site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
समभोक : प्रकृति र संस्कृतिको अन्तर्द्वन्द्व

अमेरिका पुगेका नेपाली आप्रवासीको दिन–दैनिकीमाथि लेखिएको उपन्यास ‘समभोक’ले पाठकमाझ एक किसिमको नयाँ तरंग फैलाएको छ । शिव प्रकाशद्वारा लिखित यस पुस्तकले नेपालीका लागि विदेशमा पुग्ने बित्तिकैदेखि खाने, बस्ने, काम खोज्ने समस्यासहित अमेरिकी समाजमा घुलमिल हुँदासम्म उनीहरूले भोग्नुपर्ने अनेकन् पाटाको उजागर गर्ने प्रयत्न गरेको छ ।

विश्वव्यापीकरणको अहिलेको युगमा कोही आफ्नो जन्मस्थानमा मात्र सीमित हुन चाहँदैन । वास्तवमा सबै युवाहरू एक किसिमको अतृप्त चाहनाले सताइएका छन् । आफूले चिनेको–बुझेको भन्दा अर्को परिवेश हेर्ने–देख्ने, चिन्ने–बुझ्ने, कमाउने–रमाउने भोक ।

यिनै सप्तरंगी इन्द्रेणीलाई पछ्याउँदै मानिस, विशेष गरेर युवाहरू अन्यत्र भौँतरिँदै छन् । दुःख पाएका पनि छन् । तैपनि, एक किसिमको अतृप्त भोकले उनीहरूलाई दगुराइरहेकै हुन्छ ।

Dabur Nepal
NIC Asia

बोस्टन निवासी नेपाली नागरिकको कथाजस्तो देखिए पनि आफ्नो जन्मस्थान छोडेर अमूक उपलब्धिका लागि प्रयत्नरत हरेक गतिशील मानवको यथार्थता र गुह्य मर्मको विस्तारित रूप हो, यो किताबमा चित्रित भोकको बयान ।

भोक निवारणका क्रममा धेरै विषम परिस्थितिको सामना गर्नुपरेका घटनाको शृंखलाबद्ध चित्रण उतारिएको छ, यसमा । युवाहरूले अधिकांश समय सामाजिक तथा पारिवारिक अनेक मूल्य–मान्यतालाई पछ्याइरहन नसकेका कुराहरूको स्पष्ट वर्णन छ । अनि, तिनलाई नकार्दै पनि अघि बढ्न प्रयत्नरत जमातको फेहरिस्त उनिएको छ ।

युवाहरू अनेकौँ विश्वासलाई तोड्न उद्यत हुन्छन् र पनि आफ्नो भोक मेटाउन दृढ रूपले लागिपर्छन् । यही अवस्थाको चित्रण गर्दै लेखक भन्छन्, “भोकले साइनो बदल्छ, भोकले सम्बन्ध बदल्छ । भोकले नाम बदल्छ, भोकले काम बदल्छ । भोकले मान्छे बदल्छ, भोकले संसार बदल्छ ।”

दुई सय बीस पृष्ठ आकारको यस उपन्यासले अर्थोपार्जन नै मुख्य ध्येय बनाएर आफ्नो चिने–जानेको स्थानभन्दा अन्यत्र भौँतरिने अतृप्त चाहना (भोक)बाहेक अर्कै नितान्त नौलो स्वाद पनि दिएको छ ।

सुरुमा पढ्दा विदेशगमनको भोकको कथाजस्तो देखिए पनि त्यतिमा सीमित छैन, किताब । यौन चाहनालाई भोकको अर्को रूपमा अर्थ्याइएको छ । यौन तृप्तिका लागि युवाहरूले परम्परागत सीमाहरूलाई तोडेका अनेकौँ कथा बुनिएका छन्, किताबभरि ।

विशेष गरी विवाहेतर सम्बन्धमा केन्द्रित यो आख्यानले समाजमा चल्दै आएका नीति–नियम ठिक कि बेठिक, वैध कि अवैध भन्ने वकालत गर्दैन । बरु, नितान्त दैहिक चाहनाका अगाडि नैतिक–अनैतिकजस्ता मानवनिर्मित मान्यताहरू ओझेलमा परेका छन् भन्ने कुरा प्रस्तुत गर्न सफल भएको छ, किताब ।

भोको मानिसलाई भोकको जति चिन्ता हुन्छ, नैतिकताको चिन्ता उति हुँदैन । शारीरिक भोकका अगाडि नैतिकता निरीह बन्छ । भोक मार्नका लागि स्थापित आदर्श पनि तोड्छ मानिसले ।

भोकको चाहनाले मुग्धा परम्परागत मान्यता तोडेर आफ्नै आदर्श स्थापित गर्न उद्यत देखिन्छे । हुन पनि समाजका मूल्य–मान्यता, नीति–नियम, आदर्श मानिसले आफ्नै अनुकूलताअनुसार निर्माण गरेका हुन् ।

अनि, तिनै मान्यता मानिसले आफ्नो अनुकूलताअनुसार बदल्छन् पनि । स्थान र अनुकूलताअनुसार बदलिँदो परिस्थितिको यथार्थताको बोध हो, किताबको आशय ।

यौनलाई व्यवस्थित गर्न हरेक समाजमा अनेकन् नियम बनाइएका छन् । परिणामस्वरूप सबै समाजले विवाहजस्तो वैधानिक संस्थाको जन्म गराएको छ ।

जात, धर्म, आर्थिकस्तरअनुसार घोषित मर्यादाका रेखाहरू कोर्दै त्यसैभित्र सीमित हुन निर्देशन दिन्छन्, शास्त्रका ऋचाहरू । पादरी, पण्डित, पुजारी, मुल्ला वा मौलवी जे भन्नुस्, यी सबैलगायत बाबुआमा तिनै मन्त्रणालाई अनुसरण गर्न सुझाउँछन् ।

तर, के हरेक मानिसका इच्छा, चाहना, आवश्यकता तिनै परम्परा, धर्म र संस्कृतिले निर्दिष्ट गरेका मार्गचित्रभित्र अटाएका छन् त ? अहँ, अटाएका छैनन् ।

समय, परिस्थितिअनुसार मानवनिर्मित परिधि तोडेर आफ्नो भोक मेट्न उद्यत छन्, मानिसहरू । यहीँनेर संस्कृतिभन्दा प्रकृति प्रबल हुन्छ भन्ने देखाउन सफल भएका छन्, शिव प्रकाश ।

निश्चय नै हो, कसैलाई पनि समाजका स्थापित मूल्य र मान्यता तोड्न सजिलो छैन । परम्परादेखि सिर्जित र निरन्तरता पाइरहेका यौनसम्बन्धी मानकहरू एकतर्फी छन् भन्ने यथार्थ आधुनिक समाजले बुझेको छ । त्यसैले त पुराना मान्यता भत्कँदै छन् ।

यसै सेरोफेरोमा विवाहेतर सम्बन्धमा पनि प्रश्न उठाइने गरेका छन् । यस्तो सम्बन्ध कति नैतिक कति अनैतिक ? वैध कि अवैध ? यो फैसला अब समाजका व्यक्ति व्यक्ति आफैँले गर्दै छन् ।

मानिसहरू न कुनै अलौकिक देवीदेवताले निर्दिष्ट गरेका भनिने निर्देशनको पालना गर्दै छन् न कुनै धर्मगुरुका आदेशको पालना गर्दै छन् । समय, परिस्थितिअनुसार मानवजन हरचाहनाको परिपूर्ति गर्छन् भन्ने साहस देखाएका छन्, लेखकले किताबमा ।

तथापि, नैतिक, अनैतिक, वैध, अवैधजस्ता स्थापित रेखाभित्र जकडिएको मानिस अरूबाट उपेक्षित हुन चाहँदैन । समाजबाट एक्लिन सजिलो पनि हुँदैन । तैपनि, भोको मानिसलाई भोकको जति चिन्ता हुन्छ, उसका लागि नैतिकताको प्रश्न गौण हुन पुग्दो रहेछ ।

भोकका अगाडि वर्जित मूल्य–मान्यता तोडेकी छन् मुग्धाले । उनी आफ्नै आदर्श स्थापित गर्न लागिपरेकी छन् । मुग्धा मात्र होइन, अरू धेरै पुरुष र महिला पनि विवाहेतर सम्बन्धमा रहेका छन् ।

उपन्यासकी नायिका सिन्धुकाले नै पनि यो सत्य बुझेकी छन् । त्यसैले त उनी भन्छिन्, “वास्तवमा सबै भोका छन्, कतिले देखाउँछन्, कतिले मार्छन् । फरक यत्ति हो ।” अनि, यही सत्यतथ्य बुझेर उनी ‘युनिभर्सल भोक’ नामाकरण गरिदिन्छिन् ।

आजको मानव आफ्नो वैयक्तिक उन्नति र प्रगतिका लागि स्वदेशभित्र मात्र सीमित छैन । युवक हुन् अथवा युवती सबै एकै किसिमले सहभागी हुँदै छन्, यो आप्रवासनको वैश्विक म्याराथन रेसमा ।

देशका सीमा नाघेर सात समुद्र पार गरेका छन् । जसरी देशका सीमा नाघ्न गाह्रो भएको छैन, आफ्ना शारीरिक भोक मेटाउन पनि परम्पराबाट निर्दिष्ट मार्ग साँघुरा साबित हुँदै छन् ।

विवाहित हुन् कि अविवाहित सबैको सवालमा यो सूत्र एकै हिसाबले लागु हुन्छ । यद्यपि, किताबमा विवाहेतर सम्बन्ध प्रगाढ रूपमा चलमलाएको देखिन्छ । इशु सुमीसँग भोक मेटाउन खोज्छ ।

मुग्धासँग भेट भएपछि इशु र मुग्धा यौनसम्बन्धमा रहन्छन् । दुवै विवाहित हुन्, तापनि दुवैले आफ्नै पति/पत्नीसँग हैन, परपुरुष/परस्त्रीसँग भोक मेटाएका छन् ।

यही क्षणिक भोक मेटाइलाई उनले भोग भनेका छन् । स्थापित मान्यताअनुसार दुवैले बाटो छोडेका छन् । तैपनि, दैहिक चाहनाका अगाडि अमूक मान्यता कमजोर साबित बनेको छ ।

विवाह, मूल्य–मान्यता मानवनिर्मित संस्कृति हुन् । शारीरिक भोक, यौन चाहना जसलाई भोग अथवा सम्भोग जे भनौँ, यी प्रकृतिप्रदत्त नैसर्गिक गुण हुन् । संस्कृतिभन्दा प्रकृति प्रबल छ भन्ने कुरा पाठकलाई बुझाउन खोजेका छन्, लेखकले किताबभरि ।

संस्कृति ठाउँअनुसार फरक हुन्छ, परिस्थितिअनुसार बदल्न सकिन्छ । तर, प्राकृतिक गुण बदल्न असम्भव नै छ । हो, यो सर्वव्यापी छ । त्यसैले सबैका सबै नै समभोकी छन् ।

यद्यपि, विश्वमा प्रचलित कुनै धर्मले पनि परस्त्रीगमन, परपुरुषगमन स्वीकार्दैन । विवाहेतर सम्बन्ध कतै पनि वैध मानिँदैन । अझ अधिकांश ठाउँमा दण्डनीय अपराध मानिन्छ ।

तापनि, विश्वमा लगभग आधा जनसंख्या कुनै न कुनै बेला, कुनै न कुनै तरिकाले विवाहेतर सम्बन्धमा रहेका हुन्छन् भन्ने तथ्यांक पनि हाम्रैसामु छन् ।

तथ्यांक र वैज्ञानिक तथ्यगत धरातलमा टेकेर लेखकले आख्यानमा उद्घोष गरेको यथार्थ स्वीकारयोग्य छ भन्नलाई हिच्किचाउनु पर्दैन ।

तथापि, यस्तो प्रयास गर्दागर्दै लेखक एक ठाउँमा भने प्राकृतिक गुणभन्दा सांस्कृतिक मान्यतालाई अगाडि बनाउन आइपुगेका छन् । यसले पाठकमा एक किसिमको भ्रम पैदा गराएको प्रतीत हुन्छ । किताब पढेर सकाएपछि पाठकलाई लाग्न सक्छ– खासमा उनी के भन्न खोज्दै छन् ?

इशुकी विवाहित श्रीमती सिन्धुका नेपालमा थिइन् । एक दशकभन्दा बढी छुट्टिएर एक्लाएक्लै रहेका यी दुईका कुरा किन फरक भए ? सिन्धुका अमेरिका पुगेपछि आफ्ना पति इशु मुग्धासँग सम्बन्धमा थिए भन्ने चाल पाउँछिन् ।

पतिको यस्तो चाललाई सिन्धुकाले क्षमा दिएको प्रसंग छ । एक त नेपाली परम्पराबाट दीक्षित महिला जो स्वयं नै परदेशमा श्रीमान्को आश्रयमा पुगेकी छन्, उनले पतिलाई क्षमा दिने कुरा नै अलिक अस्वाभाविक लाग्छ ।

दोस्रो, विदेशमा भोकाएका इशु र मुग्धाकै कथाजस्तो होइन र घरमा एक्लै भएकी सिन्धुकाको व्यथा ? यौन चाहना विदेशीनेको मात्रै समस्या हो र ? स्वदेशमा छोडिनेको पनि उस्तै होइन ?

लेखकले सिन्धुकाले क्षमा दिएको जुन प्रसंग व्यक्त गरेका छन्, यसले सिन्धुकालाई ‘आदर्श नारी’ देखाएर लेखकले सिन्धुका मात्र अलग छे, ऊ मात्र विशेष हो भनेर देखाउन खोजेका हुन् ?

त्यसो हो भने मुग्धाबाट उनले भनाएका ‘अरूका श्रीमान् सबै फोहर, आफ्ना श्रीमान् मात्रै दूधले नुहाएका’ भनेर बम्केजस्तै भएन !

इशुले आफ्नी श्रीमतीचाहिँ विशेष भन्न खोजेजस्तो भान हुन पुगेको छ । त्यसै हो भने उनले किताबभरि प्रमाणित गर्न खोजेका विचार फिका लाग्छन् ।

अरूको हकमा प्रकृति प्रबल हुन्छ, संस्कृति कमजोर भन्ने देखाउन प्रयास गरेका लेखकले सिन्धुकाका हकमा मात्र किन उल्टा कुरा गरे भन्ने प्रश्न उठाउन सकिन्छ ।

इशुका माध्यमबाट संस्कृति तोड्न सकिन्छ, प्राकृतिक अर्ज (भोक) तोड्न सकिँदैन भन्ने कुरा प्रस्ट पार्न खोज्ने लेखकले एक ठाउँमा संस्कृति उत्तम भन्ने देखाउन खोज्दा उनैले दुई डुंगामा गोडा राख्न खोजेजस्तो लाग्दै छ ।

सिन्धुकाले पनि इशुको अनुपस्थितिमा एक्लो महसुस गरेको हुनुपर्छ, ऊ पनि इशुजसरी नै भोकाएकी थिइन् भन्ने कुनै कारण हुनसक्छ ?

हो, परिस्थितिअनुसार अमेरिकी परिवेशमा इशुले भोक मेटाउन पायो र सक्यो । सिन्धुकाले नेपालमा त्यही भावना दबाउनुपर्यो ।

लेखककै शब्दमा भन्दा इशुले भोक मेट्यो, सिन्धुका भोक मार्न बाध्य भई होला । तर, त्यसको मतलब सिन्धुकाले इशुको जस्तो अनुभूति नै गरिन भन्न मिल्छ र ?

त्यसैले इशुले गल्ती गरेको अर्थमा क्षमादान दिनुभन्दा इशुजस्तै भावनाबाट गुज्रिएकी थिई सिन्धुका भनेको भए, ऊ पनि इशुजस्तै भोकाएकी देखाएको भए, अनि उसले पनि उस्तै अनूभूतिको आधारमा परिस्थितिलाई सहज तरिकाले स्वीकारेको देखाएको भए लेखकले उठाएका विचार अझ सार्थक हुने थियो जस्तो लाग्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro