
काठमाडौं । किताब पब्लिसर्सले हालै बजारमा ल्याएको कवि मीनबहादुर विष्टको कविताकृति ‘साला पहाडमें क्या है’माथि अन्तरसंवाद गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित अन्तरसंवाद कार्यक्रममा प्रमुख वक्ता शिक्षाविद् केदारभक्त माथेमाले शक्तिशाली कविताहरू यस कृतिभित्र रहेको उल्लेख गरे । कविताको शक्ति भनेकै मुटु हल्लाउन सक्नु हो भन्दै विष्टका कविताहरूमा त्यो क्षमता रहेको बताए ।
शिक्षाविद् माथेमाले विष्टको विश्वविद्यालयलाई विम्ब बनाएर लेखिएको कविताका सन्दर्भमा बोल्दै भने, “विष्टजीका कविताले धेरै कुरा भनेको छ, तर आजका नेता गैँडाको छाला भएका छन् । तिनलाई केहीले छुँदैन । तिनले विश्वविद्यालयतिर सोच्दै सोच्दैनन् ।”
माथेमाले कवि विष्टका कविताले यथार्थ बोलेको उल्लेख गर्दै उनका कविताले परिवर्तनको बाटो देखाएको बताए ।
विगत चार दशकअघिदेखि नै खरो र विम्बात्मक कविता लेख्दै आएका कवि विष्टले आफूले लेखेका कविता छापिएपछि तत्कालीन पञ्चायती प्रशासनले दिएको दुःख सुनाए ।
आफूले लेखेका कविता स्वाभाविक रूपमा प्रस्फुटन भइ जन्मिएको बताउँदै लामो समयदेखि काव्यकारिताबाट टाढा रहेको आफूलाई बारम्बार घच्घच्याइएकोले यो कृति आउन सकेको उल्लेख गरे । कवि विष्टले एक पुरानो र एक नयाँ गरी आफ्ना दुई कविता सुनाए ।
पत्रकार देवेन्द्र भट्टराईले सहजीकरण गरेको उक्त कार्यक्रममा प्रकाशक कल्पना ढकालले कृति प्रकाशनबारे जानकारी दिइन् । कृतिभित्र विष्टका ६५ वटा कविता समावेश छ ।