
काठमाडौं । साहित्यकार डा. नारायणप्रसाद शर्मा गैरे र कवि तथा कथाकार नवीन अभिलाषीलाई पुरस्कृत गरिएको छ । ‘कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार–२०८०’ बाट डा. गैरे र ‘कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार–२०८०’ बाट अभिलाषी पुरस्कृत भएका हुन् ।
कर्मयोगी बद्रीविक्रम थापाका नाममा स्थापित दुवै पुरस्कारको राशि जनही २० हजार पाँच रुपैयाँ छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले बाँकेको कोहलपुरमा आयोजना गरेको एक कार्यक्रममा दुवै स्रष्टालाई पुरस्कार प्रदान गरियो ।
कार्यक्रममा गोरखापत्रका पूर्वप्रधानसम्पादक एवं साहित्यकार श्रीओम श्रेष्ठ रोदनले साहित्यप्रति पश्चिम क्षेत्रको लोभलाग्दो सक्रियताले आफूहरूलाई पनि ऊर्जा मिलेको बताए ।
साहित्यकार सनत रेग्मीले सम्मानित स्रष्टालाई बधाई दिँदै प्रतिष्ठानले गर्दै आएको कार्यले आफ्नो युवा अवस्थाको जोस र सक्रियतालाई सम्झाएको बताए ।
यो पुरस्कार यसअघि क्रमशः लोककलाकार प्रेमदेव गिरी र युवा प्रतिभा शेखर दहितलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले बताए ।
कार्यक्रममा डा. देवेन्द्र आचार्यले गजल, शान्ति अधिकारीले मुक्तक, बद्री ढकाल ‘हिरामणि’ले हाइकु, चन्द्रावती अधिकारीले छन्द कविता, लक्ष्मण मानवले गद्य कविता, निरन्जना चन्द ‘निरू’ले साइनो, शान्ति सुनारले गीत र निकिता बोहराले बालकविता वाचन गरेका थिए ।