काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल घटनाका मृतकहरूको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको बताएको छ । इजरायल घटनाका सम्बन्धमा परराष्ट्र मन्त्रालयको विज्ञप्ति जारी गर्दै मृतकहरूको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको जनाएको हो ।
मृतकहरूको शव पहिचान गरी तत्काल नेपाल ल्याउन एवं घाइतेहरूको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको मन्त्रालयले बताएको छ ।
इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली नागरिकको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेसनको तयारी भइरहेको मन्त्रालयले जानकारी दिएकाे छ ।
परराष्ट्र मन्त्रीको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको र उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्दार गर्न आवश्यक पहल गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली राजदूतावास तेल अभिभ, इजरायलबाट प्राप्त पछिल्लो जानकारी अनुसार इजरायलको गाजासँगको सीमानालगायत क्षेत्रमा भएको आक्रमणमा १० नेपाली नागरिकको मृत्यु भएको छ । एकजना सम्पर्क नरहेको बताइएको छ । केही घाइते अवस्थामा रहेका पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रेस विज्ञप्ति
नेपाल सरकार
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाण्डौ
इजरायल घटनाका सम्बन्धमा परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्ति
नेपाली राजदूतावास तेल अभिभ, इजरायलबाट प्राप्त पछिल्लो जानकारी अनुसार इजरायलको गाजासँगको सीमाना लगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले ज्यान गुमाएका, एक जना सम्पर्क विहिन रहेका र केही घाईते अवस्थामा रहेका पुष्टि भएको छ। मृतकहरुको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको छ।
मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भईसकेको छ।
इजरायलबाट स्वदेश फर्कन ईच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भईरहेको छ।
हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्ग मार्फत् आवत जावत सुचारू भइरहेको जानकारी समेत प्राप्त भएको छ ।
इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकको निर्देशन अनुसार माननीय परराष्ट्र मन्त्रीज्यूको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको र उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकहरुको संरक्षण र उद्दार गर्न आवश्यक पहल गरिरहेको छ।यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको छ।द्वन्दग्रस्त क्षेत्रबाट नेपालीहरुको यथाशिघ्र उद्दार गर्न नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको छ।
इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराईएकोले उहांहरु मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहनु हुन अनुरोध छ ।
यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन परराष्ट्र मन्त्रालय सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछ ।
मितिः आइतबार, २१ असोज २०८०