै छैनन्,” राजनराज भन्छन्, “व्यावसायिकभन्दा पनि पर्व तथा संस्कृति विशेष गीत हो, योगदान हुन्छ भनेर गाउने गरेको मैले पाएको छु । त्यसैले ट्रायल गरिरहेजस्तो लाग्छ ।”

आफूले पनि योपटक दसैँ गीत निकालेको र यसलाई ‘ट्रायल’कै रूपमा लिएको उनी बताउँछन् । राम्रो लगानी र मिहिनेत गरेका पर्व गीत पनि चलेको उनको भनाइ छ । “प्रायः दसैँ र तिहारका चलेका धेरैजसो गीत चलचित्रका छन् । चलचित्रमा समावेश नभएर पनि हिट भएका गीतमा मनका भावना पोखिएका छन्, त्यसैले चलेका छन् ।”

राजनराज दसैँका गीत रिलिज हुनेबित्तिकै भन्दा पनि केही वर्षपछि लोकप्रिय हुने गरेको बताउँछन् । “सायद पर्व गीत चल्ने समय पनि हुँदैन । दसैँकै गीत पनि १५/२० दिन बज्ने हो । त्यसैले मिहिनेत पनि कम गरिएको होला,” उनी भन्छन्, “सुगम पोखरेल र कुल पोखरेलकै गीत पनि रिलिज भएको केही वर्षपछि मात्रै लोकप्रिय भएका हुन् ।”

आनन्द अधिकारी र राजनराजले भनेजस्तै दसैँका जति पनि गीत लोकप्रिय भएका छन्, तिनमा गाउँघर, परदेशको पीडा, अभाव, बिछोड, मनको चाह, बाध्यता र मिलनका विषय उठान गरिएको छ ।

अधिकांश लोकप्रिय दसैँ गीतमा परदेशिएको छोरो घरमा आउन नपाउने सन्देश छ । योसँगै जीवनसंगिनीलाई सम्बोधन गरेर बिछोडको पीडा समावेश गरिएको पाइन्छ । दसैँमा सुरक्षाकर्मीले बिदा नपाउँदाका विरह गीतमा समेटिएको छ । वैदेशिक रोजगारीले परिवारबाट टाढा बनाउँदाको वेदना गीतमा सुनिन्छ ।

यी हुन् दसैँका लोकप्रिय गीत
यस्तै सन्देश बोकेको सदाबहार दसैँ गीत हो, ">‘बिछोडको पीडा नसकी खप्न...।’

नारायणगोपाल र दिलमाया खातीको युगल स्वर रहेको यो गीतमा रत्नशमशेर थापाको शब्द छ । नारायणगोपाल स्वयंले ०३० को दशकमा संगीत भरेर गीत रेकर्ड गरेका थिए । गीतमा परदेशमा भएको प्रेमीले प्रेमिकालाई मायाको चिनोका रूपमा चुराधागो लिएर दसैँमा भेट्न आउने कुरा उल्लेख छ ।

पहाड (घर)मा रहेकी प्रेमिका भने आफ्नो मनको व्यथा कसैले नबुझेको गुनासो गर्छिन् । बिछोडको पलमा पीडाले निद्रा समेत नलागेको बताउने प्रेमिकालाई डाँफे चरीसरी सामुन्नेमा आउने प्रतिबद्धता प्रेमिकाले जनाउने यो गीत दसैँसँगै यदाकदा अरू बेला पनि बजाउने गरेको पाइन्छ । 

० ० ०

दाजु र बहिनीबीचको पारिवारिक मिठो सम्बन्धलाई दसैँसँग जोडेर तयार पारिएको अर्को गीत हो, ">‘दाइ त मेरो लाहुर जाने...।’

युक्त गुरुङ र सावित्री शाहको स्वर रहेको यो गीतका शब्द दैवज्ञराज न्यौपानेले लेखेका हुन् । युक्तले नै संगीत भरेको गीतमा दिदीभाइको सम्बन्धसँगै लाहुरेको कथा समेटिएको छ । लाहुर गएको दाइले आफ्नी प्यारी बहिनीलाई दसैँमा फूलबुट्टे सारीसँगै मखमली चोली ल्याइदिने गरेको यथार्थ गीतमा सुनिन्छ ।

वर्ष दिनको चाड दसैँमा लाहुरे छोरोे आउने आशामा आमाबुवाले घामको झुल्कोसँगै मूलबाटोमा आँखा बिछ्याइरहने कथा गीतमा छ । लाहुरमा रहेको छोरोले दसैँमा जसरी पनि आमाबुवाको आशीर्वाद लिन आउने बताउँदै गीत सकिन्छ । यो गीत दसैँसँगै तिहारमा पनि उत्तिकै बजाइने गरेको छ । 

० ० ०

प्रेम बस्नेतले चलनचल्तीको भन्दा फरक गीत लेखे । न्यूह् बज्राचार्यले पनि यसमा फरक संगीत भरे । योगेश्वर अमात्यले दुई दशकअगाडि शब्द–संगीत सबैलाई न्याय गरेर गीत गाए । गीत हो,
">दसैँ आयो
खाउँला पिउँला

कहाँबाट ल्याउँला
चोरी ल्याउँला
धत् चोर, म त छुट्टै बसौँला !
दसैँ नै हो कि यो मेरो दशा फर्की आएको 
वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको ?

गीतमा श्रीमान्श्रीमतीका रूपमा दीपकराज गिरी र दीपाश्री निरौलाले डाइलग बोले । छोरीको संवाद जेम्स प्रधानकी छोरीले बोलिन् । प्याकेजमा भिन्न खालको गीत तयार भयो ।

मध्यमवर्गीय परिवारलाई दसैँ उत्सवभन्दा पनि दशा बनेर आउने गरेको कथा गीतले भनेको छ । मध्यमवर्गीय परिवारका युवा पुस्तादेखि अभिभावकले हरेक दसैँमा भोग्दै आएको समस्याको यथार्थ चित्रण गरिएको गीतलाई आमस्रोताले मन पराए । गीत सदाबहार दसैँ गीतका रूपमा दरियो । हरेक दसैँमा एउटै रेडियो र टेलिभिजनमा दिनमा दर्जनौँपटक यो गीत गुन्जिन्छ ।

० ० ०

युवा पुस्ताले अत्यधिक रुचाएको अर्को सदाबहार दसैँ गीत कुल पोखरेलले गाए,"> ‘यसपालि दसैँमा...।’ युवा उमेरमा युवाकै निम्ति उनले यो गीत गाएका थिए । दसैँमा परिवारका सदस्यले गर्ने अपेक्षालाई गीतमा उतारे ।

कुलले ०५० को दशकमा गीत गाएका थिए । उनको भौतिक शरीर यो धर्तीमा नरहे पनि गीतले हरेक दसैँमा रौनक थप्ने गरेको छ । गाएका बेला गीत जति लोकप्रिय भयो, त्यसको पारो झन्झन् उकालो लाग्यो । गाएको वर्षौंपछि गीतले सफलताको स्वाद चाख्यो ।

गीतमा उनकै शब्द र संगीत छ । मुग्लान गएको ठूलो दाइ दसैँमा आउने र उनले परिवारका सदस्यलाई उपहार ल्याउने भाइको आशा उनले गीतमा गाएका छन् ।

गीतमा दाइले दसैँमा घर आउँदा बुवालाई रेडियो, आमालाई साडी, भाइलाई घडी र आफूलाई जिन्स पाइन्ट ल्याइदिने मिठो आशा भाइको छ । परदेशी दाइले दसैँमा ल्याइदिने उपहारले घरमा भित्रने खुसीलाई गीतमा समेटिएको छ ।

बेलाबेलामा चिठीसँगै खबर र गाउँलेसँगै आउने पैसाले परिवारमा छाउने खुसीको बहार समेटिएको यो गीतले आमनेपालीको कथा बोकेको छ । यही कारण सदाबहार बनेको यो गीत दसैँसँगै तिहारमा पनि बजाइने गरिन्छ ।

० ० ०

सुगम पोखरेलको स्वरमा रहेको"> ‘वर्षमा दिनैमा लैलै...’ दसैँको अर्को सदाबहार गीत हो । रवी श्रेष्ठको शब्द रहेको गीतमा सुगम स्वयंले संगीत भरेका छन् ।

परदेशमा रहेको दाइले दसैँ र तिहारमा घरपरिवारलाई गरेको सम्झना गीतमा समेटिएको छ । दसैँमा बाटोभरि आँखा फैलाएर बस्ने आमाबुवा र तिहारमा दाइको पर्खाइमा बस्ने बहिनीलाई दसैँमा आउने सन्देश यो गीतमा छ ।

परदेशमा चाडबाडमा काम गरेर बस्दा हुने पीडा गीतमा समेटिएको छ । भिडियो पनि छ । सबै पुस्ताले मन पराएको गीत हो यो । यो गीत दसैँमा मात्र होइन, तिहारमा पनि उत्तिकै बजाइने गरिन्छ ।

० ० ०

दसैँकै निम्ति भनेर गाइएका मात्र होइन, चलचित्रका गीत पनि स्रोताले उत्तिकै मन पराएका छन् । चलचित्र ‘मुग्लान’मा समावेश ">‘दसैँ आयो...’ पनि सदाबहार दसैँ गीतमा परिणत भयो ।

लोकनाथ सापकोटाको शब्द रहेको यो गीतमा स्वर उदितनारायण र दीपा झाको छ । बारीमा कोदो फुलेपछि र खेतमा धानका बाला झुलेपछि आउने दसैँ नेपालीको महान् चाड भएको गीतमा बताइएको छ ।

धन कमाउन परदेश गएको छोरो दसैँमा घर आउने दिन कुर्दै आमाबुवा औँला भाँचेर पर्खिरहेको भावनात्मक पक्षसँगै गीतमा मायाप्रेमलाई पनि सुटुक्क मिसाइएको छ ।

परदेशी घर आएपछि परिवार र आफन्तको मुहारमा छाएको खुसी वर्णन गरिएको गीतमा निधारमा रातो टीका र कानमा सिउरिने पहेँलो जमराले दिने चमक र त्यसको महत्त्व समेटिएको छ ।

० ० ०

दसैँ आउनेबित्तिकै धेरैले सम्झिने अर्को गीत हो, ">‘नमुछे आमा दहीमा टीका...।’

कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको स्वरमा सजिएको यो गीतको शब्द लक्ष्मण रायमाझीले लेखेका हुन् । नारायण रायमाझीको संगीत छ ।

एक दशकभन्दा अगाडि रेकर्ड गरिएको गीतमा गोर्खा सैनिकको कथा समेटिएको छ । युद्ध मैदानमा रहेको सैनिकले दुस्मनको पञ्जाबाट निस्कन सक्ने अवस्थामा नरहेपछि जिन्दगीको अन्तिम क्षणमा परिवारलाई पठाउने भावनात्मक सन्देशलाई गीतको विषय बनाइएको छ ।

जिन्दगीको अन्तिम क्षणमा रहेको सैनिकले दसैँ, तिहार सम्झिएको छ । बहिनी र आमालाई सम्झिएको छ । छोरीलाई सम्झिएको छ ।

आमालाई नरुन भनिएको गीतमा जीवनसंगिनीलाई हातका राता चुरा नफोड्न आग्रह गरिएको छ । जमरा नछर्न र टीका नमुछ्न आग्रह गरिएको यो गीत सबैभन्दा मार्मिक दसैँ गीत हो । 

० ० ०

">किन आउँछ दसैँतिहार किन बिदाबार
फौजीलाई कुन हो दसैँ कुन हो चाड तिहार  

फौजीमा रहेका नेपालीको दसैँतिहारको सन्दर्भलाई समेटेर तयार गरिएको यो गीत छोटो समयमै लोकप्रिय बन्यो । गीतमा जगदीश समालको स्वर र दीपक कोइरालाको शब्द छ । गैरे सुरेशको संगीत रहेको यो गीतले दसैँ र तिहारमा पनि घर जान नपाउने फौजीको पीडा मुखरित गरेको छ ।

परदेशिएका दाजुभाइ समेत फर्किएर परिवारसँग दसैँतिहार मनाइरहँदा प्रहरी भने स्वेदशमै रहेर घर जान नपाउने वास्तविकतालाई गीतमा समेटिएको छ । परिवारले घर आउन आग्रह गर्दै पत्र पठाए पनि बेवास्ता गरेर बस्नुपरेको क्षणलाई गीतमा उतारिएको छ । यो गीत पनि दसैँसँगै तिहारमा बजाइने गरिन्छ ।

दसैँका अधिकांश पुराना गीत नै लोकप्रिय छन् । प्रविधिले सहजता थपिए पनि पुराना गीतलाई चुनौती दिन सकेको छैन । बर्सेनि दसैँका दर्जनौँ गीत सार्वजनिक गरिँदा समेत पुरानाको लोकप्रियतालाई एकाधबाहेकले टक्कर दिन सकेका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement