पछिल्ला दिनमा एकातिर सरकारको कामकाज प्रभावकारी हुनसकेको छैन भने अर्कातिर सत्ता गठबन्धनको सहयोगी दलभित्र पनि असन्तुष्टि प्रकट हुन थालेको छ । यस्तो अवस्थामा संसद्को तेस्रो दल भएर पनि सत्ताको नेतृत्व गर्ने अवसर पाएका प्रधानमन्त्री पुष्पकमल दाहालमा छटपटी देखिनु अस्वाभाविक होइन ।
प्रधानमन्त्री दाहालमा देखिएको छटपटी उनका सार्वजनिक अभिव्यक्तिमा समेत प्रकट हुन थालेको छ । उनले सत्ताको प्रमुख साझेदार नेपाली कांग्रेसको संस्थागत चरित्र र कांग्रेसका नेताहरूको प्रवृत्तिप्रति खुलेरै कटाक्ष गर्न थालेका छन् । दाहालका अनुसार नेपाली कांग्रेस ‘पार्टी’भन्दा बढी ‘मञ्च’जस्तो देखिन्छ ।
हुन पनि कोसी प्रदेशको सरकार गठनमा देखिएको पार्टीभित्र देखिएको ‘विद्रोह’ र त्यसलाई सहजै स्वीकार गर्ने सभापतिको बाध्यता देख्दा नेपाली कांग्रेसको इतिहास राम्ररी थाहा नपाएकाहरूमा अन्योल उत्पन्न हुनु स्वाभाविकै हो । प्रधानमन्त्री दाहालले सायद कांग्रेसका विद्रोहीलाई पार्टी सभापति देउवाले तह लगाउने ठानेका थिए ।
कांग्रेसभित्रको असन्तुष्टि संसद्का बहसहरूमा मात्र होइन नेताहरूको अभिव्यक्तिमा पनि खुलेरै प्रकट हुँदैआएको छ । सम्भवतः असन्तुष्टिको न्यायोचित सम्बोधन नभए दाहाल नेतृत्वको सरकार कुनै पनि बेला सङ्कटमा पर्न सक्छ । प्रधानमन्त्री दाहालमा अहिले देखिएको छटपटीको मूल कारण पनि यही हुनुपर्छ ।
त्यसो त वर्तमान सरकारप्रति जनमानसमा पनि असन्तुष्टि बढ्दैगएको छ । सरकारले थालेका भ्रष्टाचारविरुद्धका केही कामले पाएको समर्थन बिस्तारै गुम्दै गएको देखिन्छ । प्रधानमन्त्री दाहाल निकट व्यक्तिहरू भ्रष्टाचारको शङ्कामा मुछिए पनि कारबाहीको घेरामा नपरेको देखेपछि उनीप्रतिको जनसमर्थन खस्कन थालेको हो ।
यसपटक प्रधानमन्त्री दाहाललाई जनताले शङ्काको सुविधा दिएका थिए । सम्भवतः उनले यही आफ्नो प्रधानमन्त्रीत्वको अन्तिम कार्यकाल हुने ठानेर देशका हितमा केही गर्ने हुटहुटी देखाएका हुन् । तर, समय उनले ठानेजसरी अगाडि बढेन । जनमानसले कसैको मुख हेरेर सधैँ शङ्काको सुविधा वा छुट त दिँदैन ।
प्रधानमन्त्री दाहालले सत्ता साझेदार र प्रमुख विपक्षमाथि तीव्र कटाक्ष गरेजस्तै कथित ‘स्थायी सरकार’ भनिने कर्मचारीतन्त्रमाथि पनि सहयोग नगरेको आक्षेप लगाउन थालेका छन् । देशको कार्यकारी प्रमुखले कर्मचारीले सहयोग गरेनन् वा राज्यका संयन्त्रहरूका कारण सरकार प्रभावकारी हुनसकेन भन्नु यथार्थमा लज्जास्पद विडम्बना हो ।
सार्वजनिकरूपमा अभिव्यक्त छटपटीबाट दाहालको व्यग्र मनःस्थिति उजागर भएको छ । यस अवस्थामा प्रधानमन्त्री दाहालले चलखेल गरेर सरकारमा टिक्ने कि सत्तालाई जोखिममा परेरै भए पनि देश र जनताका पक्षमा दू।गामी कदम चाल्ने वा सरक्क पन्छने भन्ने निर्णय छिटै गर्नुपर्ने देखिएको छ । समयले कसैलाई पर्खँदैन भने इतिहासले कसैको मुख हेर्दैन ।